खलंगा–पाँचकाटिया सडक : ट्रयाक खुलेको १३ बर्ष, कालोपत्रे सपना मात्रै

गाडी गुडाउने सडकमा, मोटरसाईकल गुड्दैनन्


जाजरकोट, ३१ असार । ट्रयाक खुलेको १३ वर्ष बितिसक्दा पनि जाजरकोटको खलंगा–पाँचकाटिया सडकमा नियमित गाडी चल्न सकेको छैन । सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको छ ।

खलंगा–पाँचकाटिया २३ किलोमिटर सडकको १३ वर्षअघि ट्रयाक खोलिएको थियो । ट्रयाक खुलेपछि कसैेले वास्ता नगर्दा झन् सास्ती भएको स्थानीय बासिन्दाले बताए । कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावत गर्न पनि सास्ती भएको बारेकोटका तिलक रावतले बताए  । यो सडकमा हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये हुने गरेको उनको भनाई छ ।

सदरमुकामबाट कुशे र बारेकोट गाउँपालिकामा खटिएका कर्मचारीलाई समेत समस्या हुने गरेको छ । ‘बाटो झन् बिग्रिएर मोटरसाइकल चलाउन मुस्किल हुन्छ । हिँडेर आवतजावत गर्दा दुई–तीन दिन लाग्छ,’ कुशे गाउँपालिकाका एक जना कर्मचारीले भने । ट्रयाक खुलेयता केही मर्मतसम्भार नगरिएको उनको भनाई छ ।

यो सडकमा गाडी गुडाउन पनि जोखिम हुने गरेको व्यवसायीहरू बताउँछन् । ‘यो सडक त्यसै खेर गएको छ । सडकले सहज हुुनु त कहाँ हो, उल्टै धुलो र हिलोले सास्ती हुन्छ,’ पाँचकाटीयाका व्यापारी सागर परियारले बताए  । सडक डिभिजन कार्यालय र भेरी नगरपालिकाको लापरबाहीले सबैले समस्या झेल्नुपरिरहेको उनको भनाई छ ।

खलंगा–पाँचकाटिया सडकमा नियमित यातायात पनि सञ्चालन हुँदैन । बर्खामा हिलो र हिउँदमा धुलो हुँदा ६ महिना गाडी सञ्चालन नहुने गरेको स्थानीय बासिन्दा बताउँछन्  । ‘निर्माण भएको १३ वर्ष भयो, अझै गाडी गुडाउन लायक बनेको छैन,’ स्थानीय व्यापारी छविलाल पुन बताए । नियमित सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामान आपूर्ति गर्न पनि समस्या हुने गरेको छ । ‘दुई गाउँपालिकामा खाद्यान्न ढुवानी गर्नसमेत गाह्रो हुन्छ, सधैँ अभाव नै हुन्छ,’ भेरी नगरपालिका–२ बाहुनथानका व्यापारी निरज विकले बताए ।

कैयौँ सडक अलपत्र
खलंगा–पाँचकटीया जस्तै जाजरकोटका दर्जनौँ सडक अलपत्र परेका छन्  । सडकको ट्रयाक खोलिए पनि स्तरोन्नति तथा मर्मतसम्भार नहुँदा ग्रामीण सडकहरू अलपत्र परेका हुन् । ‘सबै सडक उस्तै छन्, सामान ढुवानी गर्नसमेत समस्या हुन्छ,’ जुनीचाँदेका स्थानीय व्यापारी महेन्द्र शाहीले भने ।

राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले सडक निर्माणका लागि जोड दिने तर त्यसको स्तरोन्नति र मर्मत सम्भारका लागि वास्ता नगर्ने भएकाले समस्या भएको व्यापारीहरूको भनाई छ । ‘घर छेउछाउसम्म सडक लैजान्छन्, त्यसपछि न गाडी गुड्छ, न हिँडडुल गर्न सहज हुन्छ,’ शाहीले भने । जसका कारण यहाँका दर्जनौं सडकमा गाडी गुड्ने गरेको छैन ।

तपाईको प्रतिक्रिया