२० प्रतिशत छुट दिएपछि जाजरकोटमा खाद्य संस्थानबाट चामल किन्नेको भीड

खलंगा, २७ जेठ । सरकारले निषेधाज्ञा अवधिभरि खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय जाजरकोटमा चामल किन्नेको भिड लाग्न थालेको छ ।

एक महिनादेखि निषेधाज्ञा झेलिरहेका विपन्न नागरिकहरू जीविकोपार्जनमा समस्या भएपछि चामल लिन भिड लागेको हो । जिल्लामा खाद्य संस्थानले चामलमा २० प्रतिशत छुट दिएका कारणले गाउँदेखि विपन्न नागरिकहरू दैनिक ३ सय जनाको हाराहारीमा कम्पनीको कार्यालयमा आउने गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारणले सबै क्षेत्र ठप्प भएर पीडित भएका नागरिकहरू गाउँगाउँदेखि सहुलियतको चामल लिन आउने गरेको कम्पनीको जाजरकोटका शाखामा कार्यरत रामप्रसाद पौडेलले जानकारी दिए । ‘दैनिक ७५ क्विन्टलदेखि १०० क्विन्टलसम्म चामल बिक्री हुने गरेको छ,’ उनले भने, ‘काम गर्न नपाएका विपन्न नागरिकले अहिले सहुलियतको चामल धमाधम लिन थालेका छन् ।’

२० प्रतिशत छुट पछि १ हजार ३८० मुल्य रहेको ३० किलोको अरुवा मोटो चामल १ हजार १सय ४ मा पाईने भएको छ । १ हजार १५० मुल्य रहेको २५ किलोको अरुवा मोटो चामल ९सय २० मा पाईन्छ । १ हजार ४सय ७० मुल्य रहेको ३० किलोको अरुवा मध्येम चामल १ हजार १७६ मा पाईने भएको छ ।

१ हजार ६ सय २५ मुल्य रहेको २५ किलोको स्टिम जिरा मसिनो चामल १ हजार ३ सयमा पाईने भएको छ । त्यसैगरी १ हजार ४१० मुल्य रहेको ३० किलोको अरुवा मकावनपुर चामल १ हजार १ सय २८ मा पाईने भएको छ ।

१ हजार ४७० मुल्य रहेको ३० किलोको जापानीज चामल १ हजार १ सय ७६ मा पाईने भएको छ । कम्पनीको शाखा कार्यालय, डिपो र विक्रि केन्द्रमा मात्र लागु हुने गरी मुल्य छुटको व्यवस्था गरिएको शाखा प्रमुख धर्मराज बस्नेतको भनाई रहेको छ ।

छुट बाट गरिव तथा विपन्न गरिवारलाई राहत मिल्ने समेत विश्वास गरिएको छ । सहुलियत लिन आउने ग्राहकले आफ्नो परिचय खुल्ने नेपाली नागरिकताको प्रमाण–पत्र, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, जन्म दर्ताको प्रमाण पत्र आदि जस्ता सरकारी परिचय पत्र साथमा अनिर्वाय हुनुपर्दछ ।

 

तपाईको प्रतिक्रिया