अधिकांश सडक बन्द, सञ्चालित सडकमा मनपरी भाडा

जाजरकोट । जिल्लाका सवारी साधनले मनपरी भाडा असुली गरेपछि ग्रामीण क्षेत्रका यात्रु मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् ।

सर्वसाधारण भन्छन्, ‘गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ, चढौँ पहिले तिर्ने भन्दा डबल तिर्नुपर्छ ।’ जाजरकोट सदमुकाम देखि रुकुम पश्चिमको चिसापानी सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २९ किलोमिटर मात्रै छ । जसअन्र्गत जिपमा यात्रा गर्ने यात्रुले प्रतिव्यक्ति ६ सय तिर्नुपर्छ ।

कालोपत्रे नभएका सडकमा गाडीको तेलको मुल्य समेत उपरा गर्न नसकेपछि भाडादर वृद्धि गरेको यातायात व्यवसायीहरुको भनाई छ । सरकारी मापदण्ड विपरीत यहाँका यातायात व्यवसायले भाडा असुली गर्दा सम्बन्धीत निकायलाई कुनै जानकारी छैन । जिल्लाका बारेकोट गाउँपालिकाका मानबहादुर नेपाली खानेपानीको रकम भुक्तानी गर्न बारेकोट देखि जिल्ला सदरमुकाम आए । सदरमुकाम सम्म आउन ७ सय रुपैयाँ तिरे ।

उनले भनेर्, यातायात व्यवसायका साथीहरुलाई मिलाउनुहोस न भने तर मानेन ।’ ग्रामीण क्षेत्रका नागरिकलाई गाडी चालक र सहचालकले जति भन्यो त्यति दिनुपर्ने अवस्था छ । तर नागरिकको पिडा माथी यहाँका जिम्मेवार निकायको कुनै चासो छैन ।

यस्तो छ समितीले निर्धारण गरेको भाडादर ?
जिल्लामा तत्कालिन प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा मिती २०७५।०६।११ गते बसेको वैठकले जिल्लाको भाडादर निर्धारण गरेको थियो । त्यसपछि हाल सम्म कुनै परिवर्तन भएको छैन । जसअन्तर्गत खलंगा—काठमाडौँ सम्म १५४० भाडादर निर्धारण गरेको थियो । तर यातायात व्यवसायीहरु १६ सय देखि १७ सय सम्म लिने गर्छन । खलंगा— नेपालगञ्ज सम्म ठुलो गाडीको ५ सय ५० र साना गाडीको ६ सय रुपैयाँ निर्धारण गरिएको थियो । खलंगा — देखि सुर्खेत सम्म ठुलो गाडीको ४ सय ५० र साना गाडीको ५ सय निर्धारण गरिएको छ । खलंगा —रिम्ना सम्म १ सय ५० , खलंगा —पिपे ६० रुपैया, खलंगा —चिसापानी २ सय ५०, खलंगा —छेडा १ सय ५० , गैरीखाली — पाँचकाटिया ३ सय, छेडागाड — थलहबजार २ सय ५०, नलगाड —चिसापानी — तत्लोबजार ३ सय र छेडा —सुवानाउली ३ सय ५० निर्धारण गरिएको छ । तर निर्धारण गरेको भन्दा डब्बल भाडा असुली गरेका स्थानीयको गुनासो छ ।

अधिंकाश सडक बन्द
जिल्लाका विभिन्न सडक अहिले बन्द छन । बर्खा लागे संगै यहाँका अधिकांश ग्रामीण सडक बन्द भएका हुन । बारेकोट गाउँपालिकाकाले निर्माण गरेको करोडौका सडक अहिले पहिरोमै पुरिएका छन । कालीमाटी देखि लिम्सा सडक खण्ड बर्खा नसकिए सम्म खुल्ने स्थिति नभएको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले जानकारी दिइन । छेडा — जुनी सडक खण्ड अवरुद्ध भएको एक महिना भईसक्यो । सडकमा नाली नभएका कारण सडक अवरुद्ध नै छ । शिवालयका पनि धेरै सडक अवरुद्ध रहेको स्थानीय तिलक विकले जानकारी दिए । खलंगा —पाँचकाटिया सडक खण्ड पनि एक महिना देखि अवरुद्ध छ । यहाँ बाट बारेकोट र कुशे गाउँपालिका जाने अधिकांश यात्रुहरु पैदल हिड्न बाध्य छन । तत्काल सुचारु नहुने भएपछि स्थानीय निकै चिन्तामा परेका छन । पश्चिम जाजरकोटका सडक खण्डमा चर्काे भाडा असुली रहेका छन । तर सरकारी पक्षले भने खासै ध्यान दिन नसकेको स्थानीयको भनाई छ । जिल्ला ट्राफिक प्रहरीले भने सवारी साधनले मनपरी भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ । यद्यपि, बढी भाडा असुली र गरेको पाइएमा तत्काल कारबाही गरिने कार्यालयले जनाएको छ । यसै विषयमा प्रमुख जिल्ला अधिकारी जनक राज पन्तलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।  #भेरीमालिका दैनिक #

तपाईको प्रतिक्रिया