जाजरकोट । खानेपानी तथा सिंचाई मन्त्री मणिचन्द्र थापाले प्रचण्डका कारण विप्लव जंगल पसेको आरोप लगाएका छन् । मंगलबार जाजरकोट सदरमुकाम खलंगामा आयोजित नेकपा जाजरकोटको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमको सम्वोधन गर्दै मन्त्री थापाले प्रचण्डका दुई जिव्रे कुराले विप्लव जंगल पसेको आरोप लगाएका हुन् । उनले भने, ‘प्रचण्डले दुई मनको कुरा गर्ने यता पनि ठिक्क उता ठिक्क पार्ने र आफ्नो योजनालाई अगाडि नबढाउने कारणले नेकपा माओवादीका सबै साथी बाहिरिएका हुन ।’
अहिलेको नेकपा विवाद पनि प्रचण्डका कारणले भएको समेत थापाले बताए । ५ बर्षका लागि नेपाली जनता बाट बनेको सरकारलाई ढाल्ने र विदेश षडयन्त्र लगाएर आफु प्रधानमन्त्री बन्ने प्रचण्डका कारण प्रधानमन्त्रीले संसद भंग गरेको थापाको भनाई छ । प्रचण्ड — नेपाल समुहको साथीहरु को प्रधानमन्त्री को बन्ने ? भन्दै टोपी ठाडो पारेको र त्यो समुह पनि नटिक्ने थापाले बताए ।
‘ओली समुह नै सक्कली नेपाल कम्युनिष्ट पार्टी हो । यसलाई चिन्न अवको ५÷६ महिना पछि नेपाली जनतामा परिणाम आउने छ थापाले थपे ।’ प्रचण्ड— नेपाल समुहका रामबहादुर थापा पनि प्रचण्डले पार्टी डुबाउने भएकोले अहिले नै ओली समुहमा आएको थापाले जनताको ध्यानाआकर्षण गराएका थिए ।
यस्तै नेकपा जाजरकोटका ईन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले जनताको दुःख सुखको साथी ओली सरकार बनेको बताए । उनले भने, ‘देशको सीमा बचाउने देखि भुकम्पले भत्काएका हजारौँ भवन निर्माणमा लागेको सरकारलाई ढाल्न खोज्नु प्रचण्ड—नेपाल समुहको मुर्खता हो ।’ देशले ओली सरकार नै चाहेको छ यसलाई बचाउने काम आम जनताको काँधमा आएको श्रेष्ठको भनाई छ । कम्युनिष्ठको काम अव जनताको विचमा विकास देखाउने, रोजगारी दिने, जनतालाई आत्मानिर्भर बनाउने काम गर्नु हो तर अहिले केही प्रतिगमनकारी समुहका कारण फेरी जनताको विचमा आउनुपरेको बताए ।
ओली समुहका अधिकांश नेताहरुले अव वाँकी रहेको पार्टीको नाम र चिन्ह आफुहरुको हातमा आउने बताएका छन् । उनीहरुले सुर्य चिन्हको निर्माण केपी ओलीले गरेकोले सुर्य चिन्ह आफुहरुले नै पाउने बताएका हुन । प्रचण्ड — नेपाल समुहले जति दावी गरेपनि उनीहरुको पुरानै चिन्ह रहेको उनीहरुको भनाई छ ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा, केन्द्रिय सदस्य, गोविन्द्र जंह शाह, डम्वरबहादुर सिंह, लालबहादुर महतारा, चन्द्रप्रकाश घर्ती, पूर्व माननीय रत्नप्रसाद शर्मा, कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्री लगायत विभिन्न जनवर्गीय संगठनका नेताहहरुको उपस्थिति रहेको ओली समुहका विद्यार्थी नेता प्रकाशमान सिंहले जानकारी दिए । #भेरीमालिका दैनिक#
















































। २२ पुष २०७७, बुधबार