जन्मदिनको पैसा बचाएर वृद्धवृद्धालाई फलफुल


जाजरकोट, २ साउन । जिल्लाको कुशे गाउँपालिका–४ तम्तिकी सुप्रिया शाहीले शुक्रबार खलंगाको बृद्धाश्रममा फलफुल वितरण गरेकी छन् । बृद्धाश्रमका जेष्ठ नागरिकहरुको सम्मानका लागि शाहीले फलफुल वितरण गरेकी हुन् । कक्षा १० मा अध्ययनरत १५ बर्षिय शाहीले झण्डै ३० जना भन्दा बढि जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेकी छन् ।

समाज तथा मानव सेवामा आफुलाई अगाडी सारेकी शाहीले बालबालिकालाई माया, युवालाई अबसर र जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने धारण राखेकी थिईन् । समाज रुपान्तरणमा योगदान गर्न आफु मानव सेवामा लागेको जानकारी दिदै शाहीले आफुले गर्दै आएको मानव सेवाको यात्रालाई अविराम रुपमा अगाडी बढाई राख्ने भनाई राखेकी थिईन् ।

जन्म दिन मनाउन आफुलाई आमा बुवाले दिएको ५ हजार पैसालाई कतैपनि खर्च नगरेर जेष्ठ नागरिकहरुको सम्मानको लागि फलफुल किनेर वितरण गरेको शाहीले बताईन् । समाजमा सकारात्मक सोचको बिकास गर्न आबश्यक रहेको बताउदै शाहीले सकारात्मक सोचको बिकासलाई विस्तार गर्न आफुले बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको तर्क गरेकी थिईन् ।

कोभिड–१९ संक्रमणको दोस्रो लहरमा कुशे गाउँपालिकाका बिभिन्न वडाहरुमा आफै पुगेर विपन्न नागरिकहरुलाई मास्क, सेनिटाईटर, साबुन लगाएतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्नुको साथै कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि आम नागरिकहरुमा सचेतना दिदै आएकी शाहीले कुशे–१ मा स्वास्थ्य सम्बन्धि निशुल्क गाउँघर क्लिनिक अभियान संचालन गरेकी थिईन । शाहीको पहलमा कुशे–१ को तारेचौर, काफलपाटा, स्याक्री, धाउनी लगायतका गाउँमा निशुल्क गाउँघर क्लिनिक अभियान संचालन गरेकी थिइन ।

क्रेटिभ नेपाल कैलालीको आर्थिक सहयोगमा ५ लाख बराबरको औषधि सहित गाउँघर क्लिनिक अभियानमा स्वास्थ्य सरसफाइ सचेतना र बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । उक्त गाउँघर क्लिनिक अभियानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी ३४० जनाको स्वास्थ्य जाँच तथा उपचार संगै निशुल्क औषधि वितरण गरिएको थियो ।

उक्त अभियानमा डाक्टर हिक्मत बुढाको सहभागीता रहेको थियो । रुघाखोकी, ज्वरो, सिजनल रुघाखोकीले थलापरेका गाउँघरका नागरिकहरुलाई स्वास्थ्य सेवा संचालन गर्न निशुल्क गाउँघर क्लिनिक अभियान चलाएकी शाहीले अब तत्कालै कुशे गाउँपालिकामा कोभिड–१९ बाट प्रभावित तथा बिपन्न नागरिकहरुलाई खाद्यन्न वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिएकी छन् । खाद्यान्न वितरण कार्यक्रममा आफुलाई सहयोग गर्न सबैलाई शाहीले अपिल गरेकी छन् ।

तपाईको प्रतिक्रिया