बजारमा प्रहरीको प्रश्न : ‘तपाईंको मास्क खोइ ?’

जाजरकाेटमा काेराेना भयावह,संक्रमितको संख्या ५६ पुग्यो

कालीबहादुर नेपाली
जाजरकोट, १५ वैशाख । जिल्लामा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले ’तपाईंको मास्क खोइ’ अभियान चलाएको छ । जिल्लामा नागरिकले मास्क लगाउन छोडेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले ‘सामाजिक दूरी कायम राखौं’ जस्ता नारा सहित अभियान चलाएको हो ।

प्रहरीले आफूले मास्क लगाएर प्लेकार्ड बोक्दै चोक–चोकमा सचेतना जगाएका छन् । मंगलबार बिहानको यो दृश्यले आम नागरिकलाई फेरि कोरोनाको संक्रमणप्रति अझै थप गम्भीर हुन सिकाएको अनुभूति खलंगा बजारबासीले गरेका छन् । पहिलेदेखि नै संचालन भएको यो कार्यक्रम पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएकाले पुन संचालन गरेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । सामाजिक दूरी कायम गर्न पनि उनीहरुले सिकाउँदै आएका छन ्। कोरोनाको सचेतनाबारे पनि सिकाएका थिए, अनि मानव स्वास्थ्यलाई हेलचक्रयाइँ नगर्न समेत नागरिकलाई आग्रह गरेका थिए ।

यो एउटा सकारात्मक अभियान भएको बजारबासीले बताएका छन् । कोरोना संक्रमणको जोखिम अझै उच्च हुनसक्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालयले नागरिकसँगको सहकार्यमा यो अभियान चलाएको थापाको भनाई छ । बजार निस्कँदा अनिवार्य मास्क प्रयोग गर्ने वातावरण बनाउन पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीलाई सचेत बनाउने उद्देश्यले प्रहरीले दैनिक रुपमा अभियान थालेको बताएको छ । अहिले खलंगा बजारमा भीडभाड बढेको छ, भीडभाड बढेपछि जोखिम हुने भएकाले अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै प्रहरीले अभियान सुरु गरेको हो ।

संक्रमितको संख्या ५६ पुग्यो

मंगलबार २५ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट २५ जनामा ७ जनालाई कोरोना पुष्टी भएको हो । मंगलबार गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या ५६ पुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् । कोरोनाको दोस्रो लहर सुरु हुन पहिले गत चैत २६ गते गरिएको परिक्षबाट कोरोना संक्रमित जुनीचाँदेका एक जना बिरामी सन्चो भएर घर फर्की सकेको जानकारी दिदै खत्रीले कारोना संक्रमणको दोस्रो लहर सुरु भएपछि जिल्लामा ५६ जना संक्रमितको संख्या पुगेको बताए । परिक्षणबाट पुष्टी भएका ५६ जना मध्ये जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारण नागरिक गरेर भेरी नगरपालिकाका ४१ जना रहेका छन् भने, जिल्ला अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

त्यसैगरी जिल्लाका अन्य पालिकाका १२ जना संक्रमित बिरामी रहेको खत्रीले जानकारी दिएका छन् । संक्रमित बिरामीहरुको अबस्था हेरेर जिल्ला अस्पतालको बेडमा राखेर ७, ८ जना बिरामीहरुलाई उपचार गरिएको छ भने, बाँकी अन्य संक्रमितहरुलाई स्वास्थ्य कर्मीहरुको निगरानीमा होम आईसुलेसनमा राखेर उपचार गरिएको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुलाई परिवारका अन्य सदस्यहरुसंगको सम्पर्कबाट टाढा राख्नुको साथै नियमित दुध, अण्डा, माछा, मासु जस्ता पोषणयुक्त आहार बिहार गर्न गराउन भेरी नगरपालिकाले आग्रह गरेको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुले दैनिक योग तथा व्याम गर्ने, धार्मिक तथा अध्यामिक प्रवचन सुन्ने, सुनाउने जस्ता प्रकृति चिकित्सा विधीलाई अबलम्बन गर्न भेरी नगरपालिकाद्धारा मंगलबार जारी गरिएको अपिलमा भनिएको छ–‘मध्यपान तथा धुम्रपानदेखी सबै बिरामीहरु टाढा बस्न अनुरोध गरिन्छ ।’

बारेकोटका विद्यालय एक साता बन्द गर्ने निर्णय

जिल्लाको बारेकोट गाउँपालिकाका सम्पुर्ण विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । मंगलबार गाउँपालिकाको कार्यालयमा बसेको आकस्मिक वैठकले उक्त निर्णय गरेको हो । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) को दोस्रो लहर जाजरकोटमा फैलिएको र यसको प्रभाव बारेकोटमा पनि देखिएकोले वैशाख १५ गतेदेखि २२ गते सम्म बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता शसीराम गौतमले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितका लागि गाउँपालिकामा आईसोलेशन समेत तयार पारी प्रचारप्रसारलाई व्यापक पार्ने निर्णय गरिएको समेत गौतमले बताए ।

तपाईको प्रतिक्रिया