
कमरेड घनश्याम भुषाल क्रान्तिकारी अभिवादन माओवादी केन्द्र र एमालेको एकता भएर बनेको नेकपापछि एमाले पंक्तिको नेताहरुमध्ये सायद तपाईँसँगै धेरै छलफल भयो होलाजस्तो लाग्दछ ।
विषयको गहिराइमा बुझ्ने, तर्कपुर्ण विषय र मिठासपूर्वक कुरा राख्ने, रणनीतिक सोच राख्ने शैलीका कारण तपाईँ मन पर्नेमध्ये एक नेता हुनु भयो । सम्भवतः नेकपाभित्रको वैकल्पिक सम्भावना बोकेको नेता । गएको चार वर्षको तपाईँको असंगतिपुर्ण जीवनकाबारे (व्यक्तिगत होइन राजनीतिक र सार्वजनिक) छलफल गर्नु आवश्यक ठानेर यो पत्र लेख्दैछु । सकारात्मक रुपमा लिनु हुनेछ र गंभिर आत्मा समिक्षा गर्नु हुनेछ, आशा गर्दछु ।
१.कमेरड जबजको च्याप्टर क्लोज भयो कि खुल्लैछ ? विगत चार वर्षका सार्वजनिक भाषणको यूट्युव भिडियो, लेख, अन्तर्वार्ता र समाचारहरु पक्कै पनि हेर्ने गर्नुहुन्छ होला । यति ठूलो वैचारिक प्रश्नमा तपाईँको मौनताको अर्थ के हो ? नेपाली मौलिकताको जनवादी क्रान्ति पुरा भयो र अबको यात्रा समाजवादी क्रान्तिको हो ।
त्यो समुन्नत समाजवाद निर्माण गर्ने अबको कार्यभार र त्यसको अगुुवाई गर्ने नेतृत्वका बिचको अन्तरविरोधका कारण आजको समस्या आएको हो भन्ने तपाईँको संश्लेषण फेरियो कि यथावत छ ? प्रष्ट भाषामा एमालेको गएको महाधिवेशनमा विचार एउटाको र मूल नेतृत्वअर्काको टीमबाट आएको र नेतृत्वले इमान्दारीपूर्वक त्यो विचारको कार्यन्वयन नगरेको कारण समस्या आएको संष्लेषणको समाधान आजको सन्दर्भमा कसरी गर्दै हुनुहुन्छ ?तपाईँले भनेको जबजको च्याप्टर क्लोज भएर समाजवादको यात्रा खुलेको हो वा पुरानै जबजको धुन बजिरहन्छ ? विचार र नेतृत्वका विचको अन्तरविरोधको समाधान कसरी गर्नुहुन्छ ? अनुनय विनय गरेर, विन्तिपत्र हालेर, जीहजुरी गरेर वा दृढतापूर्वक संघर्ष गरेर ।
प्रवृतिगत हिसाबले केपी ओली खराब छन् कम्युनिष्ट आन्दोलनको मूल जड हुन् तर संघर्ष गर्न सकिदैन उनकै काखमा, छत्रछायामा रहनु पर्दछ । सकारात्मक विष्लेषण र नकारात्मक संष्लेषण तपाईँ बाँचिरहेको जीवनको सबैभन्दा ठूलो विरोधाभाष हो । यस्तो अवस्था असाध्यै पिडादायी हुन्छ । हामीले चिनेको घनाश्याम र हामीले भोगेको घनाश्याम एउटै हो कि फरक हो ? २. नेकपा बारे । माओवादी केन्द्र र एमालेका विचमा एकता हुनु नै गल्ति थियो वा एकता टिकाउन नसक्नु गल्ति हो ? एक्काइसौँ शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पुरा गर्ने संकल्प बोकेको पार्टी प्राविधिक वा कानुनी कारण मात्रै विभाजन हुनु दूर्भाग्यपूर्ण हो । एकता हुनु सही थियो तर एकतालाई दीर्घजीवि बनाउन नसक्नु गल्ति हो ।
नेकपाभित्रको अन्तरसंघर्षलाई चर्काउन, सार्वजनिक गर्न र नेतृत्वलाई दबाब सृजना गर्नमा तपाईँको पनि उल्लेख्य हात छ भन्नेमा त सहमत नै हुनुहुन्छ होला । कार्लमाक्र्स द्धिशतवार्षिकि वरिपरिका गतिविधि हेर्ने जो कोहीले पनि सहजै त्यो निष्कर्षमा पुगिहाल्छ । एकातिर, जुन नेतृत्वका विरुद्ध जेहाद छेड्नु भयो उसकै नेतृत्वमा सुटुक्क मन्त्री खाना जानुभयो । विचारको जामा पहिरिएर पदको सिढि चढ्नु अवसरवाद हो भन्ने कुरा मलाई भन्दा बढी कमरेडलाई नै थाहा छ । अर्कोतिर, कमरेड प्रचण्ड र कमरेड माधवलगायतलाई रुख चढ्न उक्साएर फेद काटेको अनुभूति हुँदैन र कमरेड ? पार्टीभित्र अन्तरसंघर्षको खास उद्देश्य के थियो ? एकता संघर्ष रुपान्तरण । एकता संघर्ष फूट । एकता संघर्ष संझौता ।
एकता संघर्ष आत्मासमर्पण । राजनीतिक जीवनको यति लामो अवधिमा केपी ओली प्रवृत्ति पक्कै चिन्नु भएको थियो होला । संघर्षको अधिकतम र न्यूनतम लक्ष्य थियो होला । अहिले त दशबुँदेको लंगौटीले नछोपेको लाजले आत्मासमर्पण तिर पो पुर्यायो । के पार्टीभित्र अन्तरसंघर्ष गर्नु गल्ति थियो भन्ने निष्कर्षमा पुग्नु भएको हो ? तपाईँले गर्नु भएको दशबुँदेले दुुई दुई पटक संसद विघटनलाई प्रतिगमन भन्छ वा इतिहासको आवश्यकता ? दशबुँदेको वैचारिक धरातल के हो ? यो त इतिहासप्रतिको भद्दा मजाक भएन र ? ३. कमरेड, तपाईले नयाँ पार्टी बन्न नसक्ने दलिलमध्ये भूराजनीति र देशको आन्तरिक अबस्थालाई उल्लेख गर्नु भएको छ ।
पार्टी भित्र अन्तरसंघर्ष चले यता देश बाहिर न त देशभित्र उल्लेख्य फेरबदल भएको छ । बरु अफगानिस्तानबाट नाटो सहीत अमेरिकी सेनाको लज्जाजनक फिर्ती र तालिवानको पुनरागमनले सकारात्मक नै सन्देश प्रवाहित गरेको छ । भलै हामी तालिवानको राजनीतिसँग सहमत नहौँला । सवालनयाँ पार्टी बनाउने कि नबनाउने भन्ने होइन बरु नयाँ संष्लेषणलाई लागु गर्न कम्युनिष्ट शक्तिको केन्द्रीकरणको हो । नयाँविचार, संकल्प र संगठनको आधारमा । विज्ञानको विकासलाई चुनाव चिन्हजस्तो प्राविधिक कारणले असम्भव देख्नु झनै नमिल्दो कुरा हो ।
गोयलको मन्त्रणा र संसद विघठन विच सम्बन्ध देख्ने विष्लेषण त यहाँहरुकै हो क्यारे । चौथाइवालेको आगमन र हतार हतारको सहमतिविच साइनो छ होला भन्ने त म कल्पना गर्दिन । तपाईँको क्रान्तिकारी विचारको गर्जनलाई दुनियाँको कुन चाहिँ भूराजनीतिले रोक्ला र ? के तपाईँ एक्काइसाँै शताब्दीको स्पार्टाकश बन्न तयार हुनु हुन्छ ? वा यसको विपरित । ४. रामराज्य, नयाँ अयोध्याको खोजी, सुनका गजुर, हिन्दु राज्य , एकछत्र एकल नेतृत्व,विचारको विकास र कम्युनिष्ट आन्दोलनको तथाकथित लोकतान्त्रीकरणका विचमा कतै पनि संगति देखिदैन ।
माक्र्सवादको त छेउटुप्पो पनि भेटिदैन । दशबुँदे सहीतको एमालेमा कमरेडको भूमिका के होला ? आधुनिक विज्ञानको विकास र मध्ययुगिन धर्मान्धताको विचमा कुनै मेल हुँदैन । यो गम्भिर विश्व दृष्टिकोणको सवाल हो । के कमरेड पनि बालेकोटबाट ‘बा’सँगै रथयात्रा गरेर ठोरी तिर लाग्ने हो र ? म कमरेडलाई कम्तिमा बेलायती विकासवादी जीव वैज्ञानिक रिचर्ड डकिन्सको द गड डिलुजन पढ्न विनम्रतापूर्वक सुझाव दिन्छु र दशबुँदेमा समावेश गरेर बालाई पनि पढाउन अनुरोध गर्दछु । ५. कतिपयले भन्ने गर्दछन् एमालेको आन्तरिक मामिलामा माओवादीलाई के चासो ।
सामान्य आँखाबाट हेर्दा यो ठिकै जस्तो लागे पनि गहिरो गरी हेर्दा उत्तिनै खतरनाक । पार्टीहरु भनेका सार्वजनिक सरोकारका सवाल हुन् । हामीजस्ता बिसौँ वर्ष कम्युनिष्ट आन्दोलनमा खर्चेका नेता कार्यकर्ता मात्रै होइन आम जनताको पनि उत्तिकै सरोकारको विषय हो । न त एमाले, न त माओवादी वा न त काँग्रेस वा अन्य दलहरु सबैका सवालमा सार्वजनिक बहश हुनु स्वभाविक मात्रै होइन अत्यावश्यक पनि छ । एमाले विभाजनमा चिन्ता र चासो राख्ने हामीहरुले नेकपा विभाजनमा पनि उत्तिकै चिन्ता र चासो राख्नु पर्दछ ।
तसर्थ यो हाम्रै सवाल हो भन्ने म ठान्दछु । हाम्रो सवालमा हामी किनन बोल्ने ? ६. आज हामी शिकार तथा भोजन संग्रह, कृषि युग, औद्योगिक युगपछि डिजिटल युगमा प्रवेश गरेका छौँ । होमो सेपियन्सले विगत दुई लाख वर्षमा नगरेको, नभएको विकास विगत दुई दशकमा भएको छ । भविष्य हामीले सोचेभन्दा तिव्र रुपमा बदलिइरहेको छ । हाम्रो सोच्ने तरिकामा, हाम्रो काम गर्ने तरिका र हाम्रो बाँच्ने तरिकामा व्यापक फेरबदल आएको छ र यो क्रम जारी छ । हामीले दर्शनमा, सिद्धान्तमा, विचारमा, संगठनात्मक सिद्धान्तमा र कार्यशैलीमा व्यापक विकास गर्नुपर्ने भएको छ । हामी सुल्टो बाटो हिँड्नु पर्ने कतै उल्टो भयो कि ? विज्ञानको विकास भिडले निर्धारण गर्दैन । संख्याले निर्धारण गर्दैन ।
कतै कमरेडमा आफैप्रतिको विश्वासमा लघुताभास पो देखा पर्यो कि ? ७. अन्तमा, म कमरेडलाई सत्यानास हुने वा विजय हुने बाटो रोज्न अनुरोध गर्दछु । पटक पटक अपमानको विष पिउनभन्दा विद्रोहको बाटो रोज्नु सर्वोत्तम हुुन्छ होला । तपाईँले भनेको सर्वोत्तम बाटो भनेको त मुसीको बिहे जस्तो भयो । एमालेका मान्छे एमालेमै रहन पनि के त्यत्रो माथा पच्चि गर्नु र सफलता हात पारेकोमा गर्व गर्नुपर्दछ र ? एमालेका मान्छे एमालेमै रहन निवेदन, अनुनय र सहमति अनि गौरव बोध ? अचम्म ।
कमेरड एक शुभचिन्तकको हैसियतले भन्छु देशकै आशालाग्दो नेता विचारकबाट विचौलियामा रुपान्तरण नभइदिनुहोस् । विचारक भनेको घनाश्याम जस्तो होओस् भन्ने ठाँउ राखिदिनुहोस् । बाटो हिँड्न त तपाईँ स्वतन्त्र हुनुहुन्छ । कथंकदाचित तपाईँ हिड्न सक्नुहुन्न भने तपाईँले प्रशिक्षित गरेका निश्कलंक र क्रान्तिकारी युवा, विद्यार्थी र तमाम कमरेडहरुको उत्साहमा चिसो पानी नखन्याइदिनुहोस् ।
तपाईको हितैसी
रामदिप आचार्य
















































। ९ भाद्र २०७८, बुधबार