जाजरकोट, २५ फागुन । १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । यो वर्ष जाजरकोटका गाउँ गाउँमा यो दिवश मनाइयो । महिलाहरुले धुमधामका साथ नारी दिवश मनाए । ६ घण्टा काम, ६ घण्टा आराम र ६ घण्टा मनोरञ्जन पाउनुपर्ने माग सहित गरिएको आन्दोलन सफल भएको उपलक्षमा आयोजना हुन थालेको यो दिवस नेपालमा मनाइन्छ ।
अघिल्ला केही बर्ष सम्म यो दिवस जिल्लामा सिमित गराइन्थ्यो । अब भने गाउँ गाउँमा नारी दिवश मनाउन थालिएको छ । जिल्लाका सात वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजक, संयोजक, व्यवस्थापक, सहभागी सबै महिला हुन्छन् । कम्तिमा बर्षको एक दिन भएपनि महिलाहरुको सामूहिक कार्यक्रम हुन्छ ।
‘महिला सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नारा सहित यो दिवस मनाइएको छ । पालिकाले धुमधाम र व्यवस्थित तवरले दिवश मनाए । खेलकुद, रचनात्मक, सृजनात्मक कार्यक्रम, प्रतिप्रस्र्धात्मक कार्यक्रम गरी दिवश मनाइएको छ । जिल्लामा सिमित हुने कार्यक्रम अब गाउँ गाउँमा हुन थालेको छ । स्थानीय तह बनेपछि कम्तिमा यो कार्यक्रम ठाउँ ठाउँमा हुन लागेको छ । सानो हुने कार्यक्रम ठूलो बनेर गएको छ । ‘पहिला कार्यक्रम कता हुन्थे के हुन्थ्यो थाहा हुन्नथ्यो, अब त हामी आफै कार्यक्रम गर्छौं,’ भेरी नगरपालिकाकी शारदा शर्माले भनिन् । जिल्ला सम्म कार्यक्रम आउन नपाउनेहरु पालिकाको कार्यक्रममा सहभागी हुन सजिलो भएको उनको भनाई छ ।
पहिले पहिले जिल्लामै बस्नेहरुले कार्यक्रम तय गर्दथे । पछिल्लो समय स्वयंम महिलाहरुले कार्यक्रम तय गर्ने र सहभागि हुने गरेका छन् । भेरी नगपालिका उपप्रमुख भावना भण्डारीले महिला आफै कार्यक्रम तय गर्ने र त्यसै अनुसारको कार्यक्रम गरेर नारी दिवस मनाउने गरिएको बताईन् । पालिकाले पनि प्राथमिकताका साथ दिवश मनाउनका लागि बजेट विनियोजन गर्दै आएको पनि भण्डारीले बताईन् ।
यस्तै बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा शाहीले पालिकाले अन्र्तराष्ट्रिय महिला दिवस मनाएको बताईन् । उनले भनिन्, ‘गाउँ घरका महिलाहरुको उपस्थित भई महिला दिवस मनाएका छौँ ।’ महिलाहरुले आफ्नो अधिकार मात्र नभई कर्तव्य समेत भुल्न नहुने बताईन् । यस्तै नलगाड नगरपालिकामा घैटो फोर खेलकुदको आयोजना गरी महिला हिंसा बन्द गरौँ, लगायतका नारा सहित महिला दिवस मनाएको नगरपालिका प्रवक्ता राममाया हमालले जानकारी दिईन् । जिल्लामा अन्य स्थानीय तहले समेत धुमधाम तरिकाले दिवस मनाएका छन् । भेरी नगरपालिकाले लोकगीत, घैटोफोर र कुर्सी खेलको आयोजना गरी महिला दिवस मनाएको नगरपालिका महिला विकास शाखा प्रमुख विपना पौडेलले जानकारी दिईन् ।
महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न सक्दैन ः खत्री
कर्णाली प्रदेश सभा सदस्य कौशिलावत्ती खत्रीले महिला हिंसा अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भेरी नगरपालिकाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य खत्रिले महिला हिंसाका घटनाहरु न्युनिकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताईन् ।
उनले महिला हिंसाका घटनाले हाम्रा दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै महिला हिंसाको अन्त्य बिना समाज सभ्य र सुरक्षित बन्न नसकेको गुनासो पोखिन् । महिला हिंसाका घटना न्युनिकरण हुन नसक्नु ज्यादै दुःखको कुरा भएको उनको भनाई छ । स–साना बालबालिकाहरूको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्युनिकरण हुन नसकिरहेको र कतिपय घटनाका अपराधीहरू कानुनको दायरामा आउन नसकेकोमा उनले दुःख व्यक्त गरिन् ।
‘महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छ’
महिला उद्यमी शिला नेपालीले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताईन् । भेरी नगरपालिकाद्धारा आयोजित कार्यक्रमा बोल्दै ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।
संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् । ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ, त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो’ उनले भनिन् ।
संविधानमा व्यवस्था भए पनि कार्यान्वयनको तहमा चुनौती रहेको उनको भनाई छ । बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने समेत महिला अधिकारकर्मीहरुको भनाई थियो ।
















































। २५ फाल्गुन २०७७, मंगलवार