वैज्ञानिक समाजवाद, माओवादी र अवको एजेण्डा

कमरेड अध्यक्ष,
र कमरेडहरु

वैज्ञानिक सजाजवादको निम्ति संघर्षरत पार्टी आधुनिक विज्ञानको जगमा खडा भएको छ त ?
यदी खण्डित हुन्छ भने वैज्ञानिकहरु सदैव आफ्नाे पूर्व मान्यताको विरुद्ध उभिन तयार हुन्छन् । माक्र्सवादलाई विज्ञान मान्ने हामीहरु  आफ्ना  पूर्व मान्यताको विरुद्ध उभिन तयार छौंँ त ?

दर्शन बारे
एकजना प्रसिद्ध इतिहासकारले भनेका छन् हामी कहाँबाट आएका हौं भन्ने थाहा भएन भने हामी कहाँ छौं भन्ने थाहा हुँदैन । हामी कहाँ छौं भन्ने थाहा भएन भने हामी कता जाँदैछौँ भन्ने थाहा हुँदैन । हामी कता जाँदैछौँ भन्ने थाहा भएन भने हाम्रो गन्तव्य गोलमाल हुन्छ । जसको गन्तव्य गोलमाल हुन्छ उसको भागमा पराजय मात्रै हुन्छ । हामी कहाँबाट आएका हौं? हामी कहाँ छौं ? र हामी कता जाँदैछौं ? यस छलफलमा समयरेखामा आधारित यिनै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिने छ । हाम्रो पार्टीको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसले प्रकृति, समाज र चिन्तनको क्षेत्रमा काम गर्दछ । सबै दर्शन र खासगरी माक्र्सवादी दर्शनले आधारभूत रुपमा दुईवटा प्रश्नहरुको जवाफ दिने गरेको छ । जसको आधारमा उसको कित्ता स्पष्ट हुने गरेको छ ।

१. संसार वा प्रकृति वा ब्रह्माण्डबारे जान्न सकिन्छ वा सकिदैन ?
२. पदार्थ र चेतना मध्ये प्राथामिक कुन हो ?

अर्को शब्दमा संसारका दुई ठूला रहस्यहरु हुन् ब्रह्माण्ड र मानव मस्तिष्कले कसरी काम गर्दछन् ?
पहिलो प्रश्नबारे छफफल गरौँ । ब्रह्माण्डको उत्पति, विकास र विनासबारे विगतमा दुईखाले मतहरु थिए । हिलो मत, ईश्वरले ब्रह्माण्डको सृष्टि गरेका हुन् । यो आध्यात्मावादी मत हो । दोश्रो मत , यो ब्रह्माण्ड सदाकाल देखि यस्तै रहको छ न त यसको सृष्टिकर्ता छ न त विनासकर्ता नै । यो भौतिकवादी मत हो । जस्तो दर्शनशास्त्रको प्रारम्भिक ज्ञान भन्ने पुस्तकमा भिक्टर आफ्नानासेयभ भन्छन पदार्थको नित्यता र अनन्तताले गर्दा नै कालको नित्यता र दिगको अनन्तता पनि निरुपित हुन जान्छ , यसको अर्थ हो तिनको न त कहिल्यै आरम्भ नै थियो, न कहिल्यै अन्त्य नै हुनेछ ।

तेश्रो मत, महाविस्फोटको सिद्धान्त हो । वैज्ञानिकहरुका विचमा सर्वसम्मत जस्तै यस सिद्धान्त अनुसार १३.५ अर्ब वर्ष पहिले महाविस्फोटद्धारा ब्रह्माण्डको सृजना भएको हो । महाविस्फोट सँगै पदार्थ, ऊर्जा, समय र स्थानको उत्पति भएको हो । महाविस्फोटको एक सेकेण्डपछि १० अर्ब डिग्रीको तापक्रम १०० सेकेण्डपछि एक अर्ब डिग्रीमा झर्यो ।

त्यस यता ब्रह्माण्ड निरन्तर चिसो हुँदै गइरहेको छ र निरन्तर फैलिइरहेको छ । ब्रह्माण्ड सदाकालदेखि यस्तै रहेको छ भन्ने हाम्रो मान्यता खण्डित भएको छ । यो बिसौं शताब्दीको एक बौद्धिक क्रान्ति थियो । अन्तरिक्षमा वस्तुहरुको गतिलाई प्रकाश वर्षमा मापन गरिन्छ । प्रकाशले प्रति सेकेण्ड तिन लाख किलो मिटर दूरी पार गर्दछ । यसको अर्थ हो एक वर्षमा प्रकाशले नौ सय पचास खर्ब किलो मिटर दूरी पार गर्दछ । अहिले ब्रह्माण्ड ४६.५ अर्ब प्रकाश वर्ष टाढा फैलिएको छ भने यसको परिधि ९३ अर्ब प्रकाश वर्षको रहेको छ । यसको अर्थ हो कि ब्रह्माण्डको फैलावटको गति प्रकाशको गति भन्दा पनि तिब्र छ ।

ब्रह्माण्ड बनेको नौ अर्ब वर्ष पछि सौर्य मण्डल र हाम्रो पृथ्वी बनेको हो । पृथ्वी बनेको लगभग पचास करोड वर्ष पछि एक कोषिय जीव अमिबा देखा परेको हो । जुन दुई अर्ब वर्ष सम्म यस पृथ्वीमा एक्लै थियो । त्यस पछि देखा परे सरिसृपहरु, अनि स्तनपायी जनावहरु र अन्तमा मान्छे । करिब साठी लाख वर्ष अघि हाम्री बज्यैका दुईजना छोरीहरु मध्य जेठी पट्टीका सन्तान हुन् आजका चिम्पाञ्जीहरु र कान्छी पट्टीका हौँ हामी मान्छे । यसको अर्थ हो जिवित जनावरहरु मध्ये हाम्रो सबै भन्दा नजिकका नातेदारहरु हुन् चिम्पाञ्जी, गोरिल्ला र बाँदरहरु । चिम्पाञ्जी र हाम्रो डिएनएको ९९ प्रतिशत मात्रा मिल्नुको रहस्य यही हो ।

हामी माथिकै प्रसंगमा जाऔं । हाम्रो पृथ्वी सौर्य मण्डलभित्र पर्दछ । हाम्रो सौर्य मण्डल मध्यम स्तरको तारापुञ्ज आकाश गंगा ( मिल्की वे ग्यालेक्सि ) भित्र पर्दछ । जस अन्तरगत अर्बौं ताराहरु पर्दछन् । र त्यस्ता तारापुञ्जहरुको संख्या पनि अरबौं छ भन्ने मानिन्छ । एउटा सिमा सम्म पुगेपछि ब्रह्माण्डको विस्तार हुने क्रम रोकिन्छ र खुम्चिने क्रम शुरु हुन्छ । जुन महासंकुचन ( बिग क्रन्च ) वा कृष्णा विवर ( व्ल्याक होल)मा गएर टुंगिन्छ । अनुमान गरौं कि सिंगो सूर्य केराउको दाना भन्दा पनि सानो आकारमा खुम्चिन्छ जसलाई एकत्व अर्थात् सिंगुलारिटि भनिन्छ । अहिले पनि तारापुञ्जहरु भित्र ब्ल्याक होलहरु रहेको मानिन्छ । कुनै ब्लाक होल भित्र त सूर्य जत्रा आकारका खरबौं ताराहरु अट्न सक्ने खालका पनि छन् । तर सिंगै ब्रह्माण्डको ब्ल्याक होल भने हामी देख्न सक्दैनौं । त्यो ब्रह्माण्डको अन्त्यको क्रममा मात्रै हुन्छ ।महाविस्फोट देखि महासंकुचन सम्मलाई र महासंकुचन देखि फेरी महाविस्फोट सम्मलाई एकत्वदेखि एकत्वसम्म पनि भन्न सकिन्छ ।

दर्शनशास्त्रको पहिलो प्रश्नको जवाफ यही हो । ब्रह्माण्डको उत्पति, विकास र अन्त्य सम्बन्धि पहिलो मत स्वतः औचित्यहिन भइसक्यो । महान् अन्तरिक्ष वैज्ञानिक स्टेफिन हकिं ईश्वरको सृष्टिबारे प्रश्न गर्दछन् यदी ईश्वरले ब्रह्माण्डको सृष्टि गरेका हुन् भने सृष्टि अघि ईश्वर के गरेर बसेका थिए ? अनि ईश्वरको सृष्टि चाहिँ कसले गर्यो ? उनी थप्छन् ब्रह्माण्डको सृष्टि ईश्वरले गरेका होइनन्, ब्रह्माण्डको उत्पति अघि ईश्वरसँग समय नै थिएन किनकी समयको उत्पति महाविस्फोट पछि भएको हो । ब्रह्माण्डको उत्पति, विकास र अन्त्य सम्बन्धि दोश्रो मत परिमार्जन र विकासको जरुरी छ । विज्ञानको खासगरी भौतिक विज्ञानका विकासहरुसँग भौतिकवादले कदम मिलाउनु पर्ने भएको छ । नभए दर्शनले आफ्नो औचित्य गुमाउने छ । खासगरी सामान्य सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तसँग माक्र्सवादी दर्शनको तादात्म्यताको जरुरी छ ।

दर्शनशास्त्रको दोस्रो प्रश्नमा जाऔँ ।
हाम्रो मस्तिष्कले कसरी काम गर्दछ ?
पदार्थ र चेतना मध्ये प्राथामिक कुन हो ?
लेनिनको निम्न भनाई हेरौं । पदार्थ भनेको वस्तुगत यथार्थलाई बुझाउने त्यो दार्शनिक भाव हो जुन मानिसलाई उसको अनुभूतिमा दिइएको हुन्छ, र जुन हाम्रो अनुभूतिबाट स्वतन्त्ररुपमा अस्तित्वमा रहन्छ, तर जसको हाम्रो अनुभूतिले प्रतिलिपि बनाउँदछ, फोटो खिच्दछ र चित्रण गर्दछ ।

लेनिनको उक्त परिभाषा अपूर्ण छ । अगाडीको भाग ठिक छ तर पछाडिको भागले पदार्थको सम्पूर्ण परिभाषा गर्दैन । लेनिनको पाला सम्म स्थुल अवस्थाको पदार्थको मात्र परिभाषा भएको थियो । जुन महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको देन थियो । सूक्ष्म वस्तुको अध्ययन भइसकेको थिएन जुन हाम्रो मस्तिष्कले अनुभूति गर्दैन, प्रतिलिपि बनाउँदैन, फोटो खिच्दैन र चित्रण गर्दैन । त्यो काम क्वान्टम सिद्धान्तले गर्दछ । सुक्ष्म जगतमा अध्ययनबिना स्थुल जगत्को सही अध्ययन हुनै सक्दैन ।
भौतिक विज्ञानमा क्रान्ति पुस्तकका लेखक लूई डी ब्रोग्ली भन्दछन् जुन दिन विज्ञानमा चुपचाप क्वान्टमको प्रवेश भएको थियो, त्यसै दिन हाम्रो मानवीय विज्ञानको प्रगतिको दिशाले वास्तवमै सही मोड लिएको थियो । त्यस दिन शास्त्रीय भौतिक विज्ञानको विशाल र भव्य भवनको जगसमेत हल्लिएको थियो । तर, त्यस बेला यो कुराको कसैलाई पनि स्पष्ट रुपमा अनुभव भएको थिएन । बौद्धिक जगत्को इतिहासमा यति ठूलो उथल पुथल धेरै कम भएको छ । आधुनिक समाजको आधार विज्ञान हो र विज्ञानको आधार क्वान्टम सिद्धान्त ।अहिलेका वैज्ञानिकहरुको चुनौतिपूर्ण कार्यभार स्थुल जगत्को अध्ययन गर्ने सामान्य सापेक्षताको सिद्धान्त र सुक्ष्म जगत्को अध्ययन गर्ने क्वान्टम सिद्धान्तलाई एकिकरण गर्नु हो । हाम्रो दर्शनले त्यसको विकाससँग कदम मिलाउनु पर्नेछ ।

अर्को पक्ष यो ब्रह्माण्डमा अस्तित्वमा पदार्थ मात्रै छैन । उर्जा पनि छ । अन्तमा सबै वस्तु उर्जामा रुपान्तरण हुन्छ । उर्जा पनिमहाविस्फोट सँगै उत्पति भएको हो । भौतिकशास्त्री मिचियो काकू दिमागको भविष्य भन्ने पुस्तकमा भन्दछन् सजिव वनस्पति र प्राणीहरुमध्ये बोट विरुवाहरुको दिमाग हुँदैन, केवल तापक्रम र सूर्यको प्रकाशको मात्र प्रतिक्रिया जनाउदछन्, प्रथम तहको मस्तिष्क हुने सरिसृपहरु , दृतिय तहको मस्तिष्क हुने स्तनधारी जनावहरु र तृतिय तहको मस्तिष्क भएको मान्छे भनेर वर्गिकरण गर्दछन् । अरु सबै भन्दा मानव मस्तिष्कको पृथक गुण हो भविष्यकोबारे सोच्न सक्नु । आफ्नो जीवन, छोराछोरी र नाती नातिना वा केही शताब्दी पछि सम्ममात्रै होइन अरबौं वर्ष पछि ब्रह्माण्डको अन्त्य वा बहु ब्रह्माण्डकोबारेमा पनि सोच्न सक्दछ । मान्छेको कल्पनाशिलता असिमित छ ।

प्रकृति र चिन्तन पछि हामी मानव समाजको बारेमा छलफल गराैँ  ।

कुनै जमानाको मामुली प्राणी मान्छे आज किरा फट्याँंग्रा,चार खर्ब चराहरु र २६अर्ब कुखुरा पछिको सबै भन्दा धेरै पौने आठ अर्ब जनसंख्या भएको प्राणी हो । जहाँ नब्बे करोड गाईहरु, एक अर्ब भन्दा बढी बाख्राहरु र ७० करोड सँुगुरहरु छन् ।घरपालुवा जनावरहरु मध्य मान्छेको संख्या कुखुरा पछि दोस्रोमा पर्दछ । दुई खुट्टाले हिड्नु, औजारको प्रयोग, आगोको प्रयोग र संरक्षण, भाषाको विकास र अन्त्यमा सामूहिकता जसले पशु जगत्बाट अगल बनायो ।

आजको मानव जाती जसलाई होमो सेपियन्स (बौद्धिक मानिस) भनिन्छ, लगभग सत्तरी हजार वर्ष अघि पूर्वि अफ्रिकाबाट संसार यात्रामा निस्किएको हो ।जसलाई पहिलो भूमण्डलिकरण भनिन्छ । कुनै समय यस पृथ्वीमा होमो सेपियन्स भन्दा बाहेक अन्य प्रजातीका मान्छेहरु पनि थिए भनिन्छ । जस्तो होमो इरेक्टस, होमो नियण्डरथल, होमो डेनिसोभन आदि । अन्य प्रजातीका मान्छेहरु लोप कसरी भए ?

अन्य प्रजातीका मान्छेहरुलाई नर संहार गरेर बचेको शुद्ध जाती हो अहिलेको होमो सेपियन्स या अन्य प्रजातीको वर्णशंकर रुप हो ? इतिहासकार युभल नोहा हरारीको प्रश्न हो यो । के हामी सबै अफ्रिकन हौंँ ? के हामी सबै आप्रवासी हौंँ ? त्यसो भए पहिलो नेपाली को हो ? इतिहासकार टोनी जोसेफले जस्तै हामी पनि प्रश्न गर्न सक्दछौंँ ।

लगभग ५८ हजार वर्ष शिकार तथा भोजन संग्रहको क्रममा बिताए पछि बाह्र हजार वर्ष अघि एउटा क्रान्ति भयो । गहुँको खेति र बाख्रा पालन सँगै हालको इरानको जाग्रोस उपत्यकाबाट कृषि युगको शुरुवात । त्सपछि स्वतन्त्र रुपमा र अनुकरण गर्दै संसारभर फैलियो । घुमन्ते जीवनको अन्त्य र स्थायी बसोबास । नीजि सम्पतिको उदय । महिला र पुरुषका विचमा पहिलो श्रम विभाजन । पशुपालन, खेतिपाती र बच्चा हुर्काउने काममा घरेलु दासीको रुपमा महिला । यस्तो छ पहिलो ठूलो क्रान्तिको प्रतिफल । दास प्रथा शुरु हुनु अघि नै महिला दासी भई । आजको महिला उत्पिडनको जरा बाह्र हजार वर्ष लामा छन् ।

५४०० वर्ष अघि राज्यहरु देखा परे, ३७७० वर्ष अघि बेबिलोनका राजा हम्बुरावीले पहिलो लिखित संविधान जारी गरे हम्बुरावी संहिता भनेर । आजका सबै संविधानहरु हम्बुरावीको संहिताकै विकसित रुपहरु हुन् । प्राकृतिक दर्शन सँगै धर्म र देवताहरु, स्वर्ग र नर्कको रचना गरियो । अनि जातीहरुको पनि । मध्य युग धार्मिक अन्धताको युग रह्यो । धर्मले विज्ञानमाथि शासन मात्रै गरेन विज्ञानको विकासलाई पनि अवरुद्ध पार्यो । पोल्याण्डमा कोपर्निकशलाई, इटलीमा ग्यालिलियोलाई र बेलायतमा डार्विनलाई चर्चले दमन गर्यो ।

अरस्तुको पृथ्वी केन्द्रीत सिद्धान्तले पश्चिममा दुई हजार वर्षसम्म आधिपत्य जमाएको थियो जबसम्म कोपर्निकश आएनन् । जीवहरुको उत्पति ईश्वरले गरेका होइनन् प्राकृतिक छनौटको तरिकाबाट भएको हो भन्ने खोजलाई डार्विनले लामो समयसम्म लुकाएर राख्नु पर्यो जबसम्म वैज्ञानिक वालेसको खोज अगाडि आउने चुनौति आएन । पाँचसय वर्ष अघि वैज्ञानिक क्रान्ति भयो जसले प्रथम औद्योगिक क्रान्तिको आधार तयार पार्यो । वाष्प इञ्जिन र रेलमार्गको शुरुवात गर्दै । माक्र्सवाद प्रथम औद्योगिक क्रान्तिको उपज हो ।दोस्रो औद्योगिक क्रान्ति विद्युतीकरण र विशालमात्राको वस्तु उत्पादनको साथमा भयो । तेस्रो औद्योगिक क्रान्ति जसलाई कम्प्युटर अर्थात् डिजिटल क्रान्ति भनिन्छ ।

विख्यात अर्थशास्त्री, योजनाकार, लेखक र वक्ता जेरेमी रिफ्कििन आफ्नो पुस्तक शून्य सीमान्त लागत समाजमा लेख्छन् पहिलो औद्योगिक क्रान्तिले दास र भूदासको अन्त्य गर्यो । दोस्रो औद्योगिक क्रान्तिले नाटकिय रुपमा कृषि र शिल्प श्रमलाई संकुचित बनायो । तेस्रो औद्योगिक क्रान्तिले निर्माण तथा सेवा उद्योगहरु र ज्ञान क्षेत्रको धेरै ज्यालादारी व्यवसायिक श्रमलाई समाप्त गर्दैछ । पूँजीवाद जसलाई सर्वकालिक र शाश्वत जस्तो मानिन्थ्यो कार्ल माक्र्सको ऐतिहासिक खोजले मरणशिल छ भन्ने प्रमाणित गर्यो । अब त्यो दिन नजिक आउँदैछ । म यहाँ फेरी रिफ्कििनकै लामो उद्दरण उल्लेख गर्न चहान्छु ।

यहाँ फेरी हामी पूँजीवादको मुटुमा हुने अन्तिम विरोधाभाससँग आमने सामने छौं । यो प्रणालीको चालक शक्ति अधिक उत्पादन हो, जुन बढ्दो थर्मोडायनामिक प्रभावकारिताले ल्याएको हो । यो प्रक्रिया नयाँ, अधिक उत्पादक प्रविधिहरु ल्याउने निर्मम प्रतिस्पर्धाको रुपमा आइरहेको छ , जसले आफ्ना वस्तुहरु र सेवाहरुको उत्पादन लागत र मूल्य ग्राहकहरुलाई लोभ्याउने गरी घटाउनेछन् ।

यो अन्तिम रेखामा पुग्न नसक्दासम्म प्रतिस्पर्धाले गति लिने कार्य जारी राख्दछ, जहाँ अधिकतम दक्षता प्राप्त हुन्छ र उत्पादकत्व शिखरमा पुग्दछ । त्यो अन्तिम रेखामा प्रत्येक अतिरिक्त एकाई उत्पादनको सीमान्त लागत लगभग शून्य हुन्छ । जब त्यो अन्तिम रेखा पार हुन्छ, वस्तुहरु र सेवाहरु लगभग निःशुल्क हुन्छन्, नाफा सुक्छ, बजारमा सम्पतिको आदान प्रदान बन्द हुन्छ र पूँजीवादी प्रणालीको मृत्यु हुन्छ । अहिले हामी डिजिटल युगमा छौंँ । यसका केही विशेषताहरु संक्षेपमा उल्लेख गर्दैछु ।

१. मानव जाती

(पौने आठ अर्ब मान्छे )पहिलो पटक इन्टरनेटको सञ्जालमा जोडिएका छौंँ । यसका परिणामहरु भयाबह छन् । मान्छेहरु मात्रै होइन वस्तुहरु पनि इन्टरनेटको सञ्जालमा जोडिएका छन् । जसलाई वस्तुहरुमा इन्टरनेट भनिन्छ । संसारको सबैभन्दा ठूलो व्यापार इन्टरनेट माफर््त हुन्छ । संसारको सबैभन्दा ठूलो पुस्तक पसल र पुस्तकालय इन्टरनेटमा छ । संसारको सबैभन्दा धेरै विद्यार्थी पढ्ने विश्व विद्यालय इन्टरनेट हुँदैछ । संसारका अर्बौ मान्छेहरु आप्mनो ज्ञान एक अर्कालाई साझा गर्दैछन् । मानव आश्यकताका हर वस्तुहरु इन्टरनेट मार्फत् प्राप्त गर्दैछन् । यदी वाष्प इञ्जिनले मानव जातिलाई मुक्त गरेर पूँजीवादी बजारमा भौतिक स्वार्थ खोज्न लगायो भने वस्तुहरुको इन्टरनेटले मानवजातिलाई बजार अर्थतन्त्रबाट मुक्त गरेर सहयोगि समुदायमा अभौतिक साझा हित खोज्न लगाउँदछ ।

२. थ्रिडि प्रिन्टिं
यसको पूर्ण प्रयोग आइसकेको छैन । यसले मानव जीवनमा अकल्पनिय परिणाम ल्याउने छ । वैज्ञानिकहरुले सोचे जस्तै अगाडि बढे मानव मस्तिष्क बाहेक अंगहरु मुटु समेत थ्रिडि प्रिन्टिंले उन्पादन गर्नेछ । किसानहरुले अहिले सम्म बारीमा उत्पादन गर्दै आइरहेको खाद्यान्न पनि थ्रिडि प्रिन्टिंबाट उत्पादित हुनेछ । माटो र सूर्यको प्रकाशबिनै अन्न उत्पादनको प्रयास जारी छ ।

३. जेनेटिक इञ्जिनियरिगं
मानव जाती पहिलो पटक अर्बौं वर्षदेखि चाल्स डार्विनले विकास गरेको प्राकृतिक छनौटको सिद्धान्तबाट अगाडि बढीरहेको छ । यसमा आमा बाबुबाट हस्तान्तरित वंशानुगत गुण र वातावरणीय प्रभाव मुख्य हुन्छ । जेनेटिक इञ्जिनियरिगं माफर््त मानव जाती पहिलो पटक आफुले चाहे जस्तो हुने भएको छ । जसमा आनुवंशिक गुणहरु पनि परिवर्तन हुनेछन् ।
४. मानव मस्तिष्कलाई इन्टनरनेटसँग जोड्नु
हाम्रो शरिरमा त्यस्ता सेन्सरहरुको जडान गर्ने जसले हाम्रो मस्तिष्कलाई संसारको विख्यात सर्च इञ्जिन गुगलसँग जोड्दछ त्यसपछि के होला हामी अहिले अनुमान पनि गर्न सक्दैनौं ।

५. मेसिनद्धारा मान्छेको विस्थापन
कार्ल माक्र्सले दासताबाट मुक्त गरिएका र खेतबाट धपाइएका आफ्नो नाममा कुनै सम्पति नभएको मान्छेहरुलाई सर्वहारा भनेका थिए । अहिले मेसिनले मान्छेलाई विस्थापित गर्दैछ । इ डिस्कभरी त्यस्तै एउटा खोज हो जसले संसारका विख्यात ५०० जना वकिलहरुले गर्ने काम एकैजनाले गर्न सक्दछ । अब मान्छे अन्तिम श्रमिक हुने खतरा बढ्दैछ ।भोली दश करोड मान्छेले गर्ने काम एक लाख मेसिनले गर्नेछ । संसारका मजदूरहरु एक हौं भन्ने नाराको ठाँउमा संसारका रोबोटहरु एक होऔंँ भन्ने नारा पक्कै लाग्नै छैन ।

६. कृतिम बौद्धिकता
मानव निर्मित मेसिनले मान्छेले भन्दा धेरै सोच्न सक्ने । आर्टिफिसियल इन्टेलिजेन्सका प्रभावहरु देखिन थालिसकेका छन् । मानव जातीको लागि यो एउटा टाउको दुखाइको विषय बनेको छ ।

७. चालकबिहिन गाडीहरु अहिले नै सडकमा गुड्न थालिसकेका छन् ।

हवाई जहाजहरु, पानी जहाजहरु र रेलहरु त्यसरी नै चल्ने छन् ।स्वचालित गाडीहरु मानव चालित गाडीहरु भन्दा ९६ प्रतिशत कम दूर्घटना हुने विश्वास गरिन्छ । किनकी अधिकांश दूर्घटना मानविय गल्तिको कारण हुने गर्दछ । सेन्सरबाट चल्ने गाडीहरुलाई थकाई लाग्दैन, तिब्र प्रतिस्पर्धा गर्दैनन्, मादक पदार्थ सेवन गर्दैनन् आदि । जब इञ्जिनमा खराबी आँउछ सेन्सरले सूचित गर्दछ । सेन्सरहरु २०१६ मा केही करोडको संख्यामा थिए, अहिले अर्बको संख्यामा छन् सन् २०३० सम्म खर्बको संख्यामा पुग्छन् भनिन्छ । जसले मानव जीवनको हर क्षेत्रलाई प्रभावित पार्दछ । विज्ञान र प्रविधिको कारण समाज यति तीव्र रुपमा परिवर्तन भइरहेको छ कि अब के हुन्छ कसैले भन्न सक्दैन ।

८. जिवाश्मा इन्धनको युगको अन्त्य हुँदै

अहिले विश्वमा प्रचलित उर्जाको प्रमुख श्रोत जिवाश्मा इन्धनमा आधारित उर्जाको युग अन्त्यको नजिक आई पुगेको छ । यसको श्रोत सिमित हुनु, अत्यन्तै महँगो हुनु, मुट्ठीभर धनाढ्यको प्रभुत्व हुनु र वातावरणीय दृष्टिले घातक हुनु आदि कारणले जिवाश्मा इन्धनको युग सकिन लागेको हो ।

सौर्य उर्जा, हवाई उर्जा, जल विद्युत उर्जा र अन्य वातानुकूलित हरित उर्जाले त्यसको ठाँउ लिदँैछ । जस्तो प्रतिवर्ष सूर्यबाट पृथ्वीमा एक लाख ६७ हजार ८ सय एक्जाजूल उर्जा प्राप्त हुन्छ भनिन्छ । जसमध्ये हालकोे बोट विरुवाहरुले तीन हजार एक्जाजूल र मान्छेहरुले मात्र पाँचसय एक्जाजूल वर्षेनी खपत गर्दछन् । जुन एक पटक जडान गरेपछि निशुःल्क रुपमा उपलब्ध हुन्छ । जब उर्जा लगभग निःशुल्क उपलब्ध हुन्छ, यातायात पनि निःशुल्क हुन जान्छ । जब यातायात निःशुल्क हुन्छ लजिष्टिक निःशुल्क हुन जान्छ ।

जेरेमी भन्छन् निःशुल्क शब्दका दुई अर्थ हुन्छन् मूल्यमा निःशुल्क र दुर्लभताबाट स्वतन्त्र । जब वस्तु वा सेवाका अतिरिक्त एकाइहरुको उत्पादनको सीमान्त लागत लगभग शून्य हुन्छ, तब यसको अर्थ हो प्रचुरताद्धारा दुर्लभता विस्थापित हुन्छ । विनिमय मूल्य अर्थहीन हुन्छ, किनभने सबैले यसको लागि भुक्तान नगरी आफूलाई चाहिने धेरै सुरक्षित गर्न सक्दछन् । वस्तुहरु र सेवाहरुको उपयोग र साझेदारी मूल्य त हुन्छ, तर विनिमय मूल्य हुँदैन ।  माक्र्सले भनेका छन् कि विनिमय मूल्य भित्र नै पूँजीपति वर्गको नाफा (अतिरिक्त मूल्य) लुकेको हुन्छ । जब नाफा सकिन्छ पूँजीवादको प्राण सकिन्छ ।

९. अन्य परिवर्तनहरु
शुरुमा कोठाभरि अटाउने कम्प्युुटर थियो । पछि डेस्कमा राख्ने कम्प्युटर जसलाई डेस्कटप कम्प्युटर भनियो । त्यसलाई काखमा राख्ने कम्प्युटर ल्यापटपले विस्थापित गर्यो । त्यसलाई पनि हत्केलामा राख्न मिल्ने कम्प्युटर पामटपले विस्थापित गर्यो र स्मार्पफानेको बिगबिगी छ । अब त्यो पनि झन्झटिलो हुँदैछ र आउँदैछ वैरेवल इन्टरनेट । जुन कपडामै जडान गरिएको हुन्छ । अब त्यस्तो चश्माको आविस्कार हुँदैछ जसले आँखाको सुरक्षा मात्रै गर्नेछैन । अनुहारको अध्ययनको आधारमा पहिचान गर्नेछ र दोभासेको काम पनि गर्नेछ ।
शुरुमा पैसाको रुपमा प्रयोग गरेको वस्तु हो जौ । त्यसपछि धातुको प्रयोग । धातुपछि धातुको सिक्का । अनि कागजको मुद्रा । अहिले डिजिटल मुद्रा जसलाई विटक्वाइन भनिन्छ । खासमा यो कुनै मुद्रा नभएर तथ्यांकहरुको स्थानान्तरण हो । भनिन्छ कि अहिले संसारमा दैनिक प्रचलनमा रहेको ७० खर्ब डलर मुद्रा मध्य मात्र १० खर्ब भौतिक मुद्रा (कागजी मुद्रा ) छ । अरु सबै तथ्यांकहरुको स्थानान्तरण हो ।जुन संसारको एक कुनाबाट अर्को कुनामा केही सेकेण्डभित्र पठाउन सकिक्छ ।
रोजा लक्जम्वर्ग पछिको कम्युष्टि आन्दोलनको सर्वाधिक चर्चित महिला लेखिका एक्काइसौं शताब्दीको समाजवादमा भन्छिन् विश्व अहिले निरन्तर एउटा एकल कार्यको एकाईको रुपमा, एउटा भूमण्डलीय पूँजीको बजारको रुपमा क्रियाशिल छ ।
उत्पादन प्रक्रियाको अन्तराष्टियकरण भएको छ ।
विश्वको कूल गार्हस्थ उत्पादन घटिरहेको छ ।
रोजगारी घटिरहेको छ ।
जहाँ सस्तो श्रम र रोजगारी छ उद्योग त्यतै सरीरहेका छन् ।
धनी र गरीबका विचको खाडल इतिहासमै भयाबह अवस्थामा छ ।
८ जना संसारका धनाढ्यसँग जति सम्पति छ तीन अर्ब पचास करोड मान्छे सँग उत्तिनै सम्पति छ । विश्वको यो प्रणाली अब यसरी नै अगाडी जान सक्ने अवस्थामा छैन ।

हिजो अठार घण्टामा गर्न सकिने काम मेसिनको सहयोगले दुई घण्टामै गर्न सकिने भएपछि अबको मान्छेलाई समस्या पर्ने छ कि फूर्सदको समय कसरी व्यतित गर्ने ? मानव जातिको आशावादी इतिहासका लेखक विश्व चर्चित इतिहासकार रटर ब्रेगम्यान प्रश्न गर्दछन् । के उनको प्रश्न हाम्रो पनि प्रश्न होला ?

बाह्र हजार वर्ष अघि हामी सबै शिकार तथा भोजन संग्रहको क्रममा जंगलमै डुल्थ्यौं । तर आज कोही देश धेरै विकसित र कोेही कम विकसित भए किन ? जीव वैज्ञानिक जारेड डायमण्डले बन्दुक, जिवाणु र स्पात भन्ने पुस्तकमा सोधे जस्तै हामी पनि प्रश्न गर्ने भएका छन् । स्वीट्जरल्याण्ड विकसित भयो तर त्यो सँगै हामी अगाडी बढ्न सकेनौं किन ? बेलायतले दुई सय वर्ष सम्म भारतलाई उपनिवेश बनायो तर भारतले बेलायतलाई उपनिवेश बनाएन किन ? यस्ता प्रश्नहरुको सही उत्तर हामीले पनि दिनु पर्ला ।

 

अब के गर्ने?
यति लामो छलफलको एउटै उद्देस्य हो कि जमाना अनुसारको पार्टी बनाऔंँ । यदी परिस्थिति अगाडि बढेको छ तर हाम्रो सोच्ने तरिकामा बदलाव आएन भने हामी अगुवाई गर्न असक्षम हुनेछौंँ । केवल पछि पछि मात्र लाग्नेछौं । गतिशिल समयले हामीलाई फर्केर बस्ने छैन ।

अग्रदस्ता
अग्रदस्ता शब्द सुन्दा जति कर्णप्रिय छ अन्तर्यमा त्यति नै घातक । कार्यदिशा चुनावी अवलम्बन गर्ने तर पार्टी अग्रदस्तावाला बनाउने मिल्दैन । अग्रदस्ता भन्ने वित्तिकै कोही त पश्चदस्ता हुनै पर्दछ । अन्ततः तहगत संरचना र मनोविज्ञान समेत मेटाउने लक्ष्य राखेको पार्टीले विभाजनकारी कार्यविभाजन गर्नु हँुदैन । बोल्शेविक ढाँचाको पार्टी निर्माणको तरिकाबाट पनि सिक्नु पर्दछ जहाँ ख्रुश्चोभ,गोर्भाचोभ र यल्सितनहरुको जन्म हुन्छ । हामीलाई फलामे अनुशासनवाला सैनिक ढाँचाको पार्टी चाहिएको हो कि स्वेच्छिक अनुशासनवाला जागरणमुखि पार्टी चाहिएको हो ।

एउटा साझा उद्देस्यमा समर्पित, उन्नत चेतनाद्धारा लैस, गोपनियताको होइन पारदर्शिताको सपथ खाने स्वचालित ढाँचाको पार्टी चाहिएको हो ।आफ्नो पार्टी निर्माणमा जोड दिउ तर एकता र ध्रुविकरणको काम पनि नछोडौं । हाम्रो पार्टीको मस्तिष्क अत्यधिक चलायमान भयो तर अन्य अंगहरु पक्षघात जस्तो हुने गरेका छन् । यसले राम्रो परिणम ल्याउँदैन । मस्तिष्क सँगै शरिरका सबै अंगहरु सूचारु रुपले चल्नु पर्दछ । पार्टीका सम्पूर्ण अवयवहरु २४ वटै जनवर्गिय संगठनहरु र मोर्चा संगठहरु, ३२ वटै विभागहरु ठीक संरचनामा हुनु पर्दछ र ती सबै परिचालित हुनु पर्दछ ।
कमिटीहरु कमिटी प्रणाली खाने हुनु हुँदैन । वैठक बस्न नसक्ने कमिटी बनाउनै हुँदैन । संस्थागत निर्णय भन्दा बाहिर निर्णय गर्नु हुँदैन ।

समाज विज्ञानको आँखाबाट बृद्ध, प्रौढ र युवाहरुको मेल भएको कमिटी प्रणाली नै नेतृत्वको निरन्तर श्रृंखला तयार गर्ने सही विधी हो । यसको अवलम्बन गर्नैपर्दछ । प्रत्येक एकजना पार्टी सदस्य बराबर २० जना जनता हुनको लागि हामीसँग भएको तीन लाखबाट बढाएर सात लाख पुर्याउने लक्ष्य राख्नु पर्दछ । हाम्रो पार्टीलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन तीस लाख भोटर थप्ने लक्ष्य राखौँ । यसको उचित विभाजन जनवर्गिय संगठनहरु र मोर्चा संगठनहरुको विचमा गरौं ।

तत्काल चारवटा काममा फोकस गरौँ ।
वैचारिक काम, राजनैतिक काम, संगठनात्मक काम र उत्पादन तथा रोजगारीको काम ।
पार्टीमा स्थायी पार्टी स्कूल निर्माण गरौं । तहगत हिसाबले पार्टीको कक्षामा सहभागी हुने कुरालाई अनुशासनको विषय बनाऔं । योग्यता, प्रतिबद्धता र आवश्यकताको आधारमा दक्ष संगठन बनाऔं । सकभर दोहोरो जिम्मा नदिऔँ । कसैलाई पनि जिम्माविहिन नबनाऔंँ ।

पार्टीलाई माओवादी केन्द्र होइन बहुकेन्द्रबाट मुक्त गरौंँ ।
उत्पादनको महाअभियान शुरु गरौं । दुई वर्षका दशलाखलाई रोजगारी दिने लक्ष्य राखौँ ।
विगतको वस्तुनिष्ठ समिक्षा गरौँं । संसारमा कुनै बेला कम्तिमा ३६ वटा देशमा कम्युनिष्ट शासन थियो अहिले पाँचवटा देशमा खुम्चिएको छ किन ? विगतमा समाजवादी सत्ताहरुको असफलताको अनेकौंँ कारणहरु होलान् ।

मुख्यगरी क्रान्तिबाट आएका पार्टीहरु र क्रान्तिपछि बनेका सत्ताहरु नोकरशाही संयन्त्रमा चल्नु जनवादको सही प्रयोग नहुनु नै हो । बहुसंख्यको लागि खडा गरिएका संयन्त्रहरु नै आफै अल्पतन्त्रमा फेरिनु, जनताबाट उठेका तर जनताबाट कट्दै गएका एउटा अभिजात वर्गको रुपमा कम्युनिष्ट नेताहरु फेरिनु, जनतासँगको सम्बन्ध वास्तविक भन्दा पनि औपचारिकतामा सिमित हुनु, अनेकौं हत्कण्डा प्रयोग गरेर चुनाव जित्नु तर खास अर्थमा जनताको सेवा नगर्नुले जनताबाट पार्टी र नेता कार्यकर्तालाई अलग गर्यो ।

यहाँ स्पष्ट हुनु पर्दछ कि समाजावाद माथिबाट पठाई दिने व्यवस्था होइन तलैबाट निर्माण गरिने व्यवस्था हो । एउटा आधुनिक समाजवादी पार्टी, एउटा क्रान्तिकारी , गैर अभिजातीय पार्टीको राजनीतिक संस्कृति निर्माण हुनुपर्दछ, जसले आफ्ना कार्यक्रमलाई नोकरशाही ढंगबाट समाजमाथि वा स्यंम आफूमाथि समेत लाद्ने प्रस्ताव राख्दैन ।

आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी कार्ययोजना अगाडी सारौं ।
यो कसरी ?यसको लागि घातांकीय बक्रहरुको प्रयोग सही हुन सक्दछ । एउटा काल्पनिक प्रस्ताव कसैले गर्यो कि कसैलाई । मानौंँ पहिलो विकल्पमा एकमुष्ट दश लाख लिने कि पहिलो दिन रु एक त्यसपछि एक महिनासम्म हरेक दिन त्यो रमको दोब्बर ।

एक जना हौसिएर एकमुष्ट दश लाख हात पारे र हिसाब पनि गर्न थाले पन्ध्रौंँ दिनम दोब्बरको प्रक्रिया १६,३८४ मात्रै भएको पैसा जब एकतिसौं दिनमा पुग्यो एक अर्ब नाघ्यो । त्यो भनेको दश हजार लाख हो । हाम्रो पार्टी पनि एकमुष्ट बनाउने होइन घातांकीय बक्रहरु जस्तै बनाउने हो ।
यसको लागि सबै जनवर्गिय संगठनहरुलाई कोटा प्रणाली लागु गरौं ।

१. शिक्षामा सुधार र रोजगारीको अवसर सृजनाको नारा सहीत ५ लाख नयाँ सदस्य बनाउने विद्यार्थी संगठनले ।
२. योग्य नेतृत्व विकास र दक्ष उत्पादक बनाउने गरी ५लाख नयाँ युवा भर्ति अभियान
३. कृषिमा रुपान्तरण र सहकारी अभियानको उद्देस्य सहीत ५ लाख किसानहरुलाई संगठित गर्ने ।
४. जीवन अवस्थामा सुधार र स्वरोजगारको सृजना सहीत ३ लाख मजदूरहरु संगठित गर्ने ।
५. राज्यका हरेका निकाय र सार्वजनिक क्षेत्रमा ५० प्रतिशतको नारा सहित महिलाहरुको अभियान चलाउने ।

६. सम्पूर्णखाले विभेदको अन्त्यको उद्देस्य सहीत दलितहरुको संगठन बनाउने ।

केन्द्रीय समिति वैठकमा प्रस्तुत लिखित विचार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया