एमाले फुटको जिम्मा शीर्ष नेताले लिनुपर्छ : युवराज ज्ञवाली


दैलेख । नेकपा एमालेका उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नेकपा हुँदै एमाले फुटसम्मको विभाजनको जिम्मा शीर्ष नेताहरूले लिनुपर्ने बताएका छन्।

नेकपा एमाले दैलेखको भेलालाई सम्बोधन गर्न यँहा आएका ज्ञवालीले प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालका कम्युनिष्टहरुले प्राप्त गरेको अवसर टिकाउन नसक्नु सरकार र पार्टीमा भएका साथीहरूबिच तालमेल नहुनुले कम्युनिस्टको एकतामा खलबल आएको बताए ।

एमाले फुटको अवस्थामा पुगेको बेलामा म आफैँ १० बुँदे सहमति कार्यान्वयनको लागि गठन गरिएको कार्यदलको सदस्य हुँ, अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालकै सहमतिमा कार्यदल बनेको हो। दुवै नेताको सल्लाहअनुसार जेठ २ अघिको एमालेमा फर्कने विषय टुङ्गिएकाले सबै एमालेका नेता कार्यक्रर्ताहरुलाई यहि रहने उनले आग्रह गरे।

हामीले यसैलाई एमाले एकीकरणको आधार बनाएका हौँ, अहिले माधव नेपालले एमालेलाई दक्षिणपन्थी र अवसरवादी पार्टी भनेर भन्न मिल्दैन, एमालेको नवौँ महाधिवेशनबाट नीति पारित गर्नेमा तत्कालीन अध्यक्ष भलनाथ खनाल र माधव नेपालकै भूमिका धेरै भएकोले अहिले उहाँहरूले एमालेलाई गाली गर्न नमिल्ने ज्ञवालीको भनाइ छ।

व्यक्तिगत रिस, आवेग छोडेर पुनः नेकपा एमालेलाई जनताको पार्टी बनाउन केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल एक हुनुपर्दछ।

‘१० बुँदे सहमति कार्यान्वयन गर्नुहोस् एमाले एक हुन्छ भनेर माधव नेपालले भन्नुभयो, अहिले उहाँ किन सहमति कार्यान्वयन गर्न मान्नुभएन् , हामीले उहाँलाई छोडेका हैनौं हामिलाई माधव नेपालले छोडेर जानुभएको हो’ ज्ञवालीले भने।

कर्णाली प्रदेशमा जेठ २ गतेको अभियान सुरु भइसकेको छ, उक्त अभियानअन्तर्गत हामी जिल्ला जिल्लामा आएका छौँ। देश भरी सिङ्गो एमाले एक भएको सन्देश दिने काम अब टोल टोलबाट सुरु हुने ज्ञवालीले जनाए ।

तपाईको प्रतिक्रिया