च्याम्पियन अफ ह्युमन अचिभमन्ट मेमोरी रेकर्ड कायम गर्ने शाहीलाई कर्णाली सरकारको २ लाख पुरस्कार

च्याम्पियन अफ ह्युमन अचिभमन्ट मेमोरी रेकर्ड कायम गर्ने शाहीलाई कर्णाली सरकारको २ लाख पुरस्कार

सुर्खेत । कर्णाली प्रदेश सरकारले च्याम्पियन अफ ह्युमन अचिभमन्ट मेमोरी रेकर्ड कायम गर्ने महावै गाउँपालिका–५ कालिकोट निवासी विजय शाहीलाई पुरस्कार स्वरुप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यही फागुन ५ गते बसेको मन्त्रिपरिषद बैठकले शाहीलाई पुरस्कार स्वरुप २ लाख नगद उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णय सोमबार सार्वजनिक गर्दै प्रवक्ता केसीले व्यावसायिक कृषि तथा पशुपं‌क्षी पालन व्यवसायको लागि व्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६ स्वीकृत गर्ने निर्णय गरिएको बताईन् ।

त्यस्तै प्रदेश सरकारले अत्यावश्यक सेवा र सहरी सौन्दैर्यका संरचना निर्माणका लागि दमकल, पानिट्याङ्कर, डिपबोरिङ् र ट्राफिक लाईट व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिकालाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण गरिने योजना तथा कार्यक्रमहरुको सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरिएको मन्त्री केसीको भनाई छ ।

कर्णाली प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७६ र कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ को मस्यौदा स्वीकृति गर्ने निर्णय सरकारले गरेको छ ।

त्यसैगरि कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति गठन आदेश, २०७५ को (प्रथम संशोधन) गर्ने,बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्ने बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया