गाडी पाए पछि गाँउ फर्किए वादी समुदाय

सुर्खेत : कर्णाली प्रदेश सरकारसँग पाँच बुँदे सहमति गरेका कर्णालीका वादी समुदाय घर फर्केका छन्। खेतीयोग्य जमिनको माग राखेर १७ दिनदेखि आन्दोलनरत कर्णाली प्रदेशका वादी समुदाय प्रदेश सरकारसँगको सहमति पछि पनि फर्कने गाडी भाडा नभएर गाँउ फर्कन सकेका थिएनन्।

दैलेखको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले दैलेखसम्म लैजाने गाडीको प्रबन्ध गरिदिए पछि वादी समुदाय घर फर्किएका हुन्। दैलेख तल्लो डुङगेश्वरका अर्जुन वादीले दुल्लुका मेयरले गाडीको व्यवस्था गरेपछि घर फर्किन लागेको बताए ।

‘प्रदेश सरकारले समस्या समाधान गर्न पहल गर्छु भनेको छ। त्यही भएर आन्दोलन छोडेर घर फिर्ता हुँदै छौं’ अर्जुनले भने। उनका अनुसार कालिकोटका वादीहरू भोलि सोमबार गाँउ फर्किने छन्।

वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गर्ने, १० लाखसम्मको बिना ब्याज ऋणको व्यवस्था गर्ने, वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने लगायत पाँच बुँदे सहमति भएको छ।

सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्र र वादी संघर्ष समितिका तर्फबाट हिक्मत वादीले हस्ताक्षर गरेका छन्। फागुन १० गते देखि खेतीयोग्य जमिनको माग गर्दै कर्णाली प्रदेशका वादी समुदाय मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका थिए।

तपाईको प्रतिक्रिया