बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडक

जाजरकोट । बर्खाको पानीले गर्दा यतिबेला जाजरकोटका सडकहरु हिलाम्य हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ्। हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्य हुने जाजरकोटका सडकहरुको यो वर्ष पनि हालत उस्तै छ । वर्षेनी हुने यस्तो समस्याका कारण केही सडकहरु अवरुद्ध छन् भने केही जोखिमपुर्ण तरिकाले संचालन भइरहेका छन । ग्रामीण र कच्ची सडकहरुको मात्र होइन छिन्चु जाजरकोट पुष्पलाल लोकमार्गको हालत पनि बेहाल छ ।

रुकुम र जाजरकोटको सिमाना चिसापानी देखि सदरमुकाम खलंगा सम्मका ठाउँठाउँमा सडक विग्रेको छ । बारेकोट गाउँपालिका १ का ऐनबहादर परियारले भने ,रिम्ना जाजरकोट सडक खण्डमा सडक कालोपत्रे छैन । सदरमुकाममा काम हुदाँ कहिले काँही हातले धकेल्नु पर्छ । वीचमा खाल्डा खुल्डिएको त कुरै छोडौ ।

एकदमै गाह्रो छ । देशमा तीन तहको सरकार भएको अवस्थामा मुख्य सडकको रूपमा रहेको जिल्लाको मुख्य सडक रिम्ना जाजरकोटको अवस्था जटिल भएको उनको भनाई छ । यस क्षेत्रको सडक बेलाबेला मर्मत गरिने भए पनि गुणस्तरीय हुने सकेको छैन भने सडकमाथिबाट नाली निर्माण तथा समयमै पहिरो नपन्छाउदा सडक नै खोला जस्तो पानी बग्ने भएका छन्।

यस सडक मर्मतको जिम्मा सडक बिभागको रहेको हुँदा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीय यातायात व्यवसायी का भनाई छ । जाजरकोटका गाउँगाउँमा नयाँ सडक निर्माण गर्नमा बर्षेणी ठुलो रकम खर्च भैरहेको छ ।

जिल्लाका अधिकांस वडाहरुमा सडक पुगिसकेको छ तर बर्षातको समयमा अधिकांस सडकहरुमा गाडि गुड्ने अवस्था छैन। यातायात व्यवसायीहरुले जोखिमपुर्ण तरिकाले गाडि संचालन गर्नुपर्दा बेला बेला दुर्घटना भएर धनजनको क्षति हुने हुने भएको छ भने बिग्रेको बाटोमा गाडी गुडाउँदा बेलाबेला गाडी मर्मत गर्नुपर्ने अवस्था आउने गरेको यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया