हटेन् फोनको समस्या,एक महिना देखि कुशे सञ्चारविहीन

फोन गर्न अग्लो डाँडा धाउनुपर्ने बाध्यता कायमै

जाजरकोट, ११ साउन । जिल्लाको कुशे गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ  । कुशे–८ लाँताचुलीमा स्काई मोबाइल टावर मर्मत नहुँदा र नयाँ टावर निर्माणमा ढिलाई हुँदा स्थानीयबासी टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । लाँताचुली टावरमा पावरको समस्या हुँदा उक्त मोबाइल सेवा अवरुद्ध भएको हो । मोबाइल नेटवर्क नहुँदा कुशेका बासिन्दा सञ्चार सुविधाविहीन भएको स्थानीय किरण रोकायले बताए  ।

उनका अनुसार टेलिफोन सेवा नहुँदा विभिन्न सरकारी सेवा प्रवाहसमेत अवरुद्ध भएका छन्  । ‘फोन सम्पर्क गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीलाई त फोन गर्नकै लागि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता छ ।’ कुशे–८ थलीमा निर्माणाधीन टावर ५ वर्षदेखि अलपत्र हुँदा स्थानीयले फोनकै लागि सास्ती भोगिरहेका छन् । लाँताचुली टावरमा सोलार ब्याट्रीले काम नगर्दा मोबाइल सेवा सुचारु गर्न समस्या स्थानीयको भनाई छ ।

पुरानो ब्याट्रीमा पावर सञ्चय नहुँदा मोबाइल सेवा नचलेको हो  । टेलिकम कार्यालय जाजरकोटका अनुसार ‘लाँताचुलीको स्काई मोबाइल टावर मर्मत नभएसम्म कुशेमा फोन सेवा सुचारु हुन समस्या छ, थलीमा टावर निर्माणका लागि पुरानो ठेक्का तोडेर नयाँ ठेकेदारलाई जिम्मा दिइएको छ, ६ महिनाभित्र टावर निर्माण गर्ने गरी ठेकेदारले सम्झौता गरेका छन् ।’ प्रहरीलाई समेत सुचना सञ्चार गर्न निकै समस्या परेको पैंक प्रहरी चौकीका इन्चार्ज गंगबहादुर चन्दले बताए ।

उनले भने, ‘गाउँमा जडान गरिएको वर्ड लिंकले समेत राम्रो काम गरेको छैन, टेलिफोन सेवा अवरुद्ध भएको एक महिना भन्दा बढी भईसकेको छ ।’ प्रहरीलाई सञ्चार क्षेत्रको काम गर्न निकै मुस्किल परेको उनको भनाई छ । कुशे गाउँपालिकामा नयाँ निर्माण गरिएको टावर सञ्चालनका लागि कुनै पहल गरिएको छैन ।

टेलिफोन सेवा अवरुद्ध भएको एक महिना हुदाँ समेत गाउँपालिकाले टावर सञ्चालनका लागि कुनै पहल नभएको स्थानीयहरुको भनाई छ । यता गाउँपालिकाका अध्यक्ष हरिचन्द बस्नेतलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सदरमुकाममा उस्तै सास्ती
सदरमुकाम खलंगाका सेवाग्राही पनि मोबाइल नेटवर्क गइरहने समस्याले आजित बनेका छन्  । इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह बेला बेलामा अवरुद्ध हुने समस्या छ । टेलिकमको टावरबाट एक÷डेढ किलोमिटर दूरीमा पनि नेटवर्क नहुने समस्या रहेको स्थानीय प्रेम विकले बताए ।

‘मोबाइलमा फोन गर्दा सम्पर्क हुन सकेन भन्ने मात्र सुनिन्छ,’ उनले भने, ‘सदरमुकाममै मोबाइल नेटवर्कको हालत यस्तो छ, गाउँमा झन् कस्तो होला ?’ उनले इन्टरनेट सेवा कमजोर हुँदा पनि सास्ती भोग्नु परेको बताए । खलंगास्थित थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्यानपुरलगायत टोलमा नेपाल टेलिकम मोबाइल सेवाको गतिलो पहुँच छैन । टेलिकमले नियमित रूपमा टावर र बीटीएसहरूको मर्मत नगर्दा स्थानीयले सास्ती भोगिरहेका हुन् ।

टेलिकमको सेवा प्रभावकारी नहुँदा महंगो शुल्क तिरेर एनसेल मोवाइल प्रयोग गर्नुपरेको विकले बताए । टावर क्षमताभन्दा मोबाइलकर्ताको संख्या बढी हुँदा नेटवर्कको समस्या हुने गरेको टेलिकम कार्यालयले जनाएको छ । जाजरकोटमा मोबाइल प्रयोगकर्ताको संख्या झन्डै ४५ हजार छ ।

‘केही ठाउँमा बढी प्रयोगकर्ता हुँदा र केही टावरमा नियमित विद्य्त् ुसञ्चालन नहुँदा समस्या भएको कार्यालयको भनाई छ ‘रानागाउँ र काजीबाडा टावर क्षेत्रमा सोलार राख्ने ठाउँ नहुँदा नियमित पावरको व्यवस्था हुन सकेको छैन ।’ उनले दुईवटा टावरबाट बिजुली आए मात्र नेटवर्क छोड्ने गरिएको छ ।

समुद्र सतहदेखि ३५ सय मिटर उचाइका अग्ला लेकमा टावर निर्माण गर्न सके खलंगा आसपासका सबै स्थानमा नेटवर्कको पहुँच पुग्ने कार्यालयको दावी छ  । नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटमा इन्जिनियर र अन्य प्राविधिकको पदपूर्ति नहुँदा पनि फोन र इन्टरनेट अनियमित बनेको छ ।

तपाईको प्रतिक्रिया