कांग्रेस महाधिवेशन : ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।
प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।

‘हाम्रो दायित्व सबै जिल्लामा निर्वाचन गराउने हो । अहिलेलाई ३८ जिल्लामा प्रशिक्षण दिएर प्रतिनिधि खटाएका छौं । कांग्रेसले मतदाता सूची दिनासाथ अन्य जिल्लामा पनि खटाउँछौ’, घिमिरेले नेपाल प्रेससँग भने ।

वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ । ‘कति जिल्लामा निर्वाचन हुने भन्नेकुरा हामीमा भन्दा पार्टीको निर्णयमा भर पर्छ । हामीले निर्वाचनको व्यवस्थापन गर्ने हो । कहाँ गर्ने कहाँ नगर्ने उहाँहरुको कुरा हो’, घिमिरेले भने ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सैद्धान्तिकरूपमा टुंगिएपनि व्यवहारिक समस्या देखिएको छ । जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् । निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया