कर्णालीमा ‘फ्लाेर क्रस’ गरेर माओवादीलाई समर्थन गर्ने र माधव नेपालसहित ८ जनालाई एमालेले स्पष्टीकरण साेध्ने

unn.prixa.net
काठमाण्डाै – नेकपा एमालेले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर माओवादीलाई समर्थन गर्ने प्रदेश सभा सांसद र उनीहरूलाई उस्काउनेसहित आठ नेतालाई दुई दिने स्पष्टीकरण सोध्ने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले निलम्बनमा परिसकेका नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, कर्णाली प्रदेशका नेता प्रकाश ज्वालासहित चार जना सांसदलाई दुई दिने स्पष्टीकरण सोधेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

दुई दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कडा कारबाही गर्ने पनि बैठकले चेतावनी दिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले कर्णाली प्रदेशमा आफ्नै पार्टीको सरकार ढाल्ने काम गरेर अक्षम्य गल्ती गरेको बताउनुभएको थियो ।

आउँदो १० गते बस्ने बैठकमा उनीहरूमाथि थप कारबाही हुन सक्ने पनि ज्ञवालीले बताउनुभयो । यस्तै गल्ती गरेर पार्टीविरुद्ध लागेका नेताहरूलाई बैठकले क्षमायाचनासहित पार्टीमा फर्कन आग्रह गरेको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यस्तै जुनसुकै बेला देश चुनावमा जान सक्ने भएकाले तयारी अवस्थामा रहन पनि बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यलाई निर्देशन दिएको छ । बैठकमा झलनाथ खनाल– माधवकुमार नेपाल समूह सहभागी भएन । तर नेपाल निकट मानिएका नेता विष्णु रिजाल सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया