पाँचकाटिया सडक निर्माणको एघार बर्ष : सडक छ बस गुड्दैनन्

फाइल तस्वीर पाँचकाटिया सडक
जाजरकोट २५ माघ । केहि दिन अघि पर्यटकीय क्षेत्र साङ्टा गुफा हेर्नका लागि फोर्स गाडी रिर्जभ गरेर सुन्दर नेपाल संस्थाको आयोजनामा सेवा प्रवाह अनुगमन गर्न नागरिक समाजका अध्यक्ष सहित अन्य ७ जनाको टोली गयो । भेरी नगरपालिका २ रिसाङ्ग खोलाको उकालोमा विग्रेको सडक त्यही माथि धुलैधुलो । अप्ठेरो सकडका कारण झन्डै दुर्घटनामा परिसकेको उनीहरु सवार गाडी चालकको होसियारीका कारण जोगिए पनि उनीहरु निकै हैरान भएका थिए ।

उकालोमा गएका उनीहरुले उक्त सडकमा निकै सास्ती खेप्नुपरेको थियो । सडक निर्माण भएको ११ वर्ष भन्दा वढी समय भएपनि सडकको अवस्था विग्रेको देखेपछि उक्त गाडीमा सवार सवै गाडीका यात्रुहरु सरकार र सरोकारवालाहरु प्रति निकै आक्रोसित देखिन्थे । एउटा सानो गाडी पनि निर्धक्क गुड्ने सडक वनेको छैन भने पाँचकटियामा वस कहिले पुग्ला ? गाडीमा सवार यात्रु एवम् पत्रकार बालकुमार शर्माले प्रश्न गर्दै भने ।

सडकको अवस्थाको विजोग हुँदा पनि यसलाई सुधार गर्ने र गतिलो सडक निर्माण गर्ने तर्फ सरकार र सरोकारवालाहरुले ध्यान नदिएको जस्तो देखिएको शर्माले वताए । सडकको विग्रेको अवस्थाका कारण आफुहरुले निकै सास्ती वेहोर्नु परेको भन्दै उनी लगाएत अन्य यात्रुहरुले दुखेसो पोखे । बालकुमारले मात्र होइन यो सडकमा मोटरसाइकल र साना गाडीमा यात्रा गर्ने जो कोहिले पनि सडकको अवस्था देखेर सधैं जिल्लाका जनप्रतिनिधि, सडक विभाग र स्थानीय प्रशासन तथा सरकारको कडा आलोचना गर्ने गरेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

उनले निर्माण भएको ११ वर्ष वितिसक्दा पनि वर्षाका समयमा तीन चार महिना सडक वन्द हुने गरेको र सडक निर्माण र मर्मतका नाउँमा करोडौँ रकम सकिईसकेको वताए । २०६६ असारको महिनामा सदरमुकाम खलंगा देखि पाँचकटिया सम्मको १९ किलोमिटर सडक निर्माण सकिएको भनिएपनि अहिले सम्म सडकको अवस्था जीर्ण र वेहाल हुनु दुखको कुरा भएको शाहले वताए । उनले सडक निर्माणको क्रममा गलत रेखांकन गरेका कारण सडक सधैं विग्रने गरेको वताए । गारराङसी देखि माथिको सडकको रेखाङकण परिवर्तन नगरे सम्म अर्व रुपैयाँ खर्च गरेपनि सडकको अवस्था सुधार हुन नसक्ने स्थानीयवासीहरु वताउछन् ।

सडक निर्माणको वेला केहि नेता र प्राविधिकको स्वार्थ र गल्तीले दश वाह्र वर्ष सम्म सडकको अवस्था विग्रिरहेको र जनताले दुख पाउने काम नरोकिएको स्थानीयहरु वताउँछन् । केहि स्थानमा सडकको रेखाङन परिवर्तन नगरे आउने वर्षात देखि नै गारराङसी देखि माथिको सडक क्षेत्रमा ठुलो पहिरो जान सक्ने खतरा समेत रहेको स्थानीयहरु वताउँछन् । जनताले यात्राका नाउँमा वर्षेनी सास्ती वेहोरेपनि सडक सुधार गर्ने र खलंगा पाँचकटिया सम्मको सडकमा सरर गाडी गुडाउने तर्फ कुनै जनप्रतिनिधि कर्मचारी र सरकारी निकायले कुनै वास्ता नगरेको स्थानीय सपना वलीले बताईन । उनले राज्यको यत्रो लगानी हुदा पनि अहिले सम्म पाँचकटिया सम्म वस जान नसक्नु र सडकको अवस्था सुधार नहुनु निकै दुखको कुरा भएको बताए ।

तत्कालीन जिल्ला विकास समिति, खलंगा गाउँविकास समिति,ड्रिल्प कार्यक्रम, सडक विभाग लगाएतका विभिन्न निकायहरुले धेरै रकम खर्च गरेर वनाएको सडकमा कहिले वस गुड्छ भनेर आफुहरुले कुरिरहेको स्थानीय प्रदिप खड्काले बताए । उनले नेताहरुले एक दुई वर्षमै कालोपत्रे गरेर देखाउछु भनेर वाचा गरेपनि अहिले सम्म सडक उस्तै विग्रेको अवस्थामा रहेको वताइन् ।

१२ वर्ष दुई महिना अघि जाजरकोट सदरमुकाम खलंगामा गाडी पुगेपछि जिल्लाको रमनीय एवम महत्वपुर्ण पर्यटकीय क्षेत्र पाँचकटिया हुदै जुम्ला जोड्ने सडक निर्माणको काम पनि तिव्र गतिमा अघि वढेको थियो । सदरमुकाम खलंगामा मोटरवाटो पुगेको चार वर्ष नपुग्दै पाँचकटियामा पनि सडक निर्माणको काम लगभग सम्पन्न भयो ।

पाँचकटियामा सडक निर्माण भइसक्यो भनेर स्थानीय र नेताहरु उफ्रिन लागेको भन्डै ११ वर्ष पुगे पनि सडकको वेहाल अवस्था सधै उस्तै मात्र छैन वर्षेनी जोखिपुर्ण वन्दै गएको छ । यस पटकको संघीय संसद र प्रदेश संसदमा जाजरकोटवाट ७ जना सांसदहरुले प्रतिनिधित्व गरिरहेका छन् तर जिल्लाका महत्वपुर्ण सडकहरुको सुधार र स्तरोन्नतिको लागि खासै गतिलो पहल समयमै हुन नसकेको जनताको व्यापक गुनासो छ ।

तपाईको प्रतिक्रिया