दरबन्दी १४ जनाको भए पनि दैलेख स्वास्थ्य कार्यालमा १ मात्रै डाक्टर

दैलेख : ७ जना विशेषज्ञ डाक्टरसहित १४ जनाको दरबन्दी भएको स्वास्थ्य सेवा कार्यालय दैलेखमा ५ वर्षदेखि स्थायी दरबन्दीका रूपमा एक जना मात्रै छन्।

दरबन्दी भए पनि डाक्टर नभएपछि ८ जना डाक्टर करारमा राखेर सेवा दिँदै आएको कार्यालयका प्रमुख डा.निरञ्जन पन्तले बताए। धेरै सुविधा थप गरिए पनि दरबन्दीअनुसार विशेष डाक्टर जिल्लामा नगएपछि जनताले सहजै स्वास्थ्य सेवा पाउन नसकिरहेका व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले बताए।

संघीयतापछि पनि जिल्लामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएपछि दैलेखका नागरिक स्वास्थ्य सुविधाका लागि सुर्खेत तथा नेपालगन्ज धाउनुपर्ने बाध्यता छ। दुल्लु अस्पतालमा पनि दरबन्दीअनुसार डाक्टरहरू उपलब्ध छैनन्। तीन जनाको दरबन्दी रहेको यहाँ पनि १ जना मात्र छन्। अस्पतालमा १५ शैया छन्।

यस्तै एकै ठाउँबाट सेवा दिने उद्देश्यले कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा रहेका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद गाभेर स्वास्थ्य सेवा कार्यालय भनी विस्तार गरेको लामो समय भए पनि दैलेखमा त्यसको कार्यान्वयन भने हुन सकेको छैन।

तपाईको प्रतिक्रिया