पहिरो प्रभावितलाई स्वास्थ्य शिविर देखि, राहतको प्याकेज ल्याउने गाउँपालिकाको निर्णय

जाजरकोट । जिल्लाको बारेकोटमा गाउँपालिका भित्र रहेका बाढी, पहिरो प्रभावितहरुलाई राहत वितरण गर्न स्थानीय विपद व्यवस्थापन समितिको बैठकले नीतिगत निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का सांसद गणेशप्रसाद सिंहको विशेष उपस्थितिमा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो प्रभावितहरुलाई लक्षित गरेर बारेकोट गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए । बैठकले गत असार २५ गते रातिको पहिरोमा परि मृत्यु भएका आफन्तलाई प्रति मृतक २५ हजार राहत दिनुको साथै पहिरोले पूर्णरुपमा क्षेति भएर बस्नै नमिल्ने घर पुर्ननिर्माणका लागि प्रतिघर ५० हजार, आंशिक क्षेति भई मर्मत गरेर बस्न मिल्ने प्रतिघरलाई ३० हजार राहत दिने निर्णय भएको अधिकृत सिंहले भने । राहत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय भएको छ ।

राहत वितरण गर्नका लागि गाउँपालिकाले राहत सहयोग आह्वान गर्ने निर्णय भएको छ । सहयोगका लागि नेपाल रेडक्रस सोसाईटी, लाईफ अफ ईन्टरनेनल, युनिसेफ, विश्व खाद्य कार्यक्रम, गैरआबासीय नेपाली संस्था, कुमारी ट्रष्ट, हेल्भेटास, केयर नेपाल, किडार्क, सुआहारा, धुर्मुस सुन्तली फाउण्डेसन, बिलगेट्स फाउण्डेसन लगाएत जिल्ला तथा प्रदेशमा कार्यक्षेत्र भएका दातृ निकाय तथा अन्य निकायसंग अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । गाउँपालिकाका सबै वडामा बाढी, पहिरोको जोखिममा रहेर १ हजार ५५ घर परिवारले घर (छोडेर) विस्थापित भएको गाउँपालिकाले जनाएको छ । बाढी पहिरोले पूर्णजोखिम तथा पूर्णक्षेति भएका ४५, कम जोखिमका ४ सय २४, सामान्य जोखिममा रहेका १ सय १९ र सामान्य जोखिममा रहेका २ सय ९५ घर रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

खाद्य संकट टार्न १० हजार क्वीटल माग
गाउँपालिका भित्र खाद्य संकट टार्न १० हजार क्वीटल चामलको माग गरिएको छ । सोमबार बसेको विपद व्यवस्थापनको वैठकमा गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहलाई गाउँपालिका भित्रको खाद्य संकट टार्न १० हजार क्वीटर चामलको व्यवस्था गर्न माग गरेका हुन । गाउँपालिकाका खाद्य अभाव हुदाँ अहिले निकै समस्या परिरहेको छ । बाढी पहिरो बाट विस्थापित क्षेत्रका नागरिक अहिले भुटेको मकैमा दिन विताउन बाध्य छन् ।

गाउँका पसलमा चामल महंगो छ किनेर ल्याउन सकिदैन अव के गर्ने भन्ने समस्याले सताएको स्थानीय यमबहादुर नेपाली बताए । गाउँपालिकामा भूगर्व विदको प्रतिवेदनका आधारमा बस्ती बसाल्न र दीर्घकालिन योजना बनाउनका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय समेत गरिएको छ । गाउँपालिकामा खाद्य संकट भएकाले १० हजार क्वीन्टल चामल उपलव्ध गराउन समेत माग गरिएको छ ।  #भैरीमालिका दैनिक #

तपाईको प्रतिक्रिया