जाजरकोट । बारेकोट गाउँपालिका वडा नं. ४ को जिरी,मैना,गोठगाउँ,रावतगाउँ र वडा नम्बर ३ को मूल्साम क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । दुई महिनाअघि गाउँपालिका भित्रिएको सलह यतिबेला बारेकोटको विभिन्न क्षेत्रमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् ।
बारेकोटको जिरी,मैना,रावतगाउँ,धुमा,मूल्साम लगायतका गाउँमा लगाएको मकै र धानबाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको बारेकोट ४ जिरीका किसान लोकेन्द्र सिंह बताए । सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गोठगाउँका किसान लालबहादुर सिंहले भने ।
लाखौँको सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ उनले भने, भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ । बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयवासीले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको उनले जानकारी दिए ।
खेतबारीमा देखिएको सलह मंगलबार बिहानसम्म पनि खेतबारीमा नै रहेको छ । सहलले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । बारेकोटमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् ।बारेकोटको कृषि शाखाले सलह प्रवेश गरे पनि क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।
दुई हप्ताअघि बारेकोटको सक्ला,लिम्सा,रोकायगाउँ,रामिडांडा,,नायकबादा देखिएको सहल पानी परेपछि हराएको थियो । जुम्ला जान लागेको सलह चिसोको कारण फर्किएर बारेकोटबाट जुम्ला जाने नाका वडा नम्बर ४ र वडा नम्बर ३ मा छप्पक भएको छ ।
पहिरो र कोरोनाको कहरका बीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि किसान निराश भएका छन् । सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । बारेकोटका विभिन्न ठाउँहरूमा अझै पनि सलहको झुण्डले धान र मकैमात्रै होइन, फलफूल र तरकारीमा पनि क्षति पु¥याएको छ । जीखबर
















































। ३२ श्रावण २०७७, आईतवार