अनेरास्ववियूको पहलमा २ लाख ५ हजार संकलन

जाजरकाेट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जाजरकोटले ब्लड क्यान्सर बालकहरुको सहयोगका लागि संकलन गरेको रकम हस्तान्तरण गरेको छ । अनेरास्ववियू जाजरकोटका संयोजक प्रदिप खड्काको नेतृत्वमा संकलन भएको २ लाख ५ हजार १ सय १५ रुपैयाँ जिल्लाको भेरी नगरपालिका वडा नं. १३ का यज्ञ बहादुर रोकायका २० महिनाका छोरा युनिक रोकाय र कुशे गाउँपालिका वडा नं. ५ का रामचन्द्र शर्माका १६ वर्षका छोरा निरज शर्माको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्था, उद्योगी व्यापारी, कर्मचारी लगाएत २ सय ६४ सहयोगी दाताहरुबाट संकलन भएको रकम मध्य युनिक रोकायको उपचारका लागि बाबुको खातामा रु १ लाख २ हजार ५ सय ७७ रुपैयाँ ५० पैसा जम्मा गरी सोको बैंक भौचर काका मेघराज रोकायलाई हस्तान्तरण गरिएको छ भने निरज शर्माको उपचारका लागि १ लाख २ हजार ५ सय ७७ रुपैयाँ ५० पैसा बाबु रामचन्द्र शर्मालाई नगदै हस्तान्तरण गरिएको अनेरास्ववियू जाजरकोटका सचिवालय सदस्य दिनेश गौतमले जानकारी दिए ।

जिल्लाका २ जना बालकहरु लामो समयदेखि ब्लड क्यान्सरको समस्याबाट पिडित भएको र उपचारका लागि उनिहरुको परिवारको आर्थिक अवस्था कम्जोर रहेकोले सहयोग रकम संकलन अभियान संचालन गरी रकम हस्तान्तरण गरिएको अनेरास्ववियू जाजरकोटका संयोजक प्रदिप खड्काले बताए । नेकपा जाजरकोटका अध्यक्ष ढकविर रानाको विषेश उपस्थितिमा पत्रकार सम्मेलन गरी सहयोग रकम हस्तान्तरण गरिएको संयोजक खड्काको भनाई छ ।

सहयोग रकम हस्तान्तरण गर्दै नेकपा जाजरकोटका अध्यक्ष रानाले अनेरास्ववियू जाजरकोटलाई धन्यबाद दिए । मानवियता सबैभन्द ठुलो धर्म भएको भन्दै थप यस्तै सृजनात्मक कार्य गर्नुपर्नेमा अध्यक्ष रानाले जोड गरे ।

ब्लड क्यान्सर बालकहरुको उपचारमा सहयोग गर्न चाहाने सहयोगीमनहरुले यज्ञ बहादुर रोकायको लक्ष्मी बैंकमा रहेको खाता नम्बर ०५४२४००१३१८ र रामचन्द्र शर्माको सिटिजन्स बैंकमा रहेको खाता नम्बर ०३००१०००००२९००२१ मा सहयोग रकम जम्मा गर्न सकिने अनेरास्ववियू जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया