४५ वर्षपछि चल्यो गोली भारत–चीन सीमामा

काठमाडौं । भारत–चीनको सीमामा ४५ वर्षपछि गोली हानाहान भएको छ । सोमबार पूर्वी लद्दाखको पेन्गाङ झीलस्थित दक्षिणी किनारामा भारत र चीनबीच गोली चलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

चिनियाँ सेनाका वेस्टर्न थियेटर कमाण्डका प्रवक्ताका अनुसार भारतीय सैनिकले सोमबार पेन्गाङ त्सो को दक्षिणी किनारामा लाइन अफ कन्ट्रोल (एलएसी) पार गरेर घुसपैठको कोशिश गरेको आरोप लगाए । उनले एलएसी पार गरेर हवाई फायर गरेको आरोप लगाएका हुन् ।

चिनियाँ सेनाका अनुसार चिनियाँ सेना भारतीय सेनासँग वार्ता गर्न अगाडि बढिरहेका बेलामा भारतीय सेनाले शेनपाओ इलाकामा वार्निङ शट अर्थात् हावामा गोली चलाएका थिए ।

भारतीय सेनाले भने चिनियाँ सेनाले हिलटप क्षेत्रमा घुसपैठ गरेपछि चेतावनीस्वरुप वार्निङ शट दिइएको बताएको छ । आफ्नो कार्वाहीपछि चिनियाँ सेना पछि हट्न वाध्य भएको भारतीय सेनाले जनाएको छ ।

विभिन्न स्रोतको प्रयोग गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले भने दुवैतर्फ गोली हानाहान भएको बताएका छन्।समाचार एजेन्सी एएनआईले पनि स्रोतलाई उधृत गर्दै हवाई फायर भएको जनाएको छ ।

एक हप्ताअघि १ सेप्टेम्बरमा भारतमा चिनियाँ दूतावासले बयान जारी गर्दै भारतीय सैनिकहरुले झीलको दक्षिणी तटमा एलएसी पार गरेको आरोप लगाएको थियो ।

४५ वर्षपछि पहिलो पटक दुई देशको सीमामा गोली चलेको हो । यसअघि सन् १९७५ को अक्टुवर २० मा अरुणाचल प्रदेशको तुलुंग लामा चीनले असम राइफलको पेट्रोलिङ पार्टीलाई धोकाधडी गरी एम्बुस थापेर हमला गरेको थियो ।

उक्त घटनामा चार भारतीय जवानको ज्यान गएको थियो । हालै गलवान घाटीमा दुई देशबीच भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया