महामारीको त्रासमा होली


जाजरकोट, १६ चैत्र । यस बर्षको फागु पूर्णिमा, जाजरकोटमा आपसमा रङ् दलेर मनाईएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने चलन छ ।

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको थियो । होली पर्वमा अवाञ्छित गतिविधि र दुर्घटना हुन नदिन ट्राफिक व्यवस्थापनमा समेत कडाइ गरिएको थियो । जाजरकोट प्रशासनले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न र होली नखेल्न आग्रह गरेको छ । त्यसै अनुरुप जिल्लामा होली पर्व मनाइएको हो ।

एक आपसमा रङ दलेर होली पर्व मनाइएको छ । कोरोनाको जोखिम बढेकोले यस बर्षको होली पर्व पनि खासै राम्रो नभएको स्थानीय रति नेपालीले बताईन् । उनले भनिन्, ‘कोरोना भन्दा पहिलेका होली पर्व ज्यादै रमाईलो गरी मनाईन्थ्यो, तर एक बर्ष देखि होली राम्रो संग मनाएका छैनौँ ।’ उनी मात्र होइन् जिल्लाका अधिकांश स्थानीय होलीका गीत बजाउने, नाच्ने, साथीभाईहरु आफ्नै सुरतालमा नाच्ने गर्दथे । तर कोरोना महामारीका कारण होलीमा समेत रमाईलो गर्न नपाईको स्थानीय प्रकाश रोकायको भनाई छ । मनमा कोरोनाको त्रास, बाहिर आवरणमा रमाईलो गरी यस बर्षको होली मनाएको उनको भनाई छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा वृद्धि भएकोले सरकारले सावधानी अपनाउन आग्रह गरेको छ । यस विचमा रहेको जुनसुकै चाडपर्वपनि त्रासमा रहेर मनाउनुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका ६ का धनजीत महरले बताए ।

उनले भने, ‘विश्वमा कोरोना महामारी झनै फैलिएको छ, सरकारले भीडभाड, जमघट,मेला,महोत्सव नगर्न आग्रह गरेको छ, होलीमा बढि जमघट हुने भएपनि त्रासले खासै राम्रो. भएन ।’ कोरोनाको त्रासले होलीमा यस बर्ष रमाईलो नभएको पत्रकार प्रेम विश्वकर्माले बताए । केही बालबालिका तथा यूवायुवतिहरुले रमाईलो गरेपनि विगतका बर्षहरुमा जस्तो होलीमा उमङ्ग छाएको देखिदैन् । जीवन भन्दा यो संसारमा ठुलो केही छैन, जीवन बाँच्यो भने धेरै समय हुन्छन् रमाईलो गर्ने भन्दै होलीमा धेरै जमघट नभएको बुढापाखाहरुको भनाई छ । आइतबार पहाडी तथा हिमाली जिल्लामा पाइएको छ भने सोमबार तराईमा मनाईदै छ ।

किन मनाईन्छ होली दुई दिन ?
त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. मदनकुमार रिमाल पहाड र तराईमा २ दिन होली मनाउनुको विशेष महत्व रहेको बताउँछन् । मिथिला संस्कृतिमा हुर्किएका रिमाल मिथिला क्षेत्रमा फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने र हजारौं जनाको उपस्थिति हुने भएकोले सोको भोलिपल्ट होली मनाउने गरिएको बताउँछन् । मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्ने गर्छ । धार्मिक ग्रन्थहरूमा फागु पूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भए पनि यो सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रूपमा विकास भइसकेको छ ।

हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा उल्लेख गरेको छ । उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ । रिमालका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्काेतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ ।

साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुन सक्ने उनी बताउँछन् । ‘होली परिवार र साथीभाइकाबीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति बन्यो ।’ रिमालले भने ‘यो हामीले थाहा पाउँदादेखि नै २ दिन मनाउने चलन थियो । पछि यही आधारमा सरकारले बिदा समेत २ दिन दिन थालेपछि झनै यो २ दिने पर्वको रूपमा विकास भयो ।’

तपाईको प्रतिक्रिया