दशरथ रंगशालाको मैदानको मर्मत सुरु

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानको मर्मत सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट दशरथ रंगशालाको मैदान बनाउने काम सुरु गरेको हो ।

कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको मैदानको मर्मत कार्य बुधबारबाट सुरु गरिएको हो ।

अहिले मैदानमा घास काट्ने, सम्याउने, पानी हाल्ने जस्ता काम सुरु गरेको एन्फाले जनाएको छ ।

लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्ने भएको कारण रंगाशालाकै कर्मचारीले बुधबारबाट घाँस काट्ने र पानी हाल्ने काम सुरु गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी गराए ।

‘लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्ने र लामो हुन्छ । मैदानको छेउको भागको घाँस मरिसकेको छ । फेरी घाँस बिग्रियो र मर्यो भने लाखौं खर्च गरेर नयाँ रोप्नु पर्छ,’ अध्यक्ष शेर्पाले भने, ‘रंगाशालाकै कर्मचारीले मैदानको घाँस जोगाउन पानी हाल्ने र सम्याउने काम गरेका हुन् ।’

सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि रंगाशालामा कुनै खेलकुद गतिविधि भएको छैन ।

यस्तै चैतमा तय भएको विश्वकप छनोट अन्तर्गतको नेपालको होम खेल समेत कोरोनाको कारण स्थगित भएको थियो ।

कोरोनाको कारण नेपालमा समेत खेलकुद गतिविधि अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको छ ।

विश्वकप छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँगको होम खेल खेल्न बाँकी रहेको छ । तीनै खेल रंगाशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया