
कला अधिकारी
कचनकवल १ झापा, नेपाल
नेपालको एकात्मक राज्य व्यवस्था अर्थात जहानिय राजतन्त्र अन्त्य सँगै वर्तमान गणतन्त्र स्थापनाको दौडधुपमा लाग्दा लाग्दै तपाईंले देशको लागि आफ्नो अमूल्य ज्यान तिलाञ्जली दिनुभएको नी १८ वर्ष लागेछ । तपाईं लगायत ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दछु । बाबा तपाईंले आफ्नो परिवार समाजभन्दा माथी उठेर देशमा बढिरहेको अन्याय अत्याचारको सत्य सँगै समानता र समावेशिताको लागि १० वर्ष जनयुद्ध मा होमिएर आफ्नो अमूल्य ज्यान देशको लागि अर्पण गर्नुभयो तपाईंप्रति उच्च सम्मान छ ।
१० बर्षे जनयुद्ध रहर होइन आवश्यकता थियो पार्टीको विधि र विचार पनि सर्वहारा वर्ग केन्द्रीत थियो तर आज देश संघीय गणतन्त्रसम्म आइपुग्दा हिजो भिन्नै सपना देखाउने नेतृत्व भनाउँदाहरु हिजोको धरातल बिर्सिएर कुर्सीको लड़ाईमा व्यस्त छन । तिनै सहिद घाइते बेपत्ता योद्धाहरुको त्याग बलिदान ले त्यो ठाउँ मा पुगेर सबैले भुलेका छन ।
तर जतिनै दुःख लागे पनि यो कुरा मा खुसी छु बाबा तपाईं जस्तो असल इमान्दार र राष्ट्रप्रेमीहरुको बलिदानले गर्दा आज देशमा आम नागरिकले अधिकार पाएका छन । तर तपाईंहरुलाई उचित सम्मान छैन तर इतिहासले तपाईंहरूलाई अमर अजर बनाएको छ र नेता भनाउदाहरुले सहिदहरुलाई उचित सम्मान दिनैपर्छ ।
बाबा तपाईं हाम्रो साथमा नभए पनि तपाईंले जीवन मा धेरै कुरा सिकाएर जानुभयो आखिर मानवता हुनुको अर्थ पनि यही नै होला तपाईंले देखेका सारा सपना पूरा गर्न मा तल्लीन छु । तपाईं नभए के भो त तपाईंको त्यो सच्चा कम्युनिष्ट सोच म मा पनि सधैं जिवन्त रहिरहनेछ ।
बाबा तपाईंले देखेको नयाँ नेपाल निर्माण त भइसक्यो विडम्बना एउटा राजा फालिए देखि यहाँ हजारौं श्रीपेच बिनाको राजाहरुको जन्म भएको छ । देशको लागि बलिदान दिने मात्र होइन सर्वहारा वर्गहरु अझै अन्धकारमय जीवन बाँचिरहेका छन ।
धिक्कार छ यस्ता खोक्रो राष्ट्रवादी नेताहरुलाई मलाई विश्वास छ त्यो तपाईंको सच्चा विचारले एकदिन अवश्य मुर्तरूप लिनेछन । खबरदार नेताहरु तिम्रो हिजोको कम्युनिष्ट विचारलाई कुन झोला मा लुकाएर आज खोक्रो कम्युनिष्टको नाटक मा सर्वहारा वर्गलाई झुक्याई रहेका छौ । तिमीहरूलाई अलिकति नी छुट छैन नत्र सारा सहिद घाइते र बेपत्ता योद्धाहरु र उनको परिवार को आँसु को भेल ले बगाउने छ । फेरि पनि बाबा तपाईं प्रति धेरै धेरै माया र उच्च सम्मान र सधैं तपाईंले देखाएको बाटो मा हिड्ने प्रतिबद्ध जाहेर गर्दछु ।
नेपाली समाज मा विदुवा नारी भएर बाँच्न धेरै कठीन परिस्थिति मा अनेकौं संघर्ष गरेर सन्तान को उज्वल भविष्य निर्माण गर्न अवरात्र खट्ने मेरी आमा लाई सलाम छ । संघर्ष के हो ? आमा बाट सिकेर हरेक दिन बुबा को सपनालाई साकार पार्न संघर्ष गरिरहेको छु ।
कहिलेकाहीं अनुभूति हुन्छ “बाबा“ शब्द प्रयोग गर्न पाए नी हुन्थ्यो भनेर तर उहाँको सोच विचार सम्झिँदा बलियो बनाउँछ र संघर्ष गर्न सधैं प्रोत्साहन तुल्याउँछ । यहाँ बाट के खबरदार गर्न चाहन्छु भने सहिदको रगत मा कति दिन पौडी खेलेर बाँच्ने नेता हरु बेलै मा नसप्रिए सहिद सन्ततिले छोड्नेवाला छैनन् ।
















































। २४ कार्तिक २०७७, सोमबार