
जाजरकोट, २५ वैशाख । जिल्लाका चार स्थानीय तहमा अस्पताल बनाउनका लागि संघीय सरकारले बजेट पठाएको बजेटबाट दुई स्थानीय तहले टेन्डर मात्र गरेका छन् । बाँकी दुई स्थानीय तहले टेन्डर समेत गरेका छैनन् ।
छेडागाड, बारेकोटले टेन्डर गरेका छन् भने जुनिचाँदे र नलगाडले टेन्डर नै गरेका छैनन् । नलगाड नगरपालिकाले जग्गा नपाएका कारण टेन्डरमा ढिला भएको छ भने जुनिचाँदेले डिपिआर नै नगरेका कारण यो वर्ष सुरु गर्न सकेको छैन । त्यस्तै, भवन निर्माणका लागि बजेट पठाएको भए पनि दरबन्दी विवरण अहिलेसम्म नपठाएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए ।
बजेट आयो, दरबन्दी आएन
साबिकको स्वास्थ्य संस्थामा रहेका चिकित्सक नपठाउँदा गाउँपालिकाले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाउने काम भएको उनले बताए । त्यस्तै, नलगाड नगरपालिकाले आफैँले नियुक्ति गरेको डाक्टरद्वारा सेवा प्रवाह भइरहेको बताएको छ । सरकारी दरबन्दीका डाक्टर स्वास्थ्य संस्थामा नआउँदा आफैँले नियुक्ति गरेको डाक्टरद्वारा सेवा दिइएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिकाले पनि आफैँले नियुक्ति गरेको डाक्टरद्वारा सेवा प्रवाह गरिरहेको छ । छेडागाड नगरपालिकाले पनि आफैँ करारमा डाक्टर न्यूक्ति गरेको छ। सदरमुकामदेखि बाहिरका सबै पालिकामा रहेका स्वास्थ्य संस्थामा अक्सिजनविहीन अवस्थामा रहेको छ । सदरमुकाममा रहेको ५० शैयाको अस्पतालमा समेत अक्सिजन पलान्ट खरिदका लागि बोलपत्र भए पनि सो सामग्री कहिले आउँछ भन्ने कुनै खास समय नभएको बताएको छ । अहिले २५ वटा सिलिण्डरमा बाहिरबाट अक्सिजन भरेर ल्याइ सेवा दिदै आएको अवस्था छ । एचडियु सेवाका लागि २५ वेड राख्नुपर्नेमा ठाउँको अभावमा १५ वटा मात्र राखिएको छ ।
सरकारी दरबन्दीका डाक्टरले पाइला टेकेनन्
सबै स्थानीय तहमा एमबिबिएस डाक्टरको दरबन्दी भए पनि सरकारी डाक्टरले अहिलेसम्म पाइला टेकेका छैनन् । स्थानीय तहले आफैँले करारमा डाक्टर नियुक्ति गरेर काम चलाएको बताएका छन् । निकै तामझामसहित उद्घाटन गरिएको छेडागाडको अस्पतालमा बोडिङ सञ्चालन गरिएको छ । नलगाड, बारेकोटमा भने सुविधायुक्त भवनमा सेवा प्रवाह भइरहेको छ ।
भेन्टिलेटर छ, चलाउने जनशक्ति छैन
जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा प्रयोगमा आउन सकेको छैन । वर्ष दिनदेखि थन्क्याएर राखिएको अस्पताल प्रशासनले बताएको छ। कर्णाली प्रदेश सरकारले दक्ष जनशक्तिको दरबन्दी पठाएपछि मात्र भेन्टिलेटर प्रयोगमा आउने बताएको छ ।
निषेधाज्ञाको मिति १ जेठसम्म थप
वैशाख २५ गते निषेधाज्ञाको समय सकिन लाग्दा फेरि मिति थपिएको छ कोरोना संक्रमितको संख्या २६९ पुगेसँगै फेरि जेठ १ गते सम्म निषधाज्ञाको मिति थप गरिएको हो । यसैबीच कोरोना संक्रमित एकजनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी, जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका सातवटै पालिका, अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरी बलले यस अघि नै निर्माण गरेका क्वारिन्टिन र आइशोलेसन बेडहरुलाई अक्सिजन सहितको सुरक्षित र व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुको साथै जिल्लामा संक्रमितहरुको बृद्धिदरलाई मध्यनजर गरी थप क्वारिन्टिन र आइशोलेसनको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । स्रोत थाहाखबर
















































। २५ बैशाख २०७८, शनिबार