चन्दननाथ मन्दिरबाट चोरिएका दुई मूर्ति भेटियो, तीन जना पक्राउ


जुम्ला : २०७३ मंसिर ११ गते राती जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएका दुई मूर्ति फेला परेको छ। करिव पाँच वर्ष पहिले हराएका मूर्ति सोमबार फेला परेका हुन्‌। चोरी भएका दर्जनौ बहुमूल्य मूर्तिमध्ये प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान सवा १० बजे चन्दननाथ नगरपालिका १० बोहोरा गाउँस्थित सुशील विष्टको खेतमा दुई मूर्ति फेला पारेका हुन्‌।​​

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार खेतकोे आलीमा सुकेको घाँसको थुप्रोमा बेरिएको अवस्थामा मूर्ति भेटिएका हुन्‌। उनले भने, ‘दुईथान मूर्तिसँगै उक्त घटनामा संलग्न तीन जना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ।’

चन्दननाथ नगरपालिका १० निवासी ३२ वर्षीय सुशील विष्ट, तातोपानी गाउँपालिका ८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने २८ वर्षका जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै वर्ष २३ का सुदीप रावललाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको छ। २०७३ साल मंसिर ११ गते राती मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले समेत जुम्ला पुगेको थियो।

तपाईको प्रतिक्रिया