
फाईल तस्विर
जाजरकोट, ४ वैशाख । जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ ।
बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी बताउँछन् । निगालो मासिएसँगै निगालोको चोयाबाट निर्माण हुने डोको, डालो, भकारी लगायत अन्य सामग्री निर्माण गर्न कठिनाइ भएको बारेकोट गाउँपालिका ३ का विवेक रोकायले बताए । निम्न वर्गका स्थानीयवासी डोको, नाङ्लो लगायतका वस्तु निगालोको चोयाबाट निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । अहिले निगालो लोप भएसँगै पेशा नै हराउन थालेको उनीहरुको भनाई छ ।
जिल्लाका बारेकोट, नलगाड, कुशे र जुनिचाँदे गाउँपालिकामा बढी निगालोको प्रयोग हुँदै आएको छ । निगालोको तामा टुसा जथाभावी तरकारी खाने र वर्षायाममा माथिल्लो क्षेत्रमा पशुचौपाया लिएर जाँदा निगालो लाई घाँसको रुपमा बढी प्रयोग गर्दा पनि निगालो मासिएको डिभिजन वन कार्यालयले जनाएको छ । संरक्षणतर्फ कसैले ध्यान नदिने तर सधैँ प्रयोग मात्र गर्दा निगालो लोप भएको हो । निगालोकै जङ्गलमा रेडपाण्डा लगायतका जनावर बस्ने भए पनि निगालो मासिंदा यी जनावर समेत सुरक्षित बासस्थानको अभावमा लोप हुँदै गएका छन् ।
नलगाड नगरपालिका तथा बारेकोट र कुशे गाउँपालिका विश्वमै लोपोन्मुख रेडपाण्डाको बासस्थान मानिन्थ्यो । अहिले यी क्षेत्रमा निगालोको विनाश हुँदा जाँदा सुरक्षित वासस्थानको अभावमा रेडपाण्डा पाउन छाडिएको हुनसक्ने विज्ञहरुको भनाई छ । उनीहरु भन्छन्, “रेडपाण्डा संरक्षण क्षेत्रमा छिट्टै संरक्षित क्षेत्र घोषणा कार्यक्रम शुरु हुन लागेकाले सामुदायिक वनको विधान परिमार्जन गरी निगालो संरक्षणको अभियान शुरु हुन लागेको छ ।”
गत बर्ष जिल्लामा दुलर्भ रेडपाण्डाको गणना गरिएको थियो । पहिलो पटक रेडपाण्डा हाव्रेको गणना गर्दा जाजरकोटमा अनुमानित करीब ५० ओटा रेडपाण्डा भएको समेत अनुमान गरिएको थियो । दुई तीन वर्षको अवधिमा शिकारीको पासोमा परि बारेकोटमा तीन वटा र कुशे गाउँपालिकामा एउटा रेडपाण्डा मारिएको थियो । लोपोन्मुख यस जनावर मारेको अभियोगमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी मुद्दा समेत चलाइएको बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताईन् ।
निगालो जोगाउनका लागि हिमाली क्षेत्रमा जथाभावी रुपमा पशु चौपायालाई लिएर गोठाला जाने कार्यलाई व्यवस्थित गरिने संरक्षित क्षेत्रको कार्ययोजनामा रहेको छ । निगालोको लागि जाजरकोट सबैभन्दा उत्कृष्ट क्षेत्र भए पनि अहिले कमजोर हुँदै गएको छ ।
रेडपाण्डा धेरै पाउने कर्णाली
रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर मानिन्छ । मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ । चोरी शिकारी, वनजंगल फडानी, चेतनाको कमी लगायतका कारणले गर्दा लोप हुँदै गएको पाइन्छ । पहिला घरआगनमै आउने, रेडपाण्डा लगायत अन्य दुर्लभ जनावर हिजोआज संरक्षण गर्न धौधौ भएको छ ।
रेडपाण्डा संरक्षणको छुटै नीति बने तापनि अन्य जनावर जस्तै रेडपाण्डालाई प्राथमिकता नदिँदा संकटमा परेको अनुसन्धानले छ । गत बर्ष सम्म अन्दाजी नेपालमा ५ सय रेडपाण्डा रहेको तथ्यांकले देखिएको थियो । जसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
रेडपाण्डका लागि आवश्यक आहरा निगालोको जारी तथा पुरा टोट्का परेका रुख कर्णालीमै पर्याप्त रहेकाले नेपालको कुल भूभागमध्ये ४३ प्रति कर्णालीमै बासस्थान सुरक्षित रहेको उनीहरुको दाबी छ । नेपालका २४ वटा जिल्लामा मात्र रेडपाण्डा पाइन्छ ।
तीमध्ये कर्णालीका जुम्ला, कालिकोट र जाजरकोटमा मात्रै ४३ प्रतिशत बासस्थान सुरक्षित छ । वन्यजन्तु चोरी शिकारीलाई न्यूनीकरणका लागि पत्रकार, नेपाल प्रहरी, स्थानीय सरकारले विशेष गरी अभियान चलाउनुपर्ने देखिन्छ ।
रेडपाण्डा संरक्षण गर्न कानुनी व्यवस्था
रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले २०१९ देखि २३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । कुनै पनि वन्यजन्तुलाई चोरी शिकारी गर्नु नीति विपरीत हो भन्नेबाट बढी हुने गरेको छ । रेडपाण्डाको चोरी शिकारीमा संलग्नलाई ५ वर्षदेखि १५ वर्ष कैद र ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
















































। ४ बैशाख २०७८, शनिबार