कोरोनाको कारण पार्टी प्यालेस तथा रेष्टुरेण्ट व्यवसाय संकटमा

कोरोना भाइरस संक्रमणका कारण पार्टी प्यालेस तथा रेष्टुरेण्ट व्यवसाय पाँच महिनाभन्दा धेरै समयसम्म हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेलस्थित बगैंचा रेष्टुरेण्ट, बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकेपछि लोकल कुखुरा, टर्की, कडकनाथ, कालिजलगायत पाल्न थालिएको बताए ।

बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरालगायतका चराहरु पाल्न थालिएको उनले बताए । करिब ५ करोड रुपैयाँ लगानीमा सञ्चालित बगैंचाले रेष्टुरेण्ट सेवा, पार्टी प्यालेसलगायतको सेवा उपलब्ध गराउँदै आएको थियो । २५ जनाले रोजगारी पाउँदै आएको रेष्टुरेण्टमा अहिले २ जना मात्रै कार्यरत छन् । रेष्टुरेण्टमा पालिएका कुखुरा, टर्की, कालिजलगायतका खपत सहज स्थिति भएपछि आफ्नै रेष्टुरेण्टमा गर्ने योजना रहेको पनि दाहालले बताए ।

रेस्टुरेन्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी प्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । पार्टी प्यालेस व्यवसायीहरुको छाता संगठन ‘नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ’ले लकडाउन सुरु हुनुभन्दा पहिले २०७६ चैत ७ गतेदेखि नै देशभरका व्यवसाय बन्द गर्न व्यसायीहरुलाई परिपत्र गरेको थियो ।

चैत ११ गतेदेखि लकडाउन भयो र साउन महिनामा लकडाउन खुकुलो बनाइएपनि पार्टी प्यालेसहरु खुल्न सकेनन् । वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय पनि हो । तर, ती महिनामा पार्टी प्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् । पार्टी प्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको क्षेत्रको यो व्यवसायमा अर्बौ रुपैयाँ नोक्सानी भइसकेको बताए ।

उपत्यकालगायत अधिकांश जिल्लामा दोस्रो पटक निषेधाज्ञा जारी भएपछि सम्पूर्ण व्यवसायीको मनोबल खस्किएको पनि उनले बताए । अबको तीन चार महिना यसैगरी बन्द भएमा उपत्यकामा मात्रै २ सय भन्दा बढी व्यवसायीहरु विस्थापित हुने पाण्डेले बताए । महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायीरुपमा कार्यरत छन् । लकडाउन भएयता तीन महिनासम्म सबै कर्मचारीलाई पुरै तलब दिएकोमा त्यसपछि भने अधिकांश व्यवसायीले आधा तलब पनि मुस्किलले दिन सकेको प्रवक्ता पाण्डेले बताए । उनले व्यवसाय गर्न सक्ने स्थिति नरहेपछि अब व्यवसायलाई केमा परिणत गर्न सकिन्छ भन्ने चिन्तामा व्यवसायीहरु पुगेको बताए ।

७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेकोमा सरकारले किस्ता र ब्याज रकम व्यवसाय पुनः सञ्चालनमा आएपछि मात्रै तिर्ने व्यवस्था मिलाउन समेत महासंघले अपिल गरेको बताए । अहिलेको स्थितिमा व्यवसाय सञ्चालन गर्दापनि र नगर्दा पनि व्यवसायीहरु जोखिममा रहेको पनि पाण्डेले बताए ।

कोभिडकै बीचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरिदिनुपर्नेमा पाण्डेले जोड दिए । महासंघमा अवद्ध रहेका ४५ जिल्लाका ७ हजार भन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीसहित सबै जिल्लाका व्यवसायीहरु कसरी भाडा तिर्ने र कर्मचारीको व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको बताए । सरकारले अन्य व्यवसायलाई जस्तै सञ्चालन गर्न दिएर प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनको भनाई छ ।  #काराेवार दैनिक#

तपाईको प्रतिक्रिया