बारेकोट गाउँपालिका भित्र चरम अनियमितता छ ः नेता रावत

नेपाल कम्युनिष्ट्र पार्टी नेकपा बारेकोटका सह—ईन्चार्ज तिलकबहादुर  रावत  शुशिल’ संग पछिल्लो सयम बारेकोट गाउँपालिकाकाले गरेका कामहरुको विषयमा संक्षिप्तमा गरिएको कुराकानी ।
१. तपाईलाई स्वागत छ ?
धन्यवाद ।

२.तपाईले राजनितीक यात्रा कसरी सुरु गर्नुभयो ?

स्थानीय निकायको निर्वाचन २०४९ को राजनितीक प्रभाव र स्कुले जीवन बाटै मेरो राजनितिक यात्रा सुरु भयो । मैले विद्यार्थीको तत्कालिन अनेरास्ववियूको छैटौँ मावि स्तरीय कमिटीको कोषाध्यक्ष, २०५२ सालमा सुरु भएको जनयुद्धको वेला तत्कालिन वाईसेलको वडा कमिटी अध्यक्ष, पार्टी सेल कमिटीको सदस्य, २०५३ गाउँ कमिटी सदस्य, २०५४ मा पार्टी ऐरिया कमिटी सदस्य, २०५६ तत्कालिन माओवादीको एरिया कमिटी सेक्रेटरी, अनेरास्ववियू क्रान्तिकारीको जिल्ला कमिटी सदस्य , २०५८ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०६१ मा तत्कालिन माओवादी भेरी कर्णाली राज्य कमिटी सदस्य एवं जनयुद्ध बलिदान संघको भेरी कर्णाली संयोजक, २०६२÷०६३ को जनआन्दोलनमा दैलेख जिल्लामा भएको आन्दोलनमा सहभागी भएको थिए ।

देश शान्ती प्रक्रियामा गईसकेपछि २०६४ को संविधान सभाको निर्वाचनमा १ ÷२ सम्म राज्य कमिटी सदस्य भएर आफ्नो भुमिका निर्वाह गरियो । २०७० सालमा भएको प्रतिनिधी सभाको निर्वाचन सम्पन्न हुदै गरेको अवस्थामा पार्टीको तत्कालिन केन्द्रिय कमिटीको सदस्य (महाधिवेशन आयोजक कमिटी ) को सदस्यको जिम्मेवारीमा रहेर राजनीतिक गतिविधी सञ्चालन गरियो । २०७१ साल देखि यताको सात वर्षमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता पछि हाल जिल्ला कमिटी सदस्य एवं बारेकोट गाउँकमिटी सह— ईन्चार्ज पदमा रहेर जनताको सेवामा लागिरहेको छु ।

३. आज भोलीका दिनहरु कसरी वितिरहेका छन ?

आजभोली जनता संग सहकार्य गर्दै जनताको सेवामा लागिरहेको छु ।

४. कोरोना नियन्त्रणका लागि नेकपा बारेकोटले के काम गरिरहेको छ ?

पहिलो कुरा नेकपा बारेकोटले गाउँ कार्यपालिकाको सर्वदलिय सर्वपक्षिय वैठक बोलाई प्रदेश सरकारद्धारा अख्तियारी प्राप्त बजेट कार्यान्वयन गर्ने क्रमलाई जनस्तर सम्म निरन्तरता दिइरहेको छ । पार्टीका भित्रका विभिन्न कमिटी, जनवर्गीय संगठनलाई परिचालन गरी कोरोना नियन्त्रणमा सहयोग पुर्याई रहेका छौँ ।

पार्टी बाट सरकारमा प्रतिनिधित्व गर्ने सम्पुर्ण टीमहरुलाई यस माहामारीको प्रकोपको संकट पुर्ण घडीमा जनताको सेवामा सर्मपित हुन निर्देशन दिईरहेका छौँ ।

५. बाढी पहिरो पीडितको अवस्था के छ ? स्थानीय सरकारले के गरेको देख्नुभएको छ ?

हामीले सुरुमा उद्धार कार्यलाई प्रमुख एजेण्डाको रुप बनाई सम्पुर्ण जनशक्ति परिचालन गरी उद्धार कार्य सम्पन्न गर्यौँ । उनीहरुको बासस्थान नै भत्किएको अवस्थामा सबै पीडित परिवारलाई भगवती आधारभुत विद्यालयमा पीडितलाई स्थान्तरण गरियो । प्रदेश सरकार हुदै, संघीय सरकारका मन्त्री संग तत्कालै समन्वयन गरी हेलिकप्टर मार्फट उद्धार सामाग्री पुर्याई राहत प्रदान गरियो ।

त्यसपछि विस्थापितहरुलाई आवश्यक पर्ने खाद्यान्न लगायतका आवश्यक वस्तुहरुमा स्थानीय सरकारले ढिला सुस्ती गरी पीडित परिवारहरुको आवश्यकता पुर्ती हुने अवस्था नदेखिएपछि प्रदेश सरकार बाट माननीय प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहको अनुगमन पछि खाद्य लगायत केही राहत सामग्री मार्फत पीडित परिवारलाई राहत वितरण गरियो ।

वासस्थानको लागि उपयूक्त ठाउँ अहिले सम्म छनोट भएको छैन । अस्थाई रुपमा पाल टाँगेर बसेको अवस्थामा अस्थाई शौचालय अव्यवस्थित भएको, खानेपानीको चर्काे समस्या देखिएको, लत्ताकपडाहरु सम्बन्धीत पीडित पक्ष कहाँ कम पुगी गैरपीडितहरु संग व्यापक मात्रामा वितरण गरिएको, स्टोरमा भएको राहत सामग्री स्टोरकिपर मार्फत गैर पीडितलाई रातारात बाँडिएको सरकार प्रमुख हैसियतले जसरी समान पुर्वक विना विभेद तरिकाले वितरण गर्नुपर्नेमा सो नगरी जनता र जनप्रतिनिधी विच ठुलो अन्तरविरोध पैदा गरी परिस्थिती नियन्त्रण भन्दा बाहिर जान थालेको स्थिती देखिन्छ । जुन ठाउँमा १२ जनाको ज्यान गएको छ ।

सोही ठाउँको वस्तुस्थितीको ठोस मुल्यांकन गरी तीनै तहका सरकारहरुले पीडित परिवारको उचित व्यवस्थापन गर्न ( जनता आवास कार्यक्रम मार्फत) घरवासको ग्यारेन्टी सहित जुरुरी देखिन्छ । राहत कोषमा जम्मा भएको नगद तथा जिन्सी समानहरुको एकिन हिसाव किताव स्थानीय सरकारले सार्वजनिक गर्न जुरुरी छ ।

६. देशमा नेकपाको सरकार छ आफुले काम नगर्ने अरुलाई आरोप लगाउने यो कस्तो प्रवृति हो ?
स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका साथीहरुको संख्या दुई तिहाई हुदैँ गरेको अवस्थामा कार्यविधी अनुसार साथीहरुको चौतर्फी भुमिकामा अभाव रहनु, कर्मचारीतन्त्र र स्थानीय सरकार प्रमुखको प्रशासकीय संयन्त्र बलियो हुनु, सुचना संञ्चार लगाउतका विषयमा समन्वयन र सहकार्य अभाव रहनु आदी कारणहरुले जनअपेक्षा अनुसार नेकपाको सरकार पक्षको भुमिकाको कमी रहेको देखिन्छ ।

उत्पन्न समस्या र अभावको विचमा गम्भीर समिक्षा गर्दै नेकपा बारेकोटले आगामी कार्यक्रम जननिती अनुसार चल्न चलाउनको लागि आवश्यक गृहकार्य गर्नेछ । दुई तहका सरकार बाट आउने बजेट परिचालनको लागि गतिलो संयन्त्रको अभाव देखिन्छ ।

जसले गर्दा निश्चित ठाउँमा बजेट नपुग्नु, अनुगमन फितलो हुनु, भष्ट्रचारमा वृद्धि हुनु, विना सर्भे डिजाइनका इस्टीमेटका विकास आयोजना सञ्चालन गर्दा भौतिक पुर्वाधारहरु अलपत्र हुनु लगायतका विषयले हामी हाम्रो संगठन र हाम्रो समाज प्रभावित बनेको छ ।

७. नेकपाको भातृ संगठन राष्ट्रिय यूवा संघ बारेकोटले निकालेको विज्ञप्तीमा जुन आरोप छ त्यसमा कति सत्य हो ?

त्यो वस्तुसंगत छ । त्यो ढिला गरी प्राप्त गरेको साधन हो । किनभने वितेका तीन बर्षमा यूवा संघले निकालेको निष्कर्ष भन्दा बढि विषयवस्तु पनि लुकेका छन । मैले यो भन्दा अगाडि सरकार प्रमुखलाई पटक पटक गाउँसभामा पेश भएको बजेटको दायरा धेरै फराकिलो नबनाई फजुल खर्चमा बढी बजेट छुट्याउने परम्परा आपत्तीजनक छ भनेको थिए । मैले दिएको उपयूक्त सुझावलाई उहाँहरुले मनन गर्न सक्नुभएन ।

जनगुनासो व्यापक बढ्दै जाँदा जनआवाज स्वरुप राष्ट्रिय यूवा संघ नेपालले प्रेस विज्ञप्ती मार्फत आर्थीक अनियमिततालाई सार्वजनिक गरेको हो । जसअनुसार, वुद्धा नं ४ को जनता आवास कार्यक्रम एकलौटी सञ्चालन गरेको,बजेट हुदाँहुदै स्वास्थ्यकर्मी भर्ति गर्ने क्रममा पार्टीको लोगो खोजेको त्यो सत्य हो । स्वास्थ्यको सामग्री खरिदमा निकै वेतिथी छ ।

जसलाई जनताले बुझ्न समस्या छैन । अपांग परिचयपत्र राजनितीक पक्षपात गरेको स्वयम अपांग व्यक्तिको गुनासो रहेको छ । डाक्टरलाई २४ घण्टे अल्टिमेटम दिई पठाइएको छ । जसमा डाक्टरले माग गरेको ओटी र कोरोनाको भत्ता नदिई जानाजान लखेटिएको छ । अहिले पोस्टमार्टमको लागि जिल्ला धाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

सरकारले घोषणा गरेको स्वास्थ्य विमा मात्र होइन, डाक्टरलाई दिने सेवा सुविधा नदिएको हुनाले पछिल्लो समय समस्या भएको हो । त्यसैले राष्ट्रिय यूवा संघले निकालेको विज्ञप्ती शत प्रतिशत सही छ । र बारेकोटी जनताका लागि स्वागत योग्य छ ।

८. पार्टी र सरकार विचको समन्वयन कस्तो छ ? समन्वयनको अभावले जनतालाई निराश पारेको जनताको गुनासो छ यसलाई कसरी लिनुभएको छ ?

विचमा केही समन्वयनको अभाव देखिएता पनि हालको लागि चरणवद्ध औपचारिक तथा अनौपचारिक छलफल बहसले उक्त जनगुनासोलाई सम्बोधन गर्दै गएका छौँ । जनअपेक्षा अनुसार काम माथी भनेका कुराले प्रभाव पारेको हो । अव पार्टीले सरकारलाई निगरानीमा राखेर आगामी गतिविधी सञ्चालन गर्नेछ । जनतालाई जति वेला समस्या पर्छ त्यति वेला हाम्रो पार्टी तम तयार भएर लाग्नेछ ।

९.स्थानीय सरकार बनेको तीन बर्ष वित्या,े यो समय स्थानीय सरकाले गरेका काम के देख्नु भएको छ ?

पहिलो कुरो सडक सञ्जालमा जोडिएको छ । खानेपानी प्रत्येक वडामा निर्माण भईरहेको छ । वडा कार्यालयका भवनहरु निर्माणधीन अवस्थामा छन । पुल लगायतका भौतिक पुर्वाधारका कार्यहरु सम्पन्न हुदैँ गईरहेका छन । प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले निरन्तता पाइरहेको छ । विशेष गरी सडक पुर्वाधारमा ठेकेदारहरुले पालिकाको फितलो अनुगमनको मौका छोपी गुणस्तरहीन काम गरिरहेको पाइएको छ ।

जनताले बुझने भाषामा सरकार तथा राजनितीक दलहरुले भष्ट्रचार अन्त्यको लागि निरन्तर खबरदारी गर्नुपर्ने अवस्था देखिन्छ । जसअन्र्गत माथी उल्लेखित उपलब्धीहरु बाहेक संविधानले दिएको अधिकार बमोजिम जनअपेक्षा अनुसार काम गरेको देखिदँैन ।
१०. बारेकोट समृद्ध बन्न स्थानीय सरकारले के गर्न आवश्यक छ ?
मेरो विचारमा………

१. मा सडक सञ्जाललाई स्तरउन्नती गर्न आवश्यक छ ।
२. खानेपानी लगायतका भौतिक पूर्वाधारहरुको संरक्षण, संर्वद्धन गर्न आवश्यक छ ।
३. लक्षित वर्गका कार्यक्रमलाई सम्बन्धित पक्ष संग पुर्याई वेरोजगार घटाउने अभियान सञ्चालन गर्न आवश्यक छ ।
४. बाढी प्रभावितहरुको तथ्यांक संकलन गरी भु जोखिमको मापदण्ड बनाई उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
५. कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै पालिकामा भएको बजेटको सदुपयोग गरी उपचारको उचित प्रवन्ध गर्नुका साथै विशेषज्ञ डाक्टरको व्यवस्था गर्नुपर्ने ।
६. कोरोनाको बहाना बनाई पालिका भित्र व्यापक कालोबजारी र अनेक रुपका सिन्डीकेटको नियन्त्रण गर्न उत्तिकै जरुरी छ ।
७. संविधानले दिएको विशेष अधिकार प्रयोग गरी पालिका स्तरमा कोरोना संक्रमणलाई फैलन नदिन आवागनमलाई रोकथाम गर्न आवश्यक छ ।
८. प्राकृतिक श्रोत साधन बाट प्राप्त आम्दानीलाई आन्तरिक बजेटमा समावेश गरी आगामी निती तथा कार्यक्रम बनाई स्थानीय स्रोत साधनको सदुपयोग गर्न जुरुरी छ ।
९. बारेकोटको बेरोजगार जनशक्तिलाई तथ्यांक अनुसार परिचालन गरी संघ र प्रदेशको समन्वयनमा उत्पादनका कार्यको सुभारम्भ गनुपर्ने ।
१०. मनोरञ्जनको साधनको रुपमा रहेको खेल क्षेत्रलाई व्यवस्थित गर्न उपयूक्त बजेट मार्फत सम्बोधन गरिने खाले निती कार्यक्रम बनाउनुपर्ने ।
११. अभिभावक शिक्षा कार्यक्रम सहित विद्यालय पठनपाठन कार्यक्रमलाई व्यवस्थित गर्न पालिकाको शिक्षा समितीले वस्तुगत समस्या सहितको शिक्षा विधेयक पास गरी गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने ।

१०. अन्त्यमा के भन्नुहुन्छ ?

बारेकोटले खेपिरहेको प्राकृतिक विपत्तिको सामना गर्न प्रदेश सरकारको तर्फ बाट प्रदेश सभा सदस्य माननीय गणेश प्रसाद सिंहले प्रतिबद्धता गरे अनुसारको प्रत्येक वडामा एक करोडको कार्यक्रम कार्यान्वयन गर्नका लागि म र मेरो पार्टी, स्थानीय सरकार सबै एक्यवद्ध भएर काम गर्न प्ररित हुनेछौँ । यो विषम परिस्थितीमा मलाई बोलाई मेरा विचार राख्न दिनुभएकोमा यहाँहरुलाई विशेष कृतज्ञता व्यक्त गर्दछु । धन्यवाद । #भेरीमालिका दैनिक #

तपाईको प्रतिक्रिया