
खलंगा, ८ जेठ । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवती कहाँ पुगे ।
नवराज उनका १९ जना साथी लिएर गएका थिए । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवती विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए । पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएकी थिइन् । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो ।
त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको थियो ।
चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गत वर्ष जेठ १० गते प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका ५ जना साथीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाउँमा सामूहिक हत्या भएको थियो ।
सोहि घटनाको सम्झनामा बृहत नागरिक आन्दोलनले जेठ १० गतेलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवसको रुपमा सम्झना गर्ने भएको छ । उक्त दिनको सम्झनामा १० जेठलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाउन लागिएको बृहत नागरिक आन्दोलनले विज्ञप्ति निकालेर जनाएको छ । कोरोना महामारीलाई ध्यानमा राखी त्यस दिनको कार्यक्रम भर्चुअल माध्यमबाट गरिने भएको छ ।
उक्त दिवसको अवसरमा विभिन्न व्यक्तित्वका कविता, कला तथा भिडियो अभिव्यक्ति जेठ १० सम्म निरन्तर प्रवाह गरिने वृहत नागरिक आन्दोलनले जनाएको छ । त्यसपछि जेठ १० गते विशेष भर्चुअल प्रतिरोध कार्यक्रम आयोजना हुनेछ ।


















































। ८ जेष्ठ २०७८, शनिबार