सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको छ । सगरमाथाको उचाइ  ८६ सेन्टिमिटर बढेको पाइएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।

नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका  थिए । ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो ।

विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

अहिलेसम्म विश्वले सगरमाथाको उचाइ ८ हजार ८सय ४८ मिटर  मान्दै आएको छ । यो मापन सन् १९५७ मा भारतको जिएल गुलाटी कम्पनीले गरेको थियो । तत्कालिन शेरबहादुर देउवा सरकारले सगरमाथाको उचाइ मापन गर्न २५ करोड रुपैयाँ विनियोजन पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया