बंगुरपालनले फेरिएको घर्तीको जीवन

सल्यान : कपुरकोट गाउँपालिका-३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट मनग्य आम्दानी गर्दै आएका छन्।

२० हजार रुपैयाँ लगानी गरेर २०७२ सालदेखि व्यावसायिक बंगुरपालन गर्दै आएका घर्तीले वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। सुरुमा दुईवटा बंगुरबाट व्यवसाय सुरु गरेका उनले अहिले डिग्रो, धराने, पोख्रेली र स्थानीय जातका ९० वटा बंगुर पालेका छन्।

‘सुरुमा दुईवटा बंगुरबाट व्यवसाय सुरु गरेको हुँ‚’ उनले भने‚ ‘राम्रो आम्दानी हुन थालेपछि बंगुर वृद्धि गर्दै आएँ र अहिले विभिन्न जातका ९० वटा पाल्दै आएको छु।’

विगतमा तरकारी तथा फलफूल पसल गरेका उनले पसलभन्दा बंगुरपालनबाट राम्रो आम्दानी भएको बताए। ‘सुरुमा बंगुरपालन गर्न त गाह्रो नै भयो‚’ उनले भने‚ ‘फोहोर बढी गर्ने भएकाले कठिनाई थियो। तर आजभोलि बानी परिसकें। सामान्य नै लाग्छ।’ बंगुरपालने आफ्नो जीवनयापनमा निकै परिवर्तन ल्याएको घर्तीले बताए।

बंगुरको बजारीकरण खासै समस्या नरहेको उनको भनाइ छ। घर्तीले फर्मबाटै पाठापाठी पाँच हजार रुपैयाँसम्म बिक्री भइरहेको बताए। व्यवसायलाई अझै बिस्तार र व्यवस्थित गर्ने सोचमा रहेको उनको भनाइ छ। फर्म नजिकै बजार भएकाले होटलबाट निस्कने जुठोलाई पनि दानाको रुपमा प्रयोग गर्दै आइरहेका छन्।

आफ्नै लगानी र प्रयासबाट स्वरोजगार, घरपरिवार र समाजमा इज्जतका साथ बस्न पाउँदा सन्तुष्ट रहेको घर्ती बताउँछन्। बंगुरले वर्षमा चार पटकसम्म ब्याउँछ। एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने भएकाले व्यवसाय बढाउन खासै समस्या नहुँने घर्तीको अनुभव छ।

तपाईको प्रतिक्रिया