रेडक्रस जाजरकोटद्धारा दुई स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर

May be an image of 2 people and people standing
खलंगा, २६ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

नेपाल रेक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको कार्यालयबाटै बुधबार बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहलाई आफुले १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको नेपाल रेडक्रस जिल्ला शाखा जाजरकोटका सभापति हरि बहादुर बस्नेतले जानकारी दिए । सभापनि बस्नेतले दिएको जानकारी अनुसार शिवालय गाउँपालिकालाई आगामी शुक्रबार १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

चाईनीज रेडक्रसको आर्थिक सहयोगमा आएका सर्जिकल मास्कलाई नेपाल रेडक्रस जिल्ला शाखा जाजरकोटले एक हजार पिसका दरले जिल्लामा रहेका १० वटा उपशाखालाई वितरण गरेको सभापति बस्नेतले जानकारी दिए ।

त्यसैगरी जिल्ला शाखा, जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाई ३ हजार, सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटलाई २ हजार, नेपाली सेनाको चन्दननाथ गण मालिका व्यारेकलाई १५ सय, नेपाल खाद्य संस्थान, खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटलाई १५ सय र जिल्ला अदालत जाजरकोटलाई २ सय पिस सर्जिकल मास्क हस्तान्तरण गरिएको सभापति बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया