
जाजरकोट, १ फागुन । विद्यार्थीलाई कुटपिट तथा गालीगलौज गर्ने बारेकोट गाउँपालिका – ३ पहाडा मुल्सामको दीपेन्द्र माद्यामिक विद्यालयमा कार्यरत शिक्षक दीर्घराज रोकायले बिद्यार्थी सामु माफी मागेका छन् ।
गत महिना – शिक्षक रोकायले जाँडरक्सी सेवन गरी बिद्यालय जस्तो पवित्र स्थानमा बिद्यार्थीलाई कुटपिट, तथा जातिय रुपमा स्थानीयहरुलाई गालीगलौज र धम्की दिएको अडियो बिभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो ।
उक्त बिषयलाई लिएर यो महिनाको अघिल्लो साता माघ १८ गते, बिभिन्न पार्टीका बिद्यार्थी भातृ संगठन, स्थानीय सम्वन्धीत निकाय, दलित अधिकारकर्मी, अन्य सरोकारवालाहरुको उपस्थितीमा शिक्षक रोकायले बिद्यार्थी सामु माफी मागेका हुन । आगामी दिनहरुमा यस्तो कार्य गरेमा सम्बन्धीत निकायहरुबाट कडा कारबाही गर्ने वडाध्यक्ष मनबहादुर शाहीले बताए ।
शिक्षक रोकायको पहिलो हर्कत भएकोले उनलाई माफी दिएको दलित अधिकारकर्मीहरुको भनाई छ । यस्तो हर्कत अब नगर्ने, नगराउँने भनि बिद्यालयको निर्णयमा दस्तखत समेत गरेका थिए । दस्तखत गर्दै शिक्षक रोकायले भने, “ मान्छेको जिन्दगीमा कहिले भुल हुन्छ ।
मेरो जिन्दगीमा पनि यो एउटा भुल हो । आगामी दिनहरुमा यस्तो कार्य कहिले पनि गर्ने छैन ।” उनी दीपेन्द्र माद्यामिक विद्यालयका नेपाली बिषयका राहत शिक्षक हुन् ।


















































। १ फाल्गुन २०७७, शनिबार