
जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत–समाजवादी) की नेत्री रामकुमारी झाँक्री जाजरकोट आउने भएकी छिन् । नेकपा (एस) जाजरकोटको जिल्ला भेलालाई सम्बोधन गर्नका लागि चर्चित नेत्री झाँक्री जाजरकोट आउन लागेकी हुन् ।
पार्टी केन्द्रिय सदस्य रहेकी झाँक्री पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान विपरित संसद विघटन गर्दा कडा रुपमा प्रस्तुत भएकी थिइन् । एउटै पार्टीमा भएपनि ओलीको कदम असंवैधानिक भएको भन्दै कडा आलोचना गरेका कारण झाँक्री चर्चामा आएकी हुन् । विद्यार्थी राजनीतिबाट आएकी झाक्रीलाई नेपालकै प्रभावशाली महिला नेत्रीको रुपमा लिने गरिएको छ ।
यहि असोज ३ गते जिल्ला सदरमुकाममा आयोजना गरिएको भेलालाई पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वाला संगै नेत्री झाँक्री र प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री अम्मर बहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एस) जाजरकोटका नेता कृष्ण विसीले जानकारी दिए । भेलामा जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहने नेता विसीको भनाई छ ।
संविधानको रक्षाका लागि एमालेबाट बिद्रोह गरेर पार्टी गठन भएकोले संविधान जारी भएको दिन असोज ३ मा जिल्ला भेला गरिएको विसीले बताए । जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजे सुरु हुने भेलामा सहभागिहरुको लागि यातायातको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रमको लागि सबै तयारी पुरा भएको र उक्त भेलाबाट जिल्ला कमिटी घोषणा गर्ने तयारी गरिएको नेता विसीको भनाई छ । नेता विसीका अनुसार असोज ३ गते विहान ८ बजे बर पिपलको बोट रोप्ने, ११ बजे पार्टी जिल्ला कार्यालयको उद्घाटन र दिउँसो १ बजे भेला सुरु हुनेछ ।
















































। २ आश्विन २०७८, शनिबार