युवा पुस्ताको सहभागिताका लागि पहल गर्छु : पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौं हुँदैछ ।

महासचिव पोखरेलले नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए ।

शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यक्ता भएको पनि स्पष्ट पारे ।

उनले भने, ‘विधान अधिवेशन हुँदैछ। सो विधान अधिवेशनमा नेतृत्व निर्माणका सन्दर्भमा म अगुवाई गरेर कुरा उठाउँछु। पाका पुस्ता पनि चाहिन्छ, अधबैंसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा तन्नेरी पुस्ताको पनि समावेशीता विधानमै व्यवस्थित हुनुपर्छ। त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टी भित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दवाव दिन पनि सुरु गर्न निर्देशन समेत दिए। उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया