संघर्षको कथा : कक्षा १० मा पढ्दै गर्दा दाउरा बोकेर पढे : ठगेन्द्र लुहार

No description available.

मेरो नाम ठगेन्द्र लुहार हो । मेरो जन्म वि.स.२०३९ साल माघ ५ गते भेरी नगरपालिकाको भेरेमा भएको हो । परिवारको कान्छो छोराको रुपमा वुवा बलवीर लुहार र आमा शुशीला लुहारको कोख बाट एक गरिव परिवारमा जन्मिएँ । मेरो घरमा म भन्दा अघि दुई दाईहरु हुनुहुन्छ । मेरो आमा र वुवाको कोख बाट जन्मिएका हामी तिन भाई शारीरिक रुपमा अशक्त थियौँ ।

हामी दुई दाजुभाई आँखाको समस्याले पिरोलिएको थियौ । एक दाई बोल्न नसक्ने जिव्रोको समस्यामा । सन्तान जन्माएर मर्ने वेलामा खुशी देलान भन्ने सपना बोकेका वाआमाको त्यो खुशीको सपना पुरा हुन सकेन । म दृष्टिविहीन भएकोले सुर्खेतको रामघाटमा रहेको शिखर प्रस्तावित विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पुरा गरे । सुर्खेतको रामघाट बसाईले मेरो जिन्दगीको नयाँ मोड फेरिदिएको थियो ।

No description available.

अर्थात मैले यो समाजमा केही गर्नुपर्छ भन्ने संकल्प बोकको त्यो विद्यालय बाट । परिवारीक आर्थीक अवस्था निकै कमजोर भएका कारण मैले पढाईलाई निरन्तता दिन सकिरहेको थिइन । कहिले विद्यालय नजाने कहिले दृष्टिविहीन भएर पनि काम गरी खानुपर्ने अवस्था आउँथ्यो । साहाराका रुपमा कोही पनि थिएन । आर्थीक अभावले गर्दा सुर्खेतको पढाई छोडेर २०५६ सालमा म जाजरकोटमा आएँ । कक्षा ८ पढाई सकेर पनि आर्थीक अभावले केही समय विद्यालय जाने सोच सम्म गरिन । अनि भगवानको माया साथले मेरो मनमा विद्यालय जाने नयाँ सोच पलायो । विजय माद्यामिक विद्यालय काफलचौरमा कक्षा ८ मा भर्ना भएँ ।

त्यसपछि कसैको ढुंगा बोक्दै, माटो बोक्दै, लड्दै, लड्दै पढाई खर्च जुटाउन सफल भएँ । कहिले लाग्थ्यो म अभागीको जन्म किन भएहोला ? तर किताव नजिक लिएर विश्वका केही सफल व्यक्तिमा जीवनी पनि पढ्ने गथ्र्ये । उहाँहरुको जीवनी बाट केही प्रेरणा लिएर जीन्दगीको बाँकी यात्रा अगाडी बढाउने सोच जागेको थियो ।

सुर्खेत पढ्दा साथीभाईको अपहेलना कमै खेप्नुपथ्र्याे भने, विजय माद्यामिक विद्यालयमा पढ्दै गर्दा म प्रति हेर्ने साथीहरुको सोच नै गलत थियो । अर्थात मलाई दृष्टिविहीन भनेर वेलावेलामा गिज्याईको झझल्को अहिले सम्म ताजै छ । घर परिवार, छरछिमेकीको अपहेलनाले कहिले मृत्यु नै अन्तिम निर्णय हुन्थ्यो तर वेलावेलामा सोच्ने गथ्र्ये । जीन्दगीमा केही गरिखानुपर्छ । विश्वका महान वैज्ञानिक स्टेफन हकिंन जस्ता पुर्ण शारीरिक अशक्त भएका व्यक्तिले विज्ञानका पिता अल्वर्ट आइन्सटाइनले प्रतिवादन गरेको एम . सी. स्क्वाईरको सुत्रलाई समेत प्रतिवादन गरेका थिए । तर मैले धेरै गर्न नसके पनि केही गुर्नपर्छ ।

अर्थात जीन्दगी रुपान्तरणमा सीमामा पुर्याउनुपर्छ भन्ने सोच मनमा खेलाई रहे । कक्षा आठ, नौ र दश विजय मावि काफलचौरमा पढे । २०६२ सालमा मैले एस.एल.सी परीक्षा दिएँ । एस.एल.सी परीक्षा गुड सेकेण्ड डिभिजन बाट पास भएको खबरले मेरो खुसीको सीमा नै रहेन । गरिव,दलित, विपन्न र पिछडिएको परिवारको मान्छेले सेकेण्ड डिभिजनमा एस.एल.सी पास गर्नु भनेको अहिलेको पि.एच .डी. गर्नु सहर थियो । सदरमुकाम खलंगामा पढाई गर्दा, ढुंगा, माटो, काठ छाम्दै, छाम्दै बोक्ने र पैसा कमाई विद्यालयको फ्रि र खाना खर्च जुट्याएका दिनहरु अहिले मेरो मस्तिष्कमा ताजै छन । अर्थात जीन्दगीका छिनछिनमा आउँछन ।

खलंगा झरेको दिनमा ति यादहरुले वरवर आँसु नै खसाली दिन्छन । म एक दृष्टिविहीन भएर होला मलाई जीन्दगी जिउन निकै भारी लागिरहेको थियो । आफै भित्र हिन्तावोधको सिकार भएको थिए । तर हरेक भने कदापी खाइँन । जीन्दगी संघर्ष हो भन्ने मन्त्रलाई मनमा घ्युँ साँचेको जस्तो साँचेको थिए । जीन्दगीका यात्रा निरन्तर अगाडि बढाई रहे । जाजरकोटका तत्कालिन प्रमुख जिल्ला अधिकारी ऋषिकेश निरौला ले मेरा जीन्दगीको संघर्ष देखेर कक्षा ९ मा पढ्दै गर्दा किताव किनिदिएको अहिले पनि मेरो नजरमा नमेटिने छाप छ ।

२०५५ सालमा सुर्खेतको रामघाटमा मलाई पढाउने शिक्षकका संघर्षको कथा सन्दा मलाई पनि दृष्टिविहीन मानिसको रक्षा गर्न मन लाग्यो । आफै सबैको सिकार भएको मान्छे, अरु साथीको कुरा सुन्दा त झनै मन भकानिएर आउँथ्यो । कक्षा १२ मा पढ्दै थिए । आफै नजिकको विद्यालयमा वे्रललीपी माध्यामको शिक्षा बाट जाजरकोटका दृष्टिविहीनहरुका लागि केही गर्ने संकल्प बोके । र निरन्तर यात्रामा दौडिए । गाउँगाउँमा दृष्टिविहीनहरुलाई गाली,बलौज, होच्याएर बोलेको देखेर मेरो जीवन पनि दु ःखको खाडलमा भएको महसुस गर्थे । पछि जिल्लाको भेरी नगरपालिका ६ भेरेमा रहेको लक्ष्मी मा.वि.मा दृष्टिविहीन अपांग स्रोत शिक्षक र स्रोत कक्षाको व्यवस्थापनमा लागिरहे ।

म संग सहयात्रा गर्ने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती, तत्कालिन जिल्ला शिक्षा कार्यालय प्रमुख ललित विक्रम सिंहको देनलाई म जीन्दगीको अन्तिम सम्म पनि सम्झि रहने छु । उहाँहरुको साथले आज मैले जिल्ला भरी रहेको दृष्टिविहीन अपांग व्यक्तिहरुको सेवा गर्ने मौका पाएको छु । विद्यालयमा पढ्ने विद्यार्थीहरु मध्ये जम्मा १४ जना रहेका छन । उनीहरुलाई व्रेललिपी मार्फत ११ जनाले एस.ईई पास गरेका छन ।

No description available.

३ जना अहिले पढिरहेका छन । म अहिले पनि दृष्टिविहीन बालबालिकालाई खोजिरहेको छु । मेरो भविष्य जस्तै सबैको भविष्य उज्जवल बनाउने कोसिस गरिरहने छु । हाल विद्यालयमा नयाँ भर्ना खुलेको छ । जिल्लामा भएका सबैले सम्पर्क गर्न अनुरोध गरेको छु । संवैधानिक अधिकारको पालना गर्न तथा दृष्टिविहीन अपांग संघ जाजरकोटको अध्यक्ष समेत छु ।

अरुलाई शिक्षाको ज्योति छरि रहेको छु । अनि अधिकारका लागि लडिरहेको छु । तपाईको माया साथले अहिले परिवारमा मेरो श्रीमती तथा एक छोराछोरीको मायाले बाँचिरहेको छु । आफु भन्दा बढि माया गर्ने श्रीमती पाएको छु । जसको मायाले मलाई यो संसारमा बाँच्न सजिलो भएको छ । कारण त्यहि सबैको माया , साथ, प्रेरणा र विश्वास नै हो । अहिले स्रोत शिक्षकको तलव खाएको छु । छोराछोरीलाई पढन सजिलो भएको छ । परिवारको समस्या टार्न समेत निकै सजिलो भएको छ । सडक बाट जीन्दगी संघर्षले ठाउँमा आएको छ ।

तपाईहरु पनि जीन्दगीमा केही गर्न सकिदैन भन्ने कुरा तोडिदिनुहोस , जीन्दगी संघर्ष हो संघर्ष गर्न नभुल्नुहोस । हामी दृष्टिविहीन अरुको पनि आफ्नै अधिकार छ । होच्याईका, दविएका र लुकाईएका विभेद विरुद्ध एक जुट हुने मन छ । मलाई सधै सम्झिनका लागि ९८६८२६७५०९ मा सम्पर्क गर्नुहोला । तपाईको माया साथ सहयोग सधै रहने छ ।

              लेखक लुहार अहिले लक्ष्मी मावी भेरेमा कार्यरत छन ।

तपाईको प्रतिक्रिया