बारेकाेट विशेष  पहिराे पछि ५० भन्दा बढी घर विस्थापित

जाजरकोट । पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा दर्जनौ घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट गाउँपालिका –४ जिरीका ३२ घर , गोठगाँउका ८ घर , मैनागाउँका ५० भन्दा बढी विस्थापित भएको प्रहरीले जनाएको छ । हिमालय आधारभुत विद्यालय गोठगाउँ , भगवती आधारभुत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारणहरु गाउँ देखि माथी रहेको रतनकोट डाँडामा आएर बसेको स्थानीय पत्रकार तीथराज बोहोराले जानकारी दिए ।

त्यस्तै, वडा ५ को पाखा , तोलखाना र कालाखोलीका ४० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।त्यस्तै, बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएको छ । रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीयले खोलामा आएको बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गंभिर घाइते भएको गाउँपालिकाका अधिकृत सिंहंले बताए । सवै गाउँलेहरुले गाउँ छाडेर खुल्ला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी वुद्धिजिवी जनकबहादुर शाहीले बताए ।

पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीवार राती आएको पहिरोले बारेकोट ४ सार्कीटोलका दुई घर बगाउँदा १२ जनाको मृत्यु भएको छ । घाइतेहरुलाई नेपाली सेनाको उद्धार टोली घटना स्थल पुगेर पहिरोमा पुरिएकालाई निकाल्ने काम गरिरहेको बताइएको छ । खराब मौसमका कारण शव निकाल्ने काममा कठिनाई भएको अधिकृत सिंहले जानकारी दिए ।

त्यस्तै, बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परि गंभिर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । घाइते तीन जनाको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पठाएर उद्धार गरिएको छ ।
३ सय बढीले पहिरोको डरमा घर छाडे
बाढी पहिरोको कारण बारेकोट गाउँपालिकामा ३ सय घरपरिवार विस्थापित भएका छन् । तीन दिन यता भएको भीषण बर्षातका कारण गाउँबस्तीमा पहिरो खसेपछि स्थानीय विस्थापित भएका हुन् । पहिरोले बारेकोट ४, मैनाका ६० घरपरिवार, सार्कीगाउका १०, वडानं.५, तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, भैलोखानाका ३०, वडा नं.१, धौलाकोटका ३२ र वडानं.२, रोकायगाउँका १२ घरपरिवार विस्थापित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले वताए ।

पहिरोले विस्थापित भएपछि स्थानीय वासिन्दा विद्यालय, जंगलको खाली चौर, गाईरभैंसी राख्ने गोठ लगायत स्थानमा बस्न वाध्य भएको सिंहले वताए । भीषण बर्षातका कारण बारेकोट गाउँपालिकाको अधिकांश गाउवस्तीमा बाढी पहिरो जाने क्रम नरोकिएको उनले वताए ।

ठाउँ ठाउँमा बाढी र पहिरो आएपछि एक घरबाट अर्को घरसम्म आउजाउ गर्न समेत बन्द भएको उनले वताए । बारेकोट गाउँपालिकाको जिरी, मैना, भैलोखाना, तोलखान, करुका, कार्कीजिउला, घर्तीगाउ, सुवाकोट लगायत डेड् दर्जन गाउका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको सिंहले वताए ।
घाइतेको उद्धार, विस्थापितलाई प्रदेश सरकारको राहत
विहीबार जिल्लाको बारेकोट गाउँपालिका ४ मा गएको पहिरोमा परेका घाइतेहरुको उद्धार गरिएको छ । माथिबाट आएको पहिरोले भत्काएको घरको भित्ताले चेपिएर गम्भिर घाईते भएका बारेकोट–४ गोठगाउँका लालबहादुर नेपाली र बाढीले बगाउँदा बगाउदै स्थानीयद्धारा उद्धार गरिएका तर, गम्भिर घाईते बारेकोट–६ धुमाका रामचन्द्र चलाउनेलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरले सनिबार उद्धार गरेको हो ।

बारेकोटको पहिरो र बाढी पिडितहरुका लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराईएका २५ वटा त्रिपाल, २५ वटा ब्लाङकेट, २ बोरा चामल, ३ बोरा चिउरा, १ सय ६० प्याकेट चाउँचाउँ गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बुझेको भरपाई गरेका छन् । बारेकोटमा अझै पनि निरन्तर पानी परिरहेको छ । पानी परिरहेको हुदा बेपत्ताहरुको खोजी, विस्थापितहरुको उद्धारकार्य गर्न कठिनाई भई रहेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिएका छन् ।

अविरल बर्षाले बारेकोटमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । बारेकोट–४ को मैना, ठाकुर जिरी, सार्की टोल, बोहरागाउँ, तल्गाउँ र गोठगाउँका झण्डै पौने २ सय घरधुरीका नागरिकहरु भिषण बर्षाले पहिरो जाने डरले घर छोडेका छन् । घर छोडेका नागरिकहरुलाई हिमाल आधारभुत बिद्यालय गोठगाउँ र भगवति आधारभुत विद्यालय जिरीको भवनमा राखिएको अध्यक्ष शाहले जानकारी दिए । उक्त विद्यालयका भवनमा अटाउन नसकेका नागरिकहरु जंगल भित्र पाल टाँग्नुको साथै कतिपय ओढारमा बास बसिरहेका छन् भने, कतिय रावत जिरी र पातल जिरीका नागरिक तथा गाउँलेहरुको घरमा आश्रित भएका छन् । # भेरीमालिका दैनिक# 

तपाईको प्रतिक्रिया