डब्ल्यूएचओले निराश पार्योः कोरोना भाइरसलाई निर्मूल पार्न सकिने सम्भावना न्यून

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाईले गर्दा अहिले विश्वलाई नै तनावमा पारेको छ । डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड १९) लाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएसंगै सबैको सातो गएको छ ।

संगठनका आपत्कालीन कार्यक्रम प्रमुख माइकल जे रायनले कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्ण रुपले छुटकारा पाउने सम्भावना कम हुँदै गएको बताएका छन् ।

उनले क्लस्टरका रुपमा संक्रमण फैलिएको र त्यहाँ संक्रमण रोक्न सकिएमा महामारीको दोस्रो लहरबाट बच्न सकिने उनको भनाई छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने नसकिने उनले स्पष्ट पारेका छन् ।

यसअघि सिंगापुरको एक विश्वविद्यालयले यो वर्षको अन्त्यसम्म विश्वभरमै कोरोना नियन्त्रणमा आउने बताएको थियो । तर अहिले आएर डब्ल्यूएचओको यो भनाईले भने निराशा छाएको छ ।

त्यसैगरी हावाबाट समेत कारोना फैलिने वैज्ञानिकहरुको भनाईलाई स्वीकार गरेसंगै त्यसले झन् खतरा बढेको छ । कति समयसम्म कोरोना भाइरस हावामा रहन सक्छ भन्ने यकिन भने भएको छैन ।

२३९ वैज्ञानिकले यो पुष्टि गरेका हुन् कि हावामा पनि भाइरस रहने छ । २ मिटर सामाजिक दूरीसमेत कम हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

उक्त भाइरस थुक वा हाछ्युँबाट बाहिर आउँदा हावाभन्दा गह्रौं हुने भएकाले निश्चित समयपछि जमीनमा खस्नेछ । जमीनमा समेत पनि त्यसको प्रभाव रहने बताइएको छ ।

नेपालमा भने यसलाई सरकारले गम्भीर रुपले लिएको पाइँदैन । सरकारले अहिलेसम्म पनि आरडिटी परीक्षण गराइरहेको छ । जसको कुनै मतलबसमेत छैन ।

स्वास्थ्य सामग्री खरिद गर्ने क्रममा अर्बौं रकम भ्रष्टाचार भएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारप्रति चर्को आलोचना भइरहेको छ ।

विश्वभर अहिलेसम्म १ करोड २६ लाख ५१ हजार ६४५ जना कोरोना संक्रमित भएका छन् । अहिलेसम्म ५ लाख ६३ हजार ४८४ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया