चुनावी तयारीमा लाग्न कार्यकर्तालाइ काँग्रेस सभापति देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाइ आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने अवस्था नरहेको भन्दै सभापति देउवाले संरकार गठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसद्मा काँग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गर्नुभयो ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा सभापति देउवाले संसद्मा आफूहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोख्नुभयो ।प्रधानमन्त्री बनाउन सक्ने संख्या आफ्नो पार्टीको नपुगेको भन्दै सभापति देउवाले यो परिस्थितिलाइ बुझ्न सबैलाइ आग्रह गर्नुभयो ।

विभिन्न किसिमका टीकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा सभापति देउवाको जोड थियो । काँग्रेसले पहल नै गरेन भन्ने गरेकाले तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उहाँले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्वान पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया