बारेकोट विशेष : सडकले बस्ती जोखिममा, ‘बर्षा हुने वित्तिकै गाउँ छोड्नुपर्छ’

भुपेन्द्र विक

खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा निर्माण भए केही सडकहरुमा अहिले पटक्कै गाडी चल्दैनन् । लगातार परेको बर्षाका कारण सडक भत्कने, पहिरोले पुरिने माथीबाट ढुङ्गगा आउने भएकाले यातायातका साधनहरु अहिले बन्द छन् । माथी भिरालो बस्ती, तल सडक निर्माण भएको कारण बस्ती पहिरोको उच्च जोखिममा रहेको बारेकोट १ बयालका खर्कबहादुर बताए ।

यस्तै, तल सडक माथी घर भएको हुदाँ घर पहिरोको जोखिममा रहेकोेले घर छोडेर सुरक्षित बास खोज्नु परेको बारेकोट गाउँपालिलका ५ भैलुखानाको स्थानीय जस्वीर परियारको बताए । उनले भने, ‘सरोकारवाल व्यक्तिले आफ्नो मनपरी ढंगले सडक निर्माण गरेको र सडक वरिपरी जाली सहितको वाल नभएको हुदाँ घर पहिरोको जोखिममा रहे ।’

त्यस्तै, बाढी पहिरोको कारण २०७७ असारमा बाह्रजनाले ज्यान गुमाएको सार्कीटोलमा पनि तल सडक माथी घरहरु भएको हदाँ पुर्ण सार्कीटोल पहिरोको उच्च जोखिममा रहेको त्यहाँका स्थानियहरुले भनाई रहेको छ । सडक निर्माण भए पनि नाली सहितको सडकको व्यवस्था नहुँदा बर्षाको पानीले सडक विचमा चिरा पारेको छ ।

गाउँपालिकाको केन्द्र देखि वडा नं. २ र ३ वडा कार्यालय सम्मको सडकखण्डको कुजे खोला, गोलम खोला लगायतका खोलाहरुले सडक चिरेको र पालिका प्रवेश सडक बाढी पहिरोेले अवरुद्ध भएको हुदाँ सडकमा गाडी नचलेको बारेकोट २ वडाध्यक्ष कर्णे कामीले जानकारी दिए ।

उनी भन्छन्, सरकारले लगानी गरेको बजेट समिती र स्थानियहरुले सही प्रयोग गरी सडक खन्ने मात्र नभई सडकमा नाली,जाली सहितको वालको व्यवस्था गरेर सडक मात्र नभई बस्ती पनि पहिरोको जोखिमबाट जोगाउनु पर्छ । त्यस्तै पालिकाकै सबै भन्दा अन्त्यमा सडक पुगेको वडा नं. ३ मा पनि केही बस्ती बाढी पहिरोको जोखिममा रहेको स्थानिय कालीबहादुुर नेपालीले जानकारी दिए ।

उनले भने, ‘गाडी चलेपछि आवतजावत, आयात निर्यात गर्न हामीलाई केही सहज हुन्थ्योकी भनेर हामीले आफ्नो घर जग्गा जोखिममा राखेर सडक निर्माण गर्न दिएका हौं ।’ अहिले नत सडकमा गाडी चल्यो नत खेती गर्ने जमिन रह्यो ।

‘पालिका भित्र निर्माण भएका सडक जनतालाई यातायात सेवा दिनको लागि हुन् की ?, जनताको घर बस्ती बाढी पहिरोको उच्च जोखिममा राख्नलाई निर्माण गरेका हुन ?’ बारेकोटका केही सडक गाडी गुड्नका लागि नभए घोडा, खच्चर हिड्नलाई पनि योग्य नभएको बारेकोट २ का स्थानिय भीमबहादुर नेपालीको भनाई छ ।

धमाधम खोलिएका सडकमा दुर्घटनाको जोखिम

जिल्लाका सात वटा स्थानीय तहमा खोलिएका सडकहरुमा दुर्घटना हुने अत्याधिक जोखिम रहेको छ । स्थानीय तहले सडक निर्माणको नाममा जथाभावी डोजरको प्रयोग गर्दा जोखिम बढेको हो । स्थानीय तहले निर्माण गरेका सडक मापदण्ड विपरीत रहेको जानकारहरु बताउँछन ।

सवारी साधन चल्ने सपना देखेका स्थानीयहरु अहिले पैदल हिडन समेत मुस्किल भएको बारेकोट गाउँपालिका २ का भीमबहादुर विश्वकर्माले बताए । उनले भने, ‘सडकको विचविचमा पहिरोका कारण ढुंगा माटो थुपारिएको छ । तर निमार्ण गर्ने तर स्तरउन्नतीमा कुनै ध्यान नदिँदा अहिले दुर्घटनाको जोखिम भईरहेको छ ।’

अकालमा धेरैले ज्यान गुमाउने संकेत देखिएको छ । स्थानीय तहको वार्षिक प्रगति प्रतिवेदनमा सडकमा धेरै सुधार आएको भएपनि कागजमा मात्र सीमित देखिएको स्थानीयको आरोप छ । सडक निर्माण मात्र होइन स्तरउन्नतीमा समेत ध्यान दिनु आजको आवश्यकता हो ।

सडकले उच्च जोखिममा पारेका बस्ती
बारेकोट गाउँपालिका भित्र सडक निर्माण हुदाँ स्थानीय निकै हर्षित बने । गाउँपालिका भित्र वडा नं. ३ को मुल्साम बाहेक सबै वडाका वस्तीमा सडक पुगेको छ । सडक त पुग्यो तर अहिले वस्तीहरु पहिरोको उच्च जोखिममा छन् । रोकायगाउँ, भैलुखाना,तोल्खाना, कोटिल्ली, धौलाकोट, बयाल, सुवाकोट लगायतका अन्य वस्तीहरु पहिरोको उच्च जोखिममा छन् । त्यहाँका स्थानीय ठुलो बर्षा भएपछि सुरक्षित स्थानको खोजिमा छन् ।

तपाईको प्रतिक्रिया