भेरी वारपारमा तुईनको सहायता, दैनिक उपभोग्य समान लिन जोखिम मोल्नुपर्ने बाध्यता

                                                                                  फाईल तस्विर
जाजरकोट १८ वैशाख । जिल्लाको नलगाड नगरपालिका–१ ठूलाबगरका हरि पुन दैनिक तुइनकै भरमा आउजाउ गर्छन्  । उनी खाद्यवस्तु ल्याउन र अन्य घरायसी कामकाजका लागि जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य छन् । उनका छिमेकी दले पुनलाई पनि गाउँ बाहिर जानुपर्दा तुइनको प्रयोग नगरी सुखै छैन् ।

ठूलाबगरका ६ देखि १० कक्षा पढ्ने बालबालिकालाई पनि माध्यमिक तहको पढाईका लागि रिम्नास्थित विद्यालय पुग्न तुइन चढ्नुको विकल्प छैन । नलगाड नगरपालिका–१ ठूलाबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ छोटेतराबीचको सम्बन्ध पनि तुइनले नै जोडिएको छ । भेरी नदीमा पुल नहुँदा र अन्यत्रबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वर्षौंदेखि दुवै गाउँका बासिन्दा तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

रुकुम पश्चिमको भल्मा, पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दालाई पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ । स्कुले बालबालिकादेखि ज्येष्ठ नागरिकलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता भएको हो । ठूलाबगर, खर्चा, दम्सिला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका झन्डै एक सय परिवारले स्थानीय प्रविधिबाट निर्मित तुइन प्रयोग गरिरहेका छन् ।

स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुन्डिएर एक सय मिटर चौडा भेरी नदी वारपार गर्नुपर्ने ६५ वर्षीय झुपलाल घर्तीले बताए  । ‘तुइन तरेरै जिन्दगी बित्न लाग्यो । भेरीमा पुल बनाइदिन आग्रह गर्दा कसैले नसुनेन्,’ उनले भने, ‘पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ , त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ  ।’ उनका अनुसार भीरको बाटोबाट लडेर ३ वर्षको अवधिमा झन्डै १० जनाको ज्यान गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाती भएको उनले जनाए  ।

वर्षौंदेखि एउटै तुइनको सहायताले नदी वारपार गर्दै आएको उनी बताउँछन् । स्थानीयका अनुसार २०÷३० बर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुंगा (नाउ) को प्रयोग गरिएको थियो । चिन्डाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ज्यान गुमाउनेको संख्या बढेपछि तत्कालीन जिल्ला विकास समितिले फलामे लट्ठा दिएर तुइन बनाउन लगाएको थियो  ।

२० वर्षअघि बनेको उक्त तुइनकै भर दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न, औषधि उपचार गर्न र अन्य कामकाजका लागि आवतजावत गर्नुको विकल्प नभएको स्थानीय वीरबहादुर पुनले बताए । भेरी नदीमा पुल बनाउन विभिन्न निकायमा पटकपटक आग्रह गरे पनि राजनीतिक पहुँच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको उनको गुनासो छ । ‘विकासे कार्यकर्ता र राजनीतिक दलका स्थानीय नेता पनि तुइनको सहायताले नदी वारपार गर्छन्,’ उनले भने, ‘हामी पुल निर्माणका लागि पहल गर्छौं भन्न थालेको वर्षौं बित्यो तर पुल निर्माण हुन सकेन ।’ तुइनबाट यो वर्ष तीन जना नदीमा खस्दा पनि स्थानीयले पौडी खेलेर बचाउन सफल भएको उनले बताए  ।

तुइनबाट वारपार गर्ने क्रममा मोबाइल, घडी, किताब, नगद, खाद्य सामग्रीलगायत खस्ने गरेको उनले गुनासो गरे । तुइनको पोल, घिर्नी र मान्छे बस्ने ढ्वांग्रो काठबाट बनेकाले झन् जोखिम भएको स्थानीयको भनाइ छ । बर्सेनि उक्त काठ बदल्न स्थानीयबाट चन्दा उठाएर मर्मत गर्ने पुनले बताए  । उनका अनुसार यो वर्ष ३० हजार रुपैयाँ खर्चेर तुइन मर्मत गरिएको छ । जनजाति र दलितको बाहुल्यता रहेको ठूलाबगरलगायत ठाउँका बासिन्दाको पुलद्वारा नदी वारपार गर्ने धोको सपनामा सीमित भएको छ । नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको भन्दै नगरप्रमुख टेकबहादुर रावलले स्थानीय तहको बजेटले पुल बनाउन सम्भव नहुँदा संघीय सरकारसँग माग गरिएको बताए  ।
यो समाचार कान्तिपुर दैनिकमा जाजरकोट बाट भीमबहादुर सिंहले लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया