
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार एमाले केपी ओली पक्षकाे बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे ।
बैठकले समर्थन फिर्ता लिएकाे जानकारी संसद सचिवालयलाई गराउने निर्णय समेत गरेको छ । बैठकमा माधव नेपाल पक्षकाे सहभागीता रहेकाे थिएन् ।
कर्णालीमा हाल माओवादी केन्द्रको नेतृत्व रहेको छ । बैठकले एमालेबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन समेत निर्देशन दिएकाे संसद गुलावजंग शाहले बताए ।
बैठकले दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा यमलाल कँडेल सहित १० जना सांसदहरु सहभागी थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदम रोकाया माधव नेपाल पक्ष छाडेर ओली पक्षतिर लागेका छन् । यद्यपि, मन्त्री बुढा भने बैठकमा सहभागी भने छैनन् ।
अब कर्णाली प्रदेशमा एमाले केपी ओली पक्षतिर सभामुखसहित १२ सांसद हुनेछन् भने माधव नेपाल पक्षमा ८ जना सांसद बाँकि रहनेछन् । त्यस्तै, सामाजिक विकास मन्त्री दल रावल पनि ओली पक्ष एमालेमा फर्किने कुरा निश्चित रहेको स्रोतको दावी छ ।
















































। ४ चैत्र २०७७, बुधबार