रोजगारीको पैसा पाउन सास्ती : गाउँमा बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता

May be an image of one or more people, people sitting, people standing, tree and road
जाजरकोट, ५ साउन । सुगमका बासिन्दा मोवाइलबाटै सवै किसिमको बैकिङ्ग कारोवार गर्छन तर दुर्गमका बासिन्दा आफुले श्रम गरेर कमाएको पैसा लिन पनि ठुलो संघर्ष गर्नुपर्ने बाध्यता छ । गाँउमा बैक नहुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट श्रम गरेर कमाएको रकम लिन जाजरकोटको जुनीचाँदे गाँउपालिकाका बासिन्दालाई ठुलो सास्ती खेप्नु परिरहेको छ ।

सदरमुकाम सम्म पुग्न जुनीचाँदेबाट पैदल र गाडी यात्रा गरेर पुरै एक दिनको समय लाग्छ । जुनीचाँदे १ कि धनि तिरुवा रोजगार कार्यक्रमको रकम लिन शनिवार सदरमुकाम पुगिन । आइतवार दिउँसो सदरमुकाम खलंगा स्थित कृषि विकास बैक आसपासमा भेटिएकी धनि हातमा नागरिकताको फोटोकपी, एक हजार रुपैयाँको भौचर र एक प्रति फोटो तयार गरेर पालो कुरिरहेकी थिइन् । रकम कतिखेर पाइने हो । होटलमा कतिदिन बस्नुपर्ने हो केही टुङ्गो छैन् ।

रोजगार कार्यक्रमको रकम भुक्तानी सम्बन्धित ब्यक्तिको बैक खातामा नै जम्मा गर्ने अनिवार्य ब्यवस्था गरेको तर गाँउपालिका भर एउटा पनि बैक नभएपछि स्थानियले सास्ती पाएका हुन् । जुनीचाँदेबाट सदरमुकाम खलंगा आइपुग्न दुई हजार गाडी भाडा लाग्छ । संघीय राजधानी काठमान्डौ जाने भाडा पनि दुई हजार नै छ ।

महँगो भाडा, अफ्यारो सडक, होटलबाट रोजगारबाट कमाएको आधा पैसा बाटोमै सकिने भो उनले भनिन ‘हामीलाई साह्रै दुःख भो, गाँउमै रकम दिने व्यवस्था गरिदिएको भए कति जाति हुन्थ्यो ।’ रोजगार कार्यक्रमका समेटिएकाहरुको बैक खाता यस अघि नै खोलिएको भएपनि बैकले पुनः खाता अध्याबधिक गर्न विभिन्न कागजात मागेको छ । कतिबेला के मिलेन भन्छन कतिबेला के भन्छन् पैसा निकाल्न निकै गाह्रो भो धनिले गुनासो सुनाइन् ।

उनी जस्तै जुनीचाँदे ३ डाँडाकोटकी पाना नेपाली पनि रोजगार कार्यक्रमको रकमका लागि भौतारिरहेकी छन् । उनी भन्छिन–‘काम गर्नु भन्दा रकम लिन पो सास्ती हुने रहेछ ।’ पहिलो पटक सदरमुकाम आएका उनीहरुलाई बैकिङ्ग कारोवार सम्बन्धी धेरै कुरा थाह छैन । जुनीचाँदेबाट ठुलो संख्यामा मानिसहरु रोजगार कार्यक्रमको रकम लिन यतिवेला सदरमुकाममा ओइरिएका छन् । अधिकाँश अशिक्षित दलित, गरीव तथा महिला उक्त कार्यक्रममा समेटिएका छन् । तर उनीहरुलाई धेरै कुरा थाह छैन । त्यहि भएर झन समस्यामा छन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार र विपन्न बर्गलाई बर्षमा एक सय दिन बराबरको रोजगार दिने गरि बजेटको ब्यवस्था गरेको छ । यस कार्यक्रमबाट जुनीचाँदेका एक हजार दुई सय १५ जना बेरोजगार समेटिएका छन् । उनीहरुको रोजगारीका लागि सरकारले ६ करोड २० लाख ३२ हजार रुपैयाँ पठाएको रोजगार संयोजक धनबहादुर बस्नेतले बताए । एक जनालाई एक दिनको ५ सय १७ रुपैयाका दरले सय दिनको ५१ हजार सात सय रुपैया भुक्तानी दिने गरेको छ ।

रकम दुरुपयोग हुने गरेको गुनासो पछि अनिवार्य बैक खातामा हाल्ने गरिएको र रकम समेत अन्तिममा निकासा भएकोले पनि पैसा निकालेर बाँड्न समस्या भएको संयोजक बस्नेतले बताए । गत असार २२ गते मात्र पाँच करोड ५५ लाख रुपैयाँ निकासा भएकोले गर्दा पनि आर्थिक बर्षको अन्मिममा रकम बैक खातामा हाल्दा एकै पटक भीडभाड भएको उनको भनाई छ । रकम लिन आउनेहरु अधिकांश महिला छन् ।

१८ देखिख ५९ बर्ष उमेरका बेरोजगारलाई रोजगार दिने गरि थालिएको यो कार्यक्रम खासै प्रभावकारी देखिएको छैन । झारा टार्ने खालका आयोजनाहरुमा करोडौ बजेट सक्ने गरेको ब्यापक गुनासो आउने गरेको छ । तर जुनीचाँदेमा त्यसरी रकम दुरुपयोग नभएको रोजगार संयोजक बस्नेतको दावी छ । उनले विद्यालयको फिल्ड निर्माण, घेराबार, सडक मर्मत, मन्दिर निर्माण र नयाँ गोरेटो बाटो निर्माणका एक सय पाँच आयोजनामा रकम खर्चिएको बताए ।

जुनीचाँदेको केन्द्र विवाद अहिले सम्म सुल्झन नसकेकोले गर्दा जुनीचाँदेमा बैक गएको छैन । सरकारले जुनीचाँदेमा कृषि विकास कार्यालयको शाखा स्थापना गर्ने निर्णय गरेको भएपनि सुरक्षा र केन्द्रको स्थायित्वको कारण दर्शाउँदै बैक जान नमानेपछि सरकारको निर्णय कार्यान्वयन हुन नसकेको हो । जसका कारण सयौ सर्वसाधारणले यसरी नै सास्ती खेपिरहेका छन् । #प्रवाह#

तपाईको प्रतिक्रिया