रोजगारी खोज्न फेरि भारत


   फाइल फोटो, खलंगा, २५ असार । जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँका ३५ वर्षीय परिमल नेपाली ६ महिनाअघि भारतको हिमचाल प्रदेश बाट फर्किए । भारतबाट ल्याएको कमाइ सकिएको र गाउँमा रोजगारी नभएको भन्दै उनी फेरि भारत जाने तयारीमा छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्किएका भेरी नगरपालिका ११ का ३२ वर्षीय कमल नेपाली सात जना साथीहरूसहित आइतबार भारत गए  । निषेधाज्ञा खुकुलो भएसँगै जिल्लाका विभिन्न व्यापारिक केन्द्र हुँदै भारत जानेको लर्को लागेको छ । ‘घरको उत्पादनले ३ महिना खान पुग्दैन, लकडाउनमा पनि त्यसै बसियो,’ नेपालीले भने, ‘अब भारत नगए परिवार कसरी पाल्ने ?’ बेरोजगारीको समस्याका कारण जीविकोपार्जनमा समस्या देखिएपछि गाउँका दुई दर्जन युवा पनि भारत जाने तयारीमा रहेको उनले बताए ।

महामारीकै कारण जागिर गुमाएका नलगाड नगरपालिका १ ३६ वर्षीय प्रकाश शाही पनि भारत जाने तयारीमा छन् । ‘रोजगारीका नाममा कार्यकर्तालाई मात्र काम दिइन्छ,’ उनले भने, ‘न गाउँमा धेरै जग्गा छ न रोजगारी नै पाइन्छ ।’ चार महिनाअघि भारतबाट फर्किएका उनले लकडाउनको समयमा लागेको ऋण तिर्न पनि भारत जानुको विकल्प नभएको उनले बताए । गाउँमा मजदुरी गर्न खोजे पनि नपाइएको उनले गुनासो गरे ।

अहिले सदरमुकाम खलंगा, छेडाबजार, मटेला, रिम्ना, थलह लगायतका व्यापारिक केन्द्रबाट छुट्ने अधिकांश गाडी भारत जाने युवाहरूले भरिन थालेका छन्  । गाउँमा बसेर गुजारा चलाउन समस्या भएपछि भारत जान थालेको जुनीचाँदे गाउँपालिका २ का कमल परियारले बताए । ‘घरमा त्यत्तिकै बसेर परिवारको चुलो बल्दैन,’ उनले भने, ‘न गाउँमा चाहे अनुसारको काम पाइन्छ ।’

बेरोजगारलाई रोजगार दिलाउन स्थानीयa तहले प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि टाढाबाठाले मात्र अवसर पाएको भेरी नगरपालिका ११ कट्टी गाउँका विरवल नेपालीले बताए   । ‘रोजगारीका नाममा नेतालाई कार्यकर्ता पाल्न मात्र ठिक्क छ,’ उनले भने, ‘हाम्रो पीडा कसले बुझिदिने ।’ गाउँमा विकास निर्माणका काम पनि ठप्प हुँदा आफूहरूले रोजगार पाउन नसकेको उनी बताउँछन्   । स्थानीय तहले युवालाई ३ महिनाभन्दा बढी समय रोजगारी दिन नसक्दा पनि युवाहरू भारत जानुको विकल्प नभएको बारेकोट गाउँपालिका ९ का लोकेन्द्र गौतमको भनाई छ । विकास निर्माणका काममा डोजर लगायत ठूला उपकरण प्रयोग हुँदा पनि रोजगारी पाउन मुस्किल भएको उनले बताए  । ‘गाउँमा न उब्जनी हुन्छ न गतिलो रोजगार नै पाइन्छ,’ उनले भने, ‘सक्नेहरू अरू देश जान्छन्, नसक्नेलाई भारतकै मजदुरीको भर छ ।’ स्थानीय तहहरुले रोजगारीको व्यवस्था गरी यूवालाई देशमा नै काम लगाउने हो भने देश विकासमा ठुलो टेवा पुग्ने नागरिक समाजको भनाई छ ।

तपाईको प्रतिक्रिया