
बारेकाेटमा फाेन सेवा नहुँदा गर्भवतीलाई रिफर गर्न समस्या भएकाे : तस्वीर काली थापा
जाजरकोट । स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन । तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेको छैन ।
जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामा समेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो । समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
आग्रह गरेको हप्ता दिन बिति सक्दा सम्म महिना दिनअघि अवरुद्ध भएको फोन सेवा अझै सञ्चालन हुन सकेको छैन । पूर्वी जाजरकोटका नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई लक्ष्य गरी घेत्मामा रहेको स्काई प्रविधिको टावरले काम नगरेको महिना दिन बित्यो । त्यस्त,ै बारेकोट गाउँपालिकालाई लक्ष्य गरी रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन बित्यो ।
पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर बन्द भएको दुई महिनाभन्दा बढी भयो । दैनिक नेटवर्क आयो कि भनी मोबाइल फोन हेर्नमै दिन बितेको धेरै भयो, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे । कि सेवा देऊ कि टावर अन्यत्र सार ? अधिकृत गिरीले भने, “नेटवर्क नदिने टावर राखेर के काम ? टावर मर्मत गर भनेको कसैले सुन्दैन । त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि, त्यहाँ मोबाइलमा टावर नदेखिएको महिना दिन बढी भयो । फोन गर्न गाउँका स्थानीयवासी जन्तेस्थित लेकमा चार घण्टा हिँडेर जाने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए ।
बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिकाभित्रका विभिन्न ठाउँका सम्पर्क गर्न खोजे पनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गुनासो छ । इन्टरनेटको माध्यमबाट सामान्य खबर आदानप्रदान भएपनि सर्वसाधारण भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना बिते पनि तालुकदार कार्यालय, नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् । जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सबैमा एकैपटक खराबी आएको छ ।
निजी प्रदायक कम्पनी एनसेलले समेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारण सञ्चार सेवाबाट मर्कामा परेका हुन् । जाजरकोटका गाउँगाउँमा निर्माण गर्ने भनिएको सातवटा जिएसएम (नमस्ते) को टावर तीन वर्षदेखि अलपत्र परेका छन् । यता नेपाल टेलिकमले भने सबै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिइरहेको छ ।
आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनी झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिए । जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्या समाधान गर्ने बताउँदै आएको छ । बुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ ओलमा जिप दुर्घटना भए पनि सो ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए ।
अहिले अग्ला डाँडामा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ । “दुर्घटनास्थल आए फोन अफ गर्नुपर्ने, डाँडामा गए मात्र फोन हुन्छ”, उनले भने । सदरमुकाम खलङ्गामा समेत सबै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गुनासो छ । इन्टरनेटमा समेत सोही समस्या रहेको सर्वसाधारण पीडा पोख्छन् । गाउँमा बिरामी हुँदा होस् वा अन्य कुरा गर्नसमेत महिना दिनदेखि बन्द भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । #रासस#
















































। २३ आश्विन २०७७, शुक्रबार