विद्यालयमा शिक्षक नियमित नआउँदा सक्लाका विद्यार्थीले लगाए ताला

जाजरकाेट, २३ फागुन । जिल्लाको बारेकोट गाउँपालिका ९ सक्लाको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । सक्ला स्थित दिपेन्द्र माद्यामिक विद्यालयका विद्यार्थीहरुले शिक्षक विद्यालयमा नआउने, आएका शिक्षकले नियमित नपढाउने, स्कुल प्रशासन फितलो भएको भन्दै तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका ईकाई कमिटी अध्यक्ष सुदिप शर्माले जानकारी दिए ।

उनले भने, ‘विद्यालयमा कोही पनि शिक्षक आउँदैनन्, कोही सदरमुकाम तिर कोही राजधानी तिर गएकोले विद्यालयको पठनपाठन बन्द हुदाँ तालाबन्दी गरेका हौँ ।’ ‘शिक्षकलाई नियमित पढाउनुहोस भन्दै आएका थियौँ, तर उहाँहरुले सुन्नु भएन अनि विद्यालय खाली पारेर बाहिर जानुहुन्छ त्यसैले हामीले विद्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरेका छौँ’, उनले थपे ।

विद्यालयका शिक्षक बाहिर जाँदा विद्यार्थीहरुको पढाईमा समस्या भएको एक जना विद्यार्थीले बताए । उनले भने, ‘परीक्षा नजिक आईसकेको छ, सरहरु कहाँ हो कहाँ ? खै हाम्रा सरको ध्यान कता गएको छ ?’ बारेकोट गाउँपालिका भित्रका विद्यालयमा यस्तै समस्या रहेको अनेरास्ववियू क्षेत्र नं १ का ईन्चार्ज धुर्व आचार्यले बताए ।

उनले भने, ‘बारेकोट गाउँपालिका भित्रका विद्यालयलाई हामीले पटक पटक खबर गर्दा पनि वेवास्ता गर्दै आएका छन, शैक्षिक स्थिति निकै नाजुक बनेको छ ।’ सरकारी पक्षको अनुगमन फितलो भएका कारण सरकारी विद्यालयमा समस्या भएको उनको भनाई छ । यता विद्यालय प्रशासनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

No photo description available.

तपाईको प्रतिक्रिया