जर्मनी बाट एक नेपालीको राष्ट्रपतिलाई प्रश्न : महिला नै राष्ट्रपती, महिला माथी नै दुर्व्यवहार किन ?


कमल महतारा
सर्केगाड २, रिप हुम्ला ।

सम्माननीय राष्ट्रपति ज्यू ,
लस्करौं सुरक्षा गार्डहरु राखेर सुख सयल र विलासी जीवन बिताइरहेकी तपाईलाई हालखबर कस्तो छ भनेर सोध्नुको कुनै अर्थ रहदैन । रेसम किराको कोयो भित्र बस्ने कोलोनी सायद सधै सुरक्षित र सुखी नै रहन्छ । त्यसैले, म हजारौं नेपाली आमा, दिदि र बहिनीको खबर पाउनका लागि मात्र यो पत्र हजुरलाई लेखेको छु । मलाई थाहा छ, तपाईकै परिवेशमा रहेका नेपाली चेलीको पिडा र व्यथा त हजुर सामु पुग्दै पुग्दैनन् र पुगे पनि ति पिडा र व्यथाहरु कथामै सिमित रहन्छन् तर पनि प्रदेश बाट पठाएको यो पत्र हजुर सामु पुग्छ कि भन्ने सानो आशाका साथ यो पत्र लेखेको छु ।

समयको व्यस्तता र स्थितिका कारणले सामाजिक संजाल संग नजोडिएको अलि धेरै नै भयो । तिहार नजिकिदैँ गर्दा मेरो मनमा अघिल्लो वर्षको दिदीको सप्तरंगी टिकाको याद आयो र यसपल्टको तिहारको चहलपहल थाहा पाउन बिहानै उठेर फेसबुक खोले । फेसबुकको सबैभन्दा पहिलो पोस्टमा थियो गोठाटारमा ७ वर्षिया बालिका बलात्कृत ।

तिहारको माया र दिदीबहिनीको सप्तरंगी टिकाको यादले खोलेको फेसबुकको सुरुवातमै यो समाचार देख्दा मन उथलपुथल भयो, अनि टिका लागाउन तयार रहेकी हजारौं नेपाली चेलीको हात खाली रहन्छ कि भन्ने डर मनमा छायो । सप्तरंगी टिका किन्न बहिनी चोकमा निस्कदाँ सुरक्षित साथ प Þm र्किन्छिन् कि नाइँ भनेर डर लाग्यो । मेरो पल्लो घरकी सानी बहिनी तल्लो गाउँका दाजुलाई टिका लगाउन जाँदा सुरक्षित साथ पुग्छिन कि पुग्दैनन् भन्ने चिन्ता लाग्यो ।  राष्ट्रपति ज्यू, तपाईका सामाजिक संजालमा छोरी, चेलीहरुका बलात्कार र हत्याका घटनाहरु आउँछन् कि आउदैनन् थाहा छैन । तर मेरा सामाजिक संजालमा बलात्कार र हत्याका समाचारहरु मात्र आउँछन् ।

(बुबा द्वारा छोरी बलात्कृत ।
(९ वर्षिया छात्राको आफ्नै शीक्षकद्वारा बलात्कार ।
(दाजुको मिलेमतोमा बहिनीको सामुहिक बलात्कार पछि हत्या
(७ वर्षिया बालिका आफ्नै काकाबाट बलात्कृत ।

राष्ट्रपति ज्यू, मेरा फेसबुकका भित्ताहरु यस्तै यस्तै समाचारले भरिन्छन । तपाईको दुई वर्षको कार्यकालमा मात्रै ४ हजार ४ सय ७४ जना चेलीहरु बलात्कृत भएकी छिन् । जसमध्ये १३ जना बालिकाहरुको बलात्कारपछि हत्या भएको छ । लोकतान्त्रिक, गणतन्त्र नेपाल, जहाँ महिला राष्ट्रपति छिन र दिनैपिच्छे बलात्कारका घटना घट्छन । महिला राष्ट्रपतिको कार्यकालमा छोरीचेलीहरु सुरक्षित हुन सकेका छैनन् । विद्यालय गएकी छोरी साँझ घर फर्किन्छे कि फर्किन्न थाहा छैन । घाँस काट्न गएकी सानी सुरक्षितका साथ फर्किन्छे कि फर्किन्न थाहा छैन । आफै सोच्नुस त राष्ट्रपति ज्यू ? यो भन्दा लाजमर्दो र घिनलाग्दो कुरा अरु केहि हुन सक्छ?

महिला नै राष्ट्रपति भएको देशमा छोरी चेलीहरु सुरक्षित नहुनाले तपाई माथी नेपाली जनताको ठाडो प्रश्न उठेको छ ( के नेपालको राष्ट्रपति महिला नै हुन? यदी तपाई साँच्चै महिला हुनुहुन्छ भने खै सजाय (फाँसी) बलात्कारीलाई ? तपाई पो लावालस्कर सुरक्षा गार्डको बिचमा हुनुहुन्छ, खै अरु छोरीचेलीको सुरक्षा ? खै कहाँ छ लोकतान्त्रिक नेपालमा नारीको स्वतन्त्रता ? के अबका छोरीचेलीले यसरी नै बुबा, दाजु, काका, गुरुहरुबाट डराएर बस्नु पर्ने हो ? यदि छोरीचेलीहरु पुरुष संग सधैँ यस्तै डर र सन्त्रासमा बस्ने हो भने भोलिका छोरीचेलीहरुमा पुरुष फोबिया हुन्न भन्न सकिन्न ।

त्यसैले राष्ट्रपति ज्यू, नेपाललाई स्विजरल्याण्ड बनाउनु पर्दैन, मात्र नेपाललाई नयाँ नेपाल बनाई आफुलाई महिला साबित गर्न बलात्कारीलाई फाँसी दिने कानुन बनाउ । छोरीचेलीलाई स्वतन्त्रता र सुरक्षा देउ। लोकतान्त्रिक, गणतन्त्र नेपालको नाम बचाऊ । त्यसपछि तपाईको जयजकार मात्र होइन, तपाईको नाम शिलालेख र ईतिहासका पानामा लेखिने छ । हैन भने छोरीचेलीहरुले तपाईको मुखमा थुक्न र सडक, चोक र गल्लीहरुमा तपाईको पुत्ला जलाउन बाध्य हुनेछन् ।
                                    लेखक ः महतारा हाल जर्मनीमा छन ।

तपाईको प्रतिक्रिया