आठ महिनापछि सल्यानका सबै विद्यालय खुले

सल्यान : कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका सल्यानका विद्यालय आठ महिनापछि खुलेका छन्।

नेपाल सरकारले सहज सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो। त्यसैका आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सल्यानका इकाइ प्रमुख लाल बहादुर घर्तीले बताए।

यही मंसिर १५ गतेदेखि नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएका नगरपालिकाका वनगाड कुपिण्डे नगर शिक्षा शाखा प्रमुख चक्र बहादुर रावतले बताए।

विद्यार्थीको संख्याका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको रावतको भनाइ छ।

खुलेका विद्यालयहरुमा अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई पत्राचार गरिएको शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लीला बहादुर बबालले बताए।

नगरपालिकाकाभित्रका सबै प्रधानाध्यापकको संयुक्त बैठकबाट तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने निर्णयबमोजिम नगरपालिकाका सबै विद्यालय खुलेका उनले जनाए।

तपाईको प्रतिक्रिया